गुफाभित्र अनौठो गेष्ट हाउस
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ-२ छोसेर अवस्थित सेल्तामा गुफाभित्र पर्यटक बस्न मिल्ने गेष्ट हाउस सञ्चालनमा आएको छ। यो गेष्ट हाउस सन् २०१८ देखि स्थानीय पेमा घिर्मी गुरुङले सञ्चालन गरेका हुन् । उनको गुफाभित्र रहेको गेष्ट हाउसमा रात बिताउन स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य उपस्थिती हुने गरेको पाइएको छ ।
लोमान्थाङ-२ छासेरको सबैभन्दा ठूलो झोङ गुफाभन्दा केही तल पर्ने अर्को मझौला गुफामा गुरुङले गेष्ट हाउस सञ्चालन गरेका हुन् । उनले गुफाभित्र रहेको गेष्ट हाउसको नाम शेल्कार गेष्ट हाउस राखेका छन् । सदियौं वर्षदेखि गुफाको भोगचलन गर्दै आइरहेको गेष्ट हाउस सञ्चालक गुरुङले पर्यटक लक्षित गेष्ट हाउस चलाएका हुन् ।
यस गेष्ट हाउसमा जान जोमसोम-कोरला राजमार्गदेखि पूर्वतर्फ २० मिनेटको पैदलयात्राबाट गन्तवव्य तय गर्न सकिन्छ। गेष्ट हाउस रहेको गुफासम्म पुग्न फलामे रेलिङसहितको सिंढी बाटो हिँड्नुपर्छ। गुफाभित्र ४ वटा कोठा र दुईवटा प्रवेशद्वार निर्माण गरेका छन् ।
गुफाभित्र रहेको ४ वटा कोठामध्ये एक कोठामा ६ वटा बेड र अर्को ३ वटा कोठामा २/२ वटा बेडको व्यवस्था गरिएको छ। गुफा भित्रको कोठामा उनले बत्ती र पानीको व्यवस्था समेत मिलाएका छन् । गुफा भित्रको कोठाको झ्यालहरुमा पुराना ऐतिहासिक भाडा वर्तनका सामग्री राखिएका छन् । त्यसैगरी उनले गुफाको गेष्ट हाउसबाहेक गुफा बाहिर ८ बेड क्षमताको गेष्ट हाउस छ । गुफा पुग्ने पर्यटकले रुचीअनुसार गुफाभित्र वा बाहिर बस्ने भन्ने दुबै खालको सुविधा मिलाएका छन्। गुफाको स्वामित्व आफ्नै भएकाले उनले गाउँले वा पालिकालाई कर समेत तिर्नु पर्दैन ।
गेष्ट हाउस सञ्चालक गुरुङले गुफाभित्र बाँस बस्न आउने पर्यटकलाई ३ हजारदेखि ७ हजारसम्म शुल्क लिने गरेको बताउँछन् । गेष्ट हाउस सञ्चालक गुरुङ भन्छन्, 'मेलै सञ्चालन गरेको होटल युनिक छ ,पर्यटक आर्कषणका लागि गुफाभित्रै गेष्ट हाउस बनाएको हुँ।उपल्लो मुस्ताङ आएका पर्यटकले गुफाभित्र होटल देखेपछि एक रात बिताएर फर्किन्छ । '
कोरोना कहर अघि गुफाभित्रै गेष्ट हाउस निर्माण गरेपनि पर्यटक आउन नसकेपछि व्यवसायमा असर पुगेको छ। उनले पछिल्लो समय कोरोना कहरपछि बुकिङ धमाधम आउन थालेको बताए । उनले कोरोनापछिको दसैं/तिहार र छट पर्वमा स्वदेशी पर्यटकहरु गुफाभित्र बास बस्न आउने गरेको जानकारी दिए ।
गुफाभित्रै पर्यटक लक्षित गेष्ट हाउसको व्यवस्था हुन्छभन्दा धेरैलाई सुन्दा अचम्म लाग्छ। गुफाभित्र बास बस्ने पर्यटकले अलि बेग्लै प्रकारका अनुभूति गर्ने गरेको गुरुङले बताए । उपल्लो मुस्ताङमा दर्जनौं गुफाहरु भएपनि गुफाभित्र उनले सञ्चालन गरेको गेष्ट हाउस भने पहिलो हो । परापूर्वकालमा उपल्लो मुस्ताङका स्थानीय गुफाभित्रै बस्थे। गुफाभित्रको परिवारमा जति जनसंख्या बढ्यो उति नै पहाड खोपेर गुफा निर्माण गर्ने गरिन्थ्यो भन्ने भनाइ छ।
गुरुङ भन्छन्, 'आफ्नो पुस्ताहरुले सदियौं वर्षअघि पहाड खोपेर गुफा निर्माण गरेको उल्लेख गरे। विस्तारै मानिसमा आएको चेतनाको विकाससँगै गुफा छोडेर बाहिर घर बनाएर बस्न थालेपछि गुफाहरु खाली हुन थालेको उनको बुझाइ छ । कतिपयले भने लडाइ चल्दा उक्त गुफाहरु लुक्न र सुरक्षित रहन प्रयोग गरिएको हुनसक्ने बताएका छन्।