को हुन् मिस युनिभर्सको उपाधि जित्ने यी सुन्दरी ?

काठमाडौं: भारतीय मोडल हरनाज सन्धुले मिस युनिभर्सको उपाधि जितेकी छन्। भारतले २१ वर्षपछि यो ताज जितेको हो। यसअघि भारतका लागि लारा दत्ताले सन् २००० मा यो उपाधि जितेकी थिइन्। भारतका लागि यो तेस्रो उपाधि हो। पहिलो उपाधि सुस्मिता सेनले जितेकी थिइन्।
इजरायलमा सम्पन्न ७०औं मिस युनिभर्समा पञ्जाबकी २१ वर्षीया हरनाज सन्धु सहभागी भएकी थिइन्। सन्धुलाई यसअघिका विजेता आन्द्रेया मेन्जाले ताज पहिराएकी थिइन्।
हरनाज १७ वर्षकै उमेरदेखि सुन्दरी प्रतियोगितामा भाग लिन थालेकी हुन्। उनले यही वर्ष मिस दीवाको उपाधि जितेकी थिइन्। त्यसअघि उनले २०१९ मा मिस इन्डिया पञ्जाबको उपाधि जितेकी थिइन्। उनी त्यतिबेला मिस इन्डियाको उत्कृष्ट १२ सम्म पुगेकी थिइन्।
सुन्दरी प्रतियोगितामा जमेपछि उनले अभिनय यात्रासमेत थालेकी थिइन्। उनले दुई वटा पञ्जाबी फिल्ममा अभिनय गरेकी छन्।
प्रतियोगिताको फाइनल राउन्डमा हरनाजसहित तीन प्रतिस्पर्धीलाई सोधिएको थियो- आजको दिनमा दबाबको सामना गरिरहेका युवा महिला पिढीलाई के सल्ला दिन चाहनुहुन्छ, जसले उनीहरु दबाबको सामना गर्न सकुन्?
त्यसको जवाफमा हरनाजले युवाहरुले सबैभन्दा पहिला आफैँलाई भरोसा गर्नुपर्ने बताएकी थिइन्। आफूलाई अरुसँग तुलाना गर्न बन्द गर्नुपर्ने र म आफू उत्कृष्ट हुँ भन्दै अगाडि बढ्नुपर्ने उनले बताएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !
