बधाई छ हजुर !
‘हजुर दर्शन !’ फोनमा बडो आत्मीय अभिवादन आयो। ‘म हजुरको फुपूको काइँलो देवरको माइला ससुरापट्टिको सालो हजुर। गाउँघरतिर ‘कुभिण्डे’ भनेपछि सबैले चिन्छन्।
गेटबाट भित्र छिर्नेबित्तिकै आँगनमै साष्टांग दण्डवत् गर्लाझैं गरी निहुरिँदै हातमा बोकिराखेको फूलको सानो गुच्छालाई दुवै हातका माझमा राखेर जम्लाहात घरी माथि घरी तल गर्दै अत्यन्त कृत्रिम हाँसो र खुसी व्यक्त गर्दै आइपुग्यो ऊ– मेरा नजिकै।
‘बधाई छ हजुर ! मुरीमुरी बधाई ! मलाई त आज जीवनको सबैभन्दा खुसीको दिन लागिरा’छ हजुर। आफ्नो छिमेकको व्यक्ति आज यत्रो पदमा आसीन हुँदा हामी त अत्यन्तै गद्गद् भा’छौँ हजुर। हुन त हजुर देशकै नक्षत्र, तर हाम्रो टोल छिमेक पनि साह्रै भाग्यमानी रैछ हजुर ! हाम्लाई त अब दिन र रात सरोबरी उज्यालो हुने भो हजुर !’
मलाई उसको फूलबुट्टा कुँदाइले हल्का उकुसमुकुस भइराखेको थियो। कस्तो बनावटी मान्छे रैछ ? हिजोसम्म बाटोतिर भेटघाट हुँदा मेरो मुस्कानसहितको अभिवादन पनि फर्काउँदैनथ्यो। मैले नमस्कार गर्दा देब्रे हात यसो हल्लाउँथ्यो। दाहिनेसम्म भए नि हुन्थ्यो, देब्रे नै हल्लाउँथ्यो।
‘न त्यो फाँट फेरिन्छ, न त त्यो कुर्ची नै अग्लो हुन्छ। म त त्यै कुर्चीमै खिइएर सकिने भएँ हजुर। यसपालि त हजुर अर्को नयाँ कुर्चीमा नबसी भएन।’ भन्दै गणेशले शिव–पार्वतीको प्रदक्षिणा गरेझैं मेरा वरिपरि घुम्न खोज्यो।
‘बधाई छ हजुर ! मुरीमुरी बधाई ! मलाई त आज जीवनको सबैभन्दा खुसीको दिन लागिरा’छ हजुर। आफ्नो छिमेकको व्यत्तिाm आज यत्रो पदमा आसीन हुँदा हामी त अत्यन्तै गद्गद् भा’छौं हजुर।
यतातिर वरिपरिको जान्नेमान्ने ठालु मैं हुँ झैं गथ्र्याे। हुन पनि उसले सबैमा एउटा गजबको प्रभाव जमाएको थियो। उसले आफ्ना आमा बुवाबाहेक सायद आदरभाव देखाउनुपर्ने व्यक्ति कसैलाई ठानेको थिएन। सबैले उसैलाई नमस्कार गर्नुपर्ने। ऊभन्दा जान्नेसुन्ने त कोही हुने कुरै भएन।
आज त मलाई उज्यालोमैं नक्षत्र देख्न थाल्यो। छेपारो। हुन त के गरोस् ?
सायद यसो नगर्या भए मैले पो अन्यथा ठान्थें कि ? मेरै सोच खोटी हुन के बेर ? सूर्य उत्तरायण र दक्षिणायन भएजस्तै हिजो बेलुकीपखदेखि उसको पनि मुलायम भावको मौसम सुरु भएको हुन सक्छ।
उसको वाणीमा गुलियो रस घुलन हुन थालेको हुनसक्छ। अन्तर्रात्मा फेरिएको कुरा उसका आगामी व्यवहारहरूले सुस्तसुस्त पुष्टि गर्लान्। अहिलेलाई ऊ हातभरि प्रकृतिको सुन्दर गुच्छा बोकेर शुभकामनासहित हाजिर छ, मैले शुभ नै ठान्नु पर्दछ।
हार्दिकताका साथ आलिंगन गरें, धन्यवाद टक्र्याएर भित्रै जान अनुरोध गरें। ऊ त्यहींबाटै फर्किन चाह्यो। भन्यो ‘फेरि कुनै दिन।’
बनावटी हो भनेर जान्दाजान्दै पनि मानिस प्रशंसाबाट नरमाई रहन सक्दैन। त्यही प्रशंसाको मृगतृष्णा मेट्न ऊ नांगो पाउले तातो मरुभूमिमा दगुर्न पनि तम्सिन्छ।
छिमेकी दुई पाइला पर पुग्न नभ्याउँदै कालो टोपी ढल्काउँदै एकजना अपरिचित व्यक्ति खुबै चिनेजानेको झैं गरी भित्रियो। भित्रिने शैली झन्डैझन्डै अघिल्लोको जस्तै थियो।
यसपल्ट चाहिँ ऊ एक्लै थिएन, तीन चार जनाको दलबल थियो। कतै त देखेकै अनुहार हो भनेर सोच्दा नसोच्दै उसले ‘बधाई हजुर’ भन्दै गलामा माला झुन्ड्याइदिन भ्यायो। अरूले त्यसैमाथि खादा ओइर्याउँदै गए।
अरू अझै दुई चारजना पनि भइदिएको भए म मंगलबारे गणेश देउताझैं अनुहारै छोपिने गरी माला र खादाले पुरिने रैछु। यत्तिकैमा सोच्दासोच्दै त्यो अनुहार झल्याँस्स सम्झना भयो।
मेरो हुर्मत लिएको त्यो अनुहार सम्झिँदा रिसले धर्ती रोटे पिङझैं फनफनी घुम्न थाल्यो। मुड्की उज्याएर, नभए चिर्पट दाउराले ठटाउँदै डाँडा कटाइदिउँझैं लाग्यो। आज चाहिँ घरमा एउटा भोटे कुकुर त पाल्नै पर्ने रैछ भन्ने महसुस भयो। उसले भए मेरो मनोदशा पक्कै बुझ्थ्यो।
कुकुर एउटा यस्तो प्राणी हो जसले मालिकको हैसियत नाप्दैन, केवल माया र भरोसामा अडिन्छ। घरपालुवा पशुहरूमा यो गुण पाइन्छ। फ्लोर क्रस गरेर नयाँ मालिकतिर लाग्ने प्रचलन हुँदैन यिनीहरूको।
सायद यही गुण नभएर होला मानिस प्राणी जगत्कै श्रेष्ठ कहलिएको रिसले मेरो पनि मानवीय गुण हराउला जस्तै भयो। उम्लिएको पानीमा छाया देखिँदैन भन्छन्। मनभित्रैबाट आफूलाई मत्थर पारें। ऊ चाहिँ कुनै दन्तमञ्जनको विज्ञापनझैं खैनीले डामेका दाँत ङिच्च देखाउँदै मेरा सामुन्ने उभिएको थियो।
आफ्नो जयजयकार गर्न आएकालाई पनि कसैले उल्टो पाइला फर्काउँछ ? यही एकछिनको जय कमाउन बालुवा पेलेर तेल निकाल्छन् मानिस। भक्तले जय भन्दा देवता पनि रमाउँछन्।
हुन त कम्ती दुःख दिएको हैन यो मान्छेले मलाई। दुई मिनेटको काम लिएर यसको कार्यालय गएको म, दुई हप्तासम्म जुत्ता घिसार्दै हिँड्ने बनायो। कहिले भन्थ्यो ‘आज हाकिमसाहेब हुनुहुन्न, पर्सितिर आउनू।’
कहिले भन्थ्यो ‘यति प्रमाणले पुग्दैन, थप प्रमाण ल्याउनू।’ खासमा उसलाई चाहिएको जे प्रमाण हो, त्यो मुख फोरेर कहिल्यै भनेन। शिर उठाएर ग्राहकका मुखतिर हँसिलो भावले कहिल्यै नहेर्ने जनताको सेवक, सन्तापले सेकेर सुकुटी परेको जस्तो अनुहार बनाएर कुर्सीमा टाँसिइरहन्थ्यो। जहिल्यै नाक कति कोट्ट्याउन सकेको ? खनिज पदार्थ, पुरातात्त्विक महत्त्वका विषय उत्खनन गर्लाझैं।
मेरो काम, मेरो विनम्रताप्रति उसलाई कुनै रुचि नै थिएन, थोरै चियापत्ती राखेर उमालिएकोे स्वादरहित चियाझैं। उसलाई पगाल्ने मेरो प्रचेष्टा जारी थियो। अन्ततः जुक्ति नलगाई भएन। अलि बढी चियापत्ती राखेको कडकदार तात्तातो चिया नख्वाई भएन।
पोहोर सालदेखि थन्किएको मयलपोसमा इस्त्री लगाएँ। मयलपोसमाथि ट्विटको कोट, युरोपबाट ल्याइदिएको गलबन्दी, शिरपोस र टिलिक्क टल्कने पाउपोस पहिरिएर, अलिअलि अत्तरको वासना छर्दै रवाफका साथ हाकिमका कक्षमा छिरें, आफ्नो विषय फर्माएँ।
हाकिम मलाई घरिघरि शिरदेखि पाउसम्म हेर्थे। फाँटवाला कर्मचारी बोलाइए, आदेश भयो, आदेश भुइँमा नझर्दै काम सकियो। आखिर काम थियो नै कत्रो ? कुनै जालझेलको काम भए पो ?
सधैंभरि आचरणले मात्रै पवित्र भएर नहुँदो रहेछ, कहिलेकाहीँ आवरण पनि दह्रो चाहिने रहेछ। मेरा एक मित्रको विचार पुष्टि भयो।
आज त्यही फाँटवाला मेरा आँगनमा बधाई र शुभकामनाको देउसी खेल्दै छ।
‘न त्यो फाँट फेरिन्छ, न त त्यो कुर्ची नै अग्लो हुन्छ। म त त्यै कुर्चीमै खिइएर सकिने भएँ हजुर। कुर्ची पनि प्वाल पर्न लागिसक्यो। यसपालि त हजुर अर्को नयाँ कुर्चीमा नबसी भएन। नत्र त जिन्दगी हजुर सुकेनासको रोगले सिध्याउने भयो।’ भन्दै गणेशले शिव–पार्वतीको प्रदक्षिणा गरेझैं मेरा वरिपरि घुम्न खोज्यो। ‘धत् !’ भनेर हकार्दै पछि हेरौंला भन्ने आश्वासनमा बल्ल बल्ल छुटकारा पाएँ।
झट्ट नजर गृहलक्ष्मीको मेहनतले झांगिएका घिरौंलाका लहराहरूमा पर्यो। हिजोसम्म त फुलेझैं लागेको थिएन, आज पहेंलै भएछन्। कति चाँडै भमरा झुम्मिएका नि ? टम्म रस भरिन नपाउँदै कलिलैमा चुस्न थालेछन्।
मोबाइलमा सामाजिक सञ्जालसँग रमाएर नथाक्ने मेरी श्रीमती मलाई मोबाइल देखाउँदै भन्छिन्, ‘ए हजुर, ह्याँ हेर्नुस् न ! आज त जतासुकै हजुरलाई बधाईको ओइरोबाहेक केही देख्दिनँ त ? होइन यतिका बिघ्न सबै हजुरका सामाजिक सञ्जालका मित्र नै हुन् त ? कति धेरै ?’
‘यो तिम्रो होइन, मेरो मोबाइल परेछ नि त !’ सहजै थियो मेरो उत्तर।
‘अनि के त ? हजुरको मोबाइल मैले हेर्न हुन्थेन ? मभन्दा नजिकको अरू पनि कोही छ र ? यो त साह्रै गम्भीर कुरा भयो। हेर्नुस्, म पनि पाँडेकी छोरी हुँ। त्यति सजिली छैन’ कहिलेकाहीँ उनी सुर नमिलाई राग भैरवी गाउँछिन्। म मुस्कुराएर टारिदिन्छु।
हुन पनि कतिधेरै बधाई र शुभकामनाका सन्देशहरू ? खै कसलाई चिन्नु ? कसलाई नचिन्नु ? कसैले पिकनिकमा रम्दै गरेको फोटो टाँसेछन्, कसैले सडक आन्दोलनमा सँगै हिँडेको। कसैले बिहे भोजमा छेवैमा उभिएको फोटो चिप्काएछन् भने कसैले त पत्रिकाको फोटो नै पैंचो मागेर टाँस्न भ्याएछन्।
कैयन् फोटाहरू त बिजुलीको खम्बामा कब्जियत र पाइल्सको औषधिका पर्चा टाँसेभन्दा पनि अव्यवस्थित थिए। तर सबैका सन्देश यति मृदुल थिए कि मानौं उनीहरू मेरा किञ्चित् कुभलो नचिताउने निकटस्थ र प्रिय पात्रहरू हुन्।
बिहान बिहानै गेटको घण्टी रन्कियो, चीलले चल्ला लैजाँदा माउपोथी कराएझैं। झ्यालबाट छुस्स टाउको छिराएर हेरेको, पत्रिका ल्याउने भाइ रैछ। सधैं बाहिरैबाट बार्दलीमा पत्रिका मिल्काएर जान्थ्यो, आज के कति कामले मुन्टो उँभो फर्काएर उभियाछ ?
मैले केही सोध्न नभ्याउँदै उही बोल्न तम्सियो, ‘दाइ, किन अचेल सबै पत्रिकामा तपाईंलाई बधाई बधाई भनेर छापेको ? तपाईंले छोरा पाएको हो ?’
मलाई बेस्सरी हाँसो उठ्यो। बिचरा यो पनि छोरावादी परेछ। अनि छोरै पाए पनि मैले पाउने हो र ? श्रीमतीले पाउँछिन् नि। अचेलको भाषा बोल्नेले भन्दा सुन्नेले मिलाएर बुझ्नुपर्ने।
झ्यालबाट अलि परै थुतुनो पुर्याउँदै भनें, ‘अनि त्यहीँ पढेनौ त ?, पढ्न त पढें है ? खै जेरी झैं फन्फनी घुमाएर लेखेको रैछ। केही बुझिनँ। लौ जे होस् दाइ, मैले पनि बधाई भनेको छु है ? नबिर्सिनु नि ?’ कसरी बिर्सिनु ?
जिन्दगीमा एकचोटि गेटमा आइपुग्नेलाई त सम्झिनु पर्नेछ, यो त झन् कुनै लालसा बेगर दिनदिनै गेटको दर्शन गरेर जान्छ। कति सरल मान्छे ? दुनियाँभरिका खबर बोकेर मेरो बार्दलीसम्म पुर्याइदिने मान्छे मेरै खबरदेखि बेखबर छ।
लौ न ! यो खबरकागत हो कि मेरो फोटो एल्बम ? राम ! राम ! राम ! कति धेरै शुभचिन्तकहरू कमाएको रैछु मैले ? मन प्रफुल्ल भयो। मलाई लाग्यो सारा देशले आज समाचार भनेर मलाई नै पढिराखेको छ, मेरै मात्र फोटो हेरिरहेको छ र मलाई मात्रै बधाई भनिरहेको छ।
एकछिन चोकतिर, पसल हुँदा डुल्न जाऊँजाऊँ गर्दै दुवै गोडा भँगेराका झैं फुत्रुक्क फुत्रुक्क उफ्रिन थाले।
‘हजुर दर्शन !’ फोनमा बडो आत्मीय अभिवादन आयो। ‘म हजुरको फुपूको काइँलो देवरको माइला ससुरापट्टिको सालो हजुर। गाउँघरतिर ‘कुभिण्डे’ भनेपछि सबैले चिन्छन्। टुल्केकी छोरीको विहेको सर्जाम किन्न जाँदै गर्दा बटौलीमा हाम्रो भेट भाथ्यो नि ?’
मलाई यी कुभिन्डे र टुल्के सज्जनहरूको अनुहार र आकृतिको घुर्मैलो विम्ब पनि सम्झना भएन। यिनीहरूलाई किन ‘कुभिण्डे’ र ‘टुल्के’ भनेका होलान् ?
‘टुल्के’जीको निधारमा सुपारी जत्रो टुटुल्को पनि उठेको भए तिनको नाउँ के राख्दा हुन् ? नामाकरण संस्कृतिमा नेपालीहरूले विश्वमा ख्याति नै कमाउनु पर्ने हो।
कुभिण्डेजीसँग मेरो के साइनो पर्यो भनेर खुट्ट्याउनै सकिनँ।
‘अब यस्तो ट्वाक्कै आफ्नो नातागोताको मान्छे त्यति मास्तिर पुग्नुभो। त्यो मेरो छोरो त्यतै राजधानीतिर हल्ल्या छ। मेसोपेसो पनि केही छैन।
सिंहदरबारभित्र सरर मोटराँ चढेर छिर्ने, यसो विदेशतिर पनि डुल्ने नौकरी खाने बेला यै हो। आफ्नालाई विचार पुर्याउने आफ्नैले त हो नि ! अरूलाई हेर्न भोलिपर्सि अरू नै आउँचन्। लौ हजुर फरक नपरोस्।’
हे कुभिण्डेजी, तपार्ईंको छानाको कुभिण्डोझैं नोकरी पनि लहराभरि फल्ने भए म तपाईंलाई कति गुन लगाउने थिएँ।
०००
हल्का बतास चल्यो। पातहरू बिस्तारै सर्सराउन थाले। आँखाले ठम्याउन धौ धौ पर्ने गरी धुलो उड्यो। स्थिर तलाउको माथिल्लो सतहमा ससाना लहरहरू दगुर्न थाले।
एउटा कानबाट अर्को कानसम्म फुसफुसाउँदै एउटा गुप्त हल्ला चल्न थाल्यो।
फेरिन्छ रे ! फेरिने नै भयो !! जाने भए यी सबै !!!
हल्ला न हो। एक कान, दुई कान, मैदान। कानबाट कानसम्म पुग्दा शब्द फेरबदल हुन्छन्, वाक्य उलटपुलट हुन्छ, भाव र सन्देश नै बदलिएर खसीबाट सुरु भएर फर्सीमा टुंगिन्छ।
बधाई र शुभकामनाका माला सुकेका छैनन्।
जाने भो ? जाने भो ?
मेरा छिमेकीहरूका मुहार प्रसन्न भएझैं देख्न थालें। कसैले ठूलै स्वरमा गीत बजाउँदा पनि उत्सव नै मनाउन लागेछ क्यारे भन्ठानें। खबर कागतवालाले फेरि घण्टी रन्काएर केही सोधिहाल्ला कि ?
‘ए पुसाइँ, पक्कै जाने भो हैन ?’ सामुन्नेको घरकी बहिनीले गाउँको दस मुरी धान फल्ने खेत बेच्ने कुरो पो गरेकी रहिछन्।
‘गयो, गयो, गयो !’ भन्दै एक हूल केटाकेटीले सडकमा हल्ला मच्चाउँदा मन चिसो भयो। कसैले मेरो रङ उडेको अनुहार देख्लान् कि भन्ने पीर भयो।
बधाई र शुभकामनाका मेरै तस्बिरहरू हूल बाँधेर मलाई नै गिज्याउन आएझैं गर्न थाले। रेडियो, टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जाल सबै मेरा बैरीका नातेदारझैं लाग्न थाले। आफ्नै आसनमुनिबाट धमिराहरू अट्टहास गर्दै दगुर्न थाले।
०००
आज चौतारीमा भेटिनु छ टोलबासीको जमघटमा। कसरी जाने ? जतासुकै हल्ला छ। फेरिन्छ ! फेरिन्छ ! जाने भो !! जाने भो !! कवि भूपी शेरचनको हल्लैहल्लाको सहरको सम्झना भयो।
निभ्न लागेको आगो झैं रापविहीन भएर के जानू ? मनको दशालाई अनुहारको ऐनाले छर्लंगै देखाइदिन्छ। प्रसन्न मनको तेजिलो भावलाई कुनै बादलले छेक्न सक्दैन।
मन त चुँडेर फालेको तीतेपातीझैं ओइलाएको थियो तर शिर भने ठड्याएर नै पुगें चौतारीमा। टोलवासीहरूको अभिवादन पनि निरसिलो लागिरहेको थियो। अग्रपंक्तिको विशेष आसनमा बसाइयो। सायद कोही खास पाहुनाको आगमन अझै बाँकी छ।
हेडसर आउनुभो।
चौतारामा बसेका सबै भद्रभलादमी विद्यार्थीहरू जुरुक्क उठे, अभिवादन गरे। मुख्यासनमा हेडसर बस्नुभो। निक्खर सेतो, कुनै दागरहित कमिज र पाइजामा, लरक्क कोरिएको सेतै कपाल, छालाका चप्पल, आँखामा दुनियाँमाथि नजर राख्ने चस्मा अनि बुढ्यौलीको सहारा हातमा लौरो।
ज्ञान र चेतनाका पर्याय गुरु भएझैं उहिले उहिले लौरो अनुशासनको पर्याय हुन्थ्यो। अचेल गुरुहरूका हातबाट लौरो हराएको छ।
हेडसरभन्दा माथि कोही नहुँदो रैछ। त्याग र तपस्याको जिउँदो सालिक।
‘स्वदेशे पूज्यते राजन्, विद्वान् सर्वत्र पूज्यते।’
मलाई पत्याउनै केहीबेर लाग्यो। हेडसरले सयपत्रीको माला लगाइदिनुभयो। निधारमा टीका लगाइदिनुभयो र आशीर्वाद दिँदै भन्नुभयो, ‘पार्थ, जिम्मेवारीबाट नडगमगाउनू !
यो माला हामी सबैको भरोसाले उनिएको हो। हामीले विश्वास गरेका छौं। हामीले भरोसा गरेका छौं। कल्याणमस्तु !’
आँखा रुझ्न चाहेका थिए, रोक्नै पर्ने भो। गुरुले दिएकै प्रमाणपत्रले यहाँ पुगियो। आज पनि गुरुले नै प्रमाणपत्रको माला पहिर्याइदिनुभयो। अब दुनियाँका कुनै चोर औंला मतिर उभिने छैनन्।
चौतारामा बसेका सबैले पररर ताली बजाए। सामुन्नेमा आएर फेरि सबैले भन्दै गए, ‘बधाई छ हजुर !’ घर पुग्दा एक हर्पे घिउ बोकेर गोरु बेचेको साइनोका मामा नवनियुक्त मन्त्री भाञ्जा भेट्न आउनु भएको रहेछ।