मदन भण्डारीमा बनेनन् पुल
उदयपुर : पूर्व–पश्चिमलाई एकसाथ जोड्ने गरी निर्माण सुरु गरिएको मदन भण्डारी लोकमार्गको धरान–चतरा–सिन्धुली–हेटौंडा खण्डको काम अन्तिम चरणमा पुगेको छ।
दैनिक क्यालेन्डर बनाएर सुरु गरिएको लोकमार्गको कामलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाभित्र राखेर अघि बढाएको छ। झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको काछ हुँदै यो सडक पश्चिममा डडेलधुराको रूपाल पुग्छ। करिब १ हजार २५० किलोमिटर लोकमार्गमा ९५ प्रतिशत सडक र ८० प्रतिशत पुल निर्माणको काम सम्पन्न भएको छ।
चालू आर्थिक वर्षभित्रै यो आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको मदन भण्डारी लोकमार्ग आयोजना निर्देशनालयले जनाएको छ। लोकमार्ग निर्माण भएसँगै पूर्व–पश्चिम सीधा यातायात सञ्चालन हुनेछ। लोकमार्गको उदयपुर–भिमान खण्डको १३४ किलोमिटरमा १२ वटा पुल र २२ किलोमिटरमा पिच बाहेकका काम सम्पन्न भएको आयोजना कार्यालय गाईघाटका इन्जिनियर शंकर पौडेलले जानकारी दिए।
आयोजना कार्यालय दमकले सुनसरी–मोरङ–झापा खण्डको निर्माणको काम पनि सुरु गरेको छ। १३० किलोमिटरको यो सडकलाई तीन प्याकेजमा छुट्ट्याइएको सूचना अधिकारी विवेक पाण्डेले जानकारी दिए। ६३ किलोमिटरको ठेक्का सम्झौता भइसकेको छ भने बाँकी ६७ किलोमिटरमा सम्झौता हुन बाँकी छ।
दुई अर्बभन्दा बढी लगानीमा निर्माण हुन लागेको यो खण्डको श्रेष्ठ–मोतिराम जेभी निर्माण कम्पनीले जिम्मा लिएको छ। योजना कार्यालयले धरान–बेलडाँगी–मेचीडाँगीलाई अलग–अलग प्याकेज बनाएर ठेक्का आह्वान गरेको छ।
तीनवटा प्याकेजमा ३१ वटा पुल छन्। लोकमार्गअन्तर्गत धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा ३१८ किलोमिटर खण्डको निर्माण २०६४÷६५ देखि सुरु भएको हो। उदयपुरको चतरादेखि सिन्धुलीको भिमानसम्म १ सय ३४ किमीलाई पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १६ किमी सडकलाई पश्चिमी खण्डमा विभाजन गरी निर्माण गरिँदै आएको छ।
भिमान–हेटौंडा खण्डका केही ठाउँमा पुल बनाउने बाहेक धेरै काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ। बागमती नदीमा पुल निर्माण भएलगत्तै चतरादेखि हेटौंडासम्मै यातायात सञ्चालनमा सहज हुनेछ। महेन्द्र राजमार्गभन्दा तीन घण्टा छोटो रहेका कारण समय र खर्चका हिसाबले मदन भण्डारी लोकमार्ग सबैको रोजाइ बन्न पुगेको सवारीधनी अर्जुन राईले बताए।
पूर्वको विकास निर्माणको मुख्य बागडोर सम्हालेको लोकमार्ग पूर्वी सीमाना सप्तकोसीदेखि पश्चिमसम्म महाभारत पहाडको तल्लोभागबाट निर्माण भइरहेको छ। २०७३ कात्तिकदेखि निर्माण सुरु भएको राजमार्गअन्तर्गतका विभिन्न ४३ वटा पुल निर्माणको काम कोभेक–रसुवा–तुन्डी जेभी कम्पनीले यसअघि नै सम्पन्न गरिसकेको छ। कतिपय पुलहरूमा एप्रोच सडक निर्माणको काम बाँकी रहेकाले अब निर्माण हुने १२ वटा पुलसँगै त्यो काम सकिने पाण्डेले बताए।
छुटेका १२ पुल निर्माणका लागि तीनवटा प्याकेज बनाएर ठेक्का सम्झौता भइसकेकाले ३३ महिनाभित्र निर्माण सम्पन्न हुने इन्जिनियर पौडेलले बताए। फरक–फरक कम्पनीलाई काम बाँडेर दिँदा छिटो र गुणस्तरीय काम हुने विश्वासमा तीन वटा प्याकेजमा ठेक्का दिएको उनले बताए।
उनका अनुसार निर्माणलाई छिटो सम्पन्न गर्न १ अर्ब ४२ करोड ७० लाख २७ हजार ५० रुपैयाँ लागतमा तीनवटा फरक–फरक कम्पनीसँग ठेक्का सम्झौता भएको हो। निर्माण भइसकेका सबै पुलका दुवैतर्फका भागमा कालोपत्रेको काम बाँकी छ। पुल र सडकको निर्माण व्यवसायी फरक भएकाले पुल क्षेत्रमा कालोपत्रेको काम बाँकी रहेको इन्जिनियर पौडेलले जानकारी दिए।
सरकारले भिमान–चतरासम्मको सडकमा ७ अर्ब ३६ करोड ९९ लाख ८४ हजार र ४३ वटा पुलका लागि तीन अर्ब ४३ करोड र पहिले डिजाइन गर्न छुटेका थप १२ वटा पुल निर्माणका लागि १ अर्ब ४२ करोड ७० लाख २७ हजार ५० रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रतिघन्टा ६० किलोमिटरसम्मको गतिमा ठूला मालवाहक सवारी साधनहरू दोहोरो चल्नसक्ने गरी निर्माण गरिएको छ। राष्ट्रिय राजमार्गको मापदण्ड चौडाइ ५० मिटर हुने भए पनि हाल ९ देखि ११ मिटर चौडाइमा कालोपत्र भइरहेको छ। तराईमा ११ र पहाडी क्षेत्रमा ९ मिटर चौडाइ कायम गरिएको छ।
दुई लेनको यो लोकमार्ग झापाको बाहुनीडाँगीदेखि सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्यूठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडर हुँदै डडेलधुराको रूपालसम्म पु¥याउने योजना छ ।
सडक निर्माणलाई गति दिनकै लागि आयोजनाले हाल चार ठाउँमा कार्यालय स्थापना गरेको छ। निर्देशनालयअन्तर्गत झापाको दमक, उदयपुरको गाईघाट, गुल्मीको तम्घास र मकवानपुरको हेटौंडामा कार्यालय छन्। २०७३ मा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको नाममा यो आयोजना सुरु भएको थियो। तीन वर्ष पहिले सरकारको निर्णयानुसार सडकको नामकरण गरिएको हो। यो सडक २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गपछि यो पूर्व–पश्चिम जोड्ने चौथो राजमार्ग हो।