दुर्गममा रहेका खाद्यान्न डिपो रित्तिंदै, गोदाममै थन्कियो पठाउनुपर्ने चामल
सुर्खेत : कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ। तर दुर्गमका लागि भनिएको चामल भने सुर्खेत, नेपालगंज र धनगढीमा रहेका गोदाममै थन्किएका छन्। सरकारले अनुदानमा ढुवानी गर्दै आएको चामल दुर्गममा नपुग्दा स्थानीयलाई खाद्यान्न अभाव हुन थालेको छ।
हुम्लाका जनप्रतिनिधि खाद्यान्न माग्दै काठमाडौंसम्म पुगेका छन् तर खाद्य तथा व्यापार कम्पनीले हुम्लाका लागि छुट्याएको करिब २० हजार क्विन्टल चामल भने ढुवानी नहुँदा गोदाममै थन्किएको छ। यो वर्षमा हुम्लामा मात्रै २० भन्दा धेरै क्विन्टल चामल ढुवानी गर्नुपर्ने छ। खाद्यान्न संकट हुन नदिन सुर्खेत, धनगढी र नेपालगञ्जबाट २० हजार क्विन्टलभन्दा बढी चालम त्यहाँ ढुवानी गर्नुपर्ने हो। तर चालु आर्थिक वर्षको चार महिना पुगिसक्दा पनि त्यहाँ खाद्यान्न ढुवानी हुन सकेको छैन।
खाद्यान्न ढुवानीमा लापरबाही हुँदा हुम्ला पुर्याउनुपर्ने १९ हजार ९ सय ५० क्विन्टल चालम सुर्खेत, नेपालगञ्ज र धनगढीमै थन्किएको हो। यो वर्ष नेपालगञ्जबाट हुम्लामा हवाइमार्गबाट चार हजार, स्थलमार्गबाट सात सय र बिक्री केन्द्र खार्पुनाथमा पाँचसय क्विन्टल चामल ढुवानी गर्नुपर्ने छ। तर नेपालगञ्जबाट हुम्ला पुग्नुपर्ने चामल नै ढुवानी भएको छैन। यस्तै सुर्खेतबाट हुम्ला शाखामा हवाइमार्गबाट ६ हजार क्विन्टल र स्थलमार्गबाट सात सय, सर्केगाड डिपोमा एक हजार, बालुवा डिपोमा एक हजार, देउली बिक्री केन्द्रमा पाँचसय र छप्रेला बिक्री केन्द्रमा एकहजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने छ। तर सुर्खेतबाट हालसम्म जम्मा पाँचसय ५० क्विन्टल खाद्यान्न मात्रै ढुवानी भएको छ।
बाजुराको कोल्टीबाट श्रीनगर डिपोमा सातसय, धनगढीबाट श्रीनगर डिपोमा सातसय, बाजुराको मार्तडीबाट श्रीनगर डिपोमा पाँचसय गरेर कुल २० हजार पाँचसय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने छ। तर चालु आर्थिक वर्षको चार महिनामा सुर्खेतबाट पाँचसय ५० क्विन्टल चामल मात्रै ढुवानी भएको छ। जसमध्ये हुम्ला शाखामा एकसय ५० क्विन्टल र श्रीनगर डिपोमा चारसय क्विन्टल चामल मात्र पुगेको छ। बाँकी चामल भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभिन्न गोदाममा थन्किएको छ।
हुम्लामा मात्रै होइन, कर्णालीका अन्य जिल्लामा पनि चामल ढुवानी हुन सकेको छैन। साविक कर्णालीका पाँच जिल्लामा बर्सेनी ४० देखि ५० हजार क्विन्टल चामल आवश्यक पर्दछ। ती जिल्लामा खाद्यान्न संकट हुन नदिन सुर्खेतसहित, नेपालगञ्ज, दाङ र धनगढी लगायतका स्थानबाट चामल पुर्याइन्छ। तर कहिल्यै पनि समयमा खाद्यान्न ढुवानी हुँदैन। ढुवानीको जिम्मा लिएका ठेकेदार कम्पनीले नै समयमै खाद्यान्न ढुवानी गर्दैनन्। समयमै चामल ढुवानी नहुँदा खाद्यान्नका गोदामहरु रित्तिन थालेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाहेक कर्णालीका कुनै पनि जिल्लामा पर्याप्त खाद्यान्न छैन।
डोल्पामा चारसय क्विन्टल, मुगुमा तीनसय १३ क्विन्टल, मुगुकै श्रीकोटमा चारसय ८५ क्विन्टल, सोरुकोटमा एकसय क्विन्टल र डोल्पाको साल्दाङमा एकसय ७० क्विन्टल मात्र चामल स्टक छ। त्यस्तै जुम्लामा नौसय ८७ क्विन्टल, जाजरकोटमा एकहजार सातसय १२ क्विन्टल, दैलेखमा ६ सय ६५ क्विन्टल र कालीकोटमा सातसय २३ क्विन्टल चामल मौज्दात छ। खाद्यान्नको चरम संकट पर्ने जिल्लाका गोदामहरु रित्तिदै जाँदा सुर्खेतमा रहेको गोदाममा हाल ११ हजार क्विन्टल चामल रहेको कार्यालयका सूचना अधिकारी बासुदेव रिजालले जानकारी दिए।
‘मौसम खरावीका कारण हवाइ सेवा प्रभावकारी छैन, यसले चामल ढुवानी हुन नसकेको हो’, सूचना अधिकारी रिजालले भने, ‘ढुवानीका लागि ताकेता गरिरहेका छौं, तर मौसम खरावी र ठेकेदारले सम्झौता तोडिदिँदा ढुवानीमा समस्या भएको छ।’ हुम्लामा ढुवानीको जिम्मा पाएका चारवटा ढुवानी कम्पनीले सम्झौता तोडेका छन्। यसले पनि चामल ढुवानी हुन नसकेको कम्पनीले जनाएको छ। ढुवानीमा लापरबाही हुँदा दुर्गममा खाद्यान्न अभाव हुने गरेको छ भने गोदाममा रहेको चामल कुहिएर खेर जाने गरेको छ।