जोमसोम-कोरला अन्तिम चरणमा
जोमसोम : जोमसोम-कोरला सडक खण्डको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। ११० किमी सडकको ७ खण्डमध्ये अहिलेसम्म ६ खण्डको काम अन्तिम चरणमा पुगेको हो।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको कोरलामा सडक मार्ग विस्तार गर्ने उद्देश्यले आर्थिक वर्ष ०७३÷०७४ देखि दुई लेनको ग्राभेल सडक निर्माण सुरु गरिएको थियो। जोमसोम-कोरला सडक स्तरोन्नतिका लागि २ अर्ब ६ करोड बजेट विनियोजन भएको थियो। मुस्ताङको जोमसोमदेखि झैतेसम्मको ५२ किमीको चारखण्ड र झैतेदेखि कोरलासम्मको ५८ किमी सडकको तीनखण्डमा काम भएकोमा छैटौं खण्डको काम निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको छ।
कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिका अनुसार जोमसोम-ताङ्वे १८ किमी सडक बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेदेखि चैलेसम्म ११ किमी सडक दिवाडाफे एपेक्स जेभी, चैलेदेखि भेनासम्म ११ किमी कन्टेक कान्छाराम कोशी एन्ड न्यौपाने जेभी र भेनादेखि झैतेसम्म १२ किमी सडक कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले सडक स्तरोन्नतिको जिम्मा लिएका थिए। जिम्मा लिएका सबै निर्माण कम्पनीले काम सम्पन्न गरेको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए।
यसैगरी झैते-चराङ १९ किमी कञ्चनजंघा लामा मोतीदान जेभी, चराङदेखि छोसेर २५ किमी तामाङ गौरी पार्वती कोसी एन्ड न्यौपाने जेभी र छोसेर-कोरला १४ किमी सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए। जसमध्ये कञ्चनाजंघा लामा मोतीदान र रौताहा एपेक्स जेभी कन्ट्रक्सनले निर्माण सम्पन्न गरी करिडोरलाई हस्तान्तरण गरेको छ। आयोजना प्रमुख प्रजापतिका अनुसार सात खण्डमध्ये ६ खण्ड पूरा भएको र चराङ-छोसेर एक मात्र खण्ड मात्रै निर्माण कम्पनीको ढिलासुस्तीले सम्पन्न हुन सकेको छैन। उनका अनुसार चराङ-छोसेर २५ किमीमा विगत तीन वर्षदेखि काम हुन सकेको छैन।
उक्त खण्डका लागि २४ करोड बजेट विनियोजन भएकोमा १५ करोडको काम भइसकेको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए। ‘चराङ-छोसेर सडकको ६५ प्रतिशत काम भइसकेको छ। अब ३५ प्रतिशत मात्र काम बाँकी छ’, आयोजना प्रमुख प्रजापतिले भने, ‘चराङमा कुलो र ढलको काम बाँकी छ। अरू ठाउँमा कटिङ र फिनिसिङको हुन बाँकी छ।’ लामो समयदेखि सो खण्डमा निर्माण कम्पनीले बेवास्ता गर्दै आएकाले उसको नाममा जम्मा भएको एक करोड ९ लाख रुपैयाँ मोबिलाइजेसन आयोजनाको खातामा फिर्ता ल्याएको प्रजापतीले बताए। भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण कम्पनीलाई यही चैत्र महिनाभित्र काममा फर्किन अल्टिमेटम दिएको छ। सरकारले दिएको अवधिमा पनि निर्माण कम्पनी काममा नफर्किए ठेक्का सम्झौताद रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने आयोजना प्रमुख प्रजापतिले बताए। ‘हामीले व्यवसायीलाई काममा फर्किन ताकेता गरेका छौं। उहाँहरू काममा फर्किनु भएन भने अर्को विकल्पमा जान्छौं’, प्रजापतिले भने।
राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको यस सडक खण्डको सबैभन्दा चुनौतीपूर्ण स्थानमा भने स्तरोन्नतिको काम सम्पन्न भएको छ। आयोजनाका अनुसार समरको भीर, झो खोला र घ्याकरको अप्ठ्यारो खण्ड निर्माण सम्पन्न भइसकेको छ। घ्याकरमा मापदण्डअनुसार ग्रेड मिलान गरेर बैकल्पिक सडक निर्माण भइसकेको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए। ‘अब उपल्लो मुस्ताङको सडक लगभग सम्पन्न भइसकेको छ। एकाध स्थानको काम मात्र बाँकी छ’, प्रजापतिले भने, ‘निर्माण व्यवसायी काममा फर्किए दुई महिनाभित्रै सम्पूर्ण काम पूरा हुन्छ।’