कला मन्दिरमा सिरीमा सिरी ...
चितवन : झमक्क परेको साँझमा विस्तारै चिसो बढ्दै थियो। चिसोको प्रवाह नगरी नारायणगढको नारायणी कला मन्दिरको हल दर्शकले भरिएको थियो। गायिका भावना देवान र गायक मधु लामा स्टेजमा देखा परे । उनीहरूको स्वरमा ‘सिरीमा सिरी’ गीत गुञ्जिन थाल्यो। शान्त माहोल एकाएक तात्न थाल्यो। स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको लोकप्रिय गीतले कला मन्दिर गुञ्जयमान भयो।
नारायणी कला मन्दिरले आयोजना गरेको नारायणगोपाल स्मृति साँझमा दर्शक निकै रमाएका थिए। प्रविणकुमार श्रेष्ठ र महेन्द्र बरालले ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ गाएर राष्ट्रभाव जगाए। एकपछि अर्का कलाकारको प्रस्तुतिले दर्शकलाई निकै मनोरञ्जन दिएको थियो। मधु लामाले ‘वीरताको चिनो’, विश्व प्रधानले ‘तिमीलाई म के भनुँ’, सपना रैलाले ‘कसरी म भुलें’ गीत गाएका थिए। सञ्चारकर्मीसमेत रहेकी सूचना गुरुङले ‘यो सम्झिने मन छ’ गाएर नारायणगोपालको स्मरण गराइन्।
यसैगरी प्रकाश पौडेलले ‘अल्झेछ क्यारे पछ्यौरी’ गीतमा बाँसुरीको धुन बजाउँदा तालीले हल गुञ्जायमान बन्यो। स्थानीय कलाकार बिना सेन्चुरी, शिव कँडेल, कविता शर्मा, उदयकृष्ण श्रेष्ठ, निरेन मोक्तान र सपना रैलाले गीत गाएका थिए।
कला मन्दिरले पछिल्लो दुई दशकदेखि नारायणगोपाल स्मृति साँझ आयोजना गर्दै आएको छ। नेपाली संगीतको इतिहास जोगाउन कार्यक्रम आयोजना गरिएको कला मन्दिरका अध्यक्ष उद्धव जोशीले बताए। ‘नारायणगोपालको योगदानको सम्मान गरेका हौं’, उनले भने, ‘पछिल्लो पुस्तालाई नारायणगोपाल चिनाउनका लागि पनि यो कार्यक्रम निरन्तर गर्दै आएका छौं।’