थरीथरी भाषा, थरीथरी भेष
काठमाडौं : थरीथरी भाषा, थरीथरी भेष। त्यसमाथि लोप हुन लागेका बाजा र भाका। जसले कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई उल्लासमय बनायो। अनेकतामा एकताको भूमि हो नेपाल भन्ने मर्मलाई कांग्रेसले शुक्रबार विदेशी पाहुनासमक्ष गीतसंगीतका माध्यमबाट पस्कियो।
कलाकारहरू आफूमात्रै नाचेनन्, महाधिवेशन उद्घाटनमा सहभागीलाई नचाए। हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्मका सहभागी भृकुटीमण्डपमा रमाए। विदेशी पाहुना नेपालको कला, संस्कृति देखेर मोहित भए।
मैथिली, नेवारी, थारू, गुरुङलगायत १२ थरीका विभिन्न गीतसंगीत र बाजासहितका झाँकी प्रदर्शन गरिएको थियो। नेपाल सांस्कृतिक संघले सांस्कृतिक कार्यक्रमको संयोजन गरेको थियो। कलाकारले समृद्धि, विकास र शान्तिको सन्देश गीत तथा नृत्यबाट प्रस्तुत गरे।
‘यहाँ जातिअनुसारको परम्परा झल्काएको छ। यसले नै नेपालीका लागि विश्वसामु एकताको सन्देश फैलाएको छ’, दोलखाबाट महाधिवेशनमा आएका कृष्णप्रसाद शिवाकोटीले भने। यस्ता सांस्कृतिक कार्यक्रमले मनोरञ्जनसँगै संस्कृतिको जगेर्नामा टेवा पुर्याउने उनले बताए। ‘देशका कुनाकाप्चामा धेरै प्रकारका संस्कृति छन्, जो अझै ओझेलमा छन्’, उनले भने, ‘त्यसलाई खोजीनीति गरिनुपर्छ।’
कांग्रेस महाधिवेशनले शुक्रबार पाँच पुस्ताका दर्शक एउटै मञ्चमा पायो। ‘यहाँ प्रस्तुत गरिएको कला, संस्कृति नयाँ पुस्ताले जान्न, बुझन् र देख्न पायो’, महोत्तरीको बिजलपुराका श्यामप्रसाद महतोले भने।
देशभरिका कला, संस्कृतिलाई महाधिवेशनमा पस्किएर कांग्रेस सबै जातजाति, भाषाभाषी, संस्कृति, धमार्वलम्बीको पार्टी रहेको प्रतीकात्मक सन्देश दिएको कैलालीकी तुलसी देवकोटाले बताइन्। ‘सबैले आफ्नो भेषभूषा, रीतिरिवाज, चालचलनअनुसार संस्कृति जोगाउनुपर्छ भन्ने हिसाबले सबैले आफ्नो कला प्रस्तुत गरेको राम्रो लाग्यो।’