डेढ करोडको भवन गुरुकुलम स्कुललाई दान
उदयपुर : भौतिक संरचना अभाव झेल्दै आएको त्रियुगा बैद्धिक गुरुकुलम स्कुललाई यहाँको दुई परिवारले डेढ करोडको सुबिधा सम्पन्न भवन उपलब्ध गराएका छन्। त्रियुगा नगरपालिका १२ बसपार्क पूर्वमा अवस्थित 'बहुधार्मिक शान्तिधाम' क्षेत्रमा रहेको गुरुकुलम स्कुललाई यहाँका दाहाल र पोखरेल परिवारले आफ्ना पुर्खाको नाममा भवन निर्माण गरी हस्तान्तरण गरेका हुन्।
त्रिनपा ११ निवासी दाहाल परिवारले स्वर्गीय हजुरबुवा हंसबहादुर र बुवा अम्वरबहादुरको नाममा १६ कोठाको दुई तले विद्यालय भवन १ करोड २० लाखको लागतमा निर्माण गरी हस्तान्तरण गरेका हुन्। भवन परिसरमा हंस र अमरको दुई वटा शालिकसमेत राखेका छन्। सो विद्यालय भवनको नाम श्री त्रियुगा हंशअमर बौद्धिक गुरुकुलम राखिएको छ।
त्यसैगरी पोखरेल परिवारले बुवा मायानाथ र आमा यशोदादेवीको स्मृतिमा ‘मायानाथ–यशोदादेवी सत्सङ भवन’ निर्माण गरिदिएका छन्। शान्तिधाम परिसरको पूर्वतर्फको खाली जमिनमा ६ कोठे दुई तले भवन ३० लाखको लागतमा निर्माण गरिदिएको नाती राजन पोखरेलले बताए।
नवनिर्मित दुबै भवन एक कार्यक्रमका बीच त्रियुगा बौद्धिक गुरुकुलम समितिलाई हस्तान्तरण गरिएको छ। दुबै परिवारले भवनलाई धार्मिक गतिविधिमा उपयोग गर्न आग्रह गरेका छन्। बुवाआमाको आत्मशान्तिका लागि पितृ तर्पणस्वरुप भवन बनाइदिएको छोरा राकेश खत्रीले बताए। उनले भने, ‘गरिव परिवारका बालबच्चा पढ्ने स्कुल कुनै पनि निकायबाट सहयोग नभएको देखिएकाले सहयोग गरेका हौं।' यसलाई धार्मिक गतिविधि र गुरुकुलम सञ्चालन गर्न सहयोग पुगोस् भन्ने अपेक्षा गरेको उनले बताए।
स्वर्गीय हंशबहादुरको २०७२ साल बैशाख १७ गते मृत्यु भएको थियो भने बुबा अम्बरबहादुरको २०७७ साल कार्तिक १४ गते मृत्यु भएको थियो। सोही स्मृतिको अवसरमा छोरा तथा नातिहरुले भवन निर्माण गरी हस्तान्तरण गरेका थिए।
गुरुकुलमलाई भवन हस्तान्तरणसँगै वटुकहरुलाई अध्ययन र आवासका लागि भवनको अभाव टरेको विद्यालयका अध्यक्ष बिदुर खड्काले बताए। ६ महिनाअघि हजुरबुबा र हजुरआमाको सम्झनामा निर्माण गरिएको भवन बुवा दिब्यराज पोखरेलले गुरुकुलमलाई हस्तान्तरण गरेका छोरा राजेश पोखरेलले बताए।
पोखरेलले भने, ‘सनातन धर्म जोगाउनको लागि गुरुकुलम सञ्चालन गरिएको भए पनि भवनको अभावमा कक्षा सञ्चालन गर्न कठिनाइ भएको भन्ने बुझेर सहयोग गरिएको हो।’ त्रियुगा गुरुकुलममा अहिले ३५ जना वटुक अध्ययनरत रहेको गुरुकुलम सञ्चालक संस्था शान्तिधामका अभियन्ता जागेश्वर साहले बताए।
जिल्लाको पहिलो बैद्धिक पाठशाला भएकाले भौतिक पूर्वाधार अभाव झेल्दै आएकोमा अब सहज भएको उनले बताए। त्रियुगा बैद्धिक गुरुकुलम कक्षा ४ देखि ८ सम्म सञ्चालन गर्न सक्षम रहको गुरुकुलमका संस्थापक तथा शान्तिधामका अध्यक्ष गिरीराज खतिवडाले बताए।
अहिले ८ कक्षासम्मको त्रियुगा नगरपालिकाबाट अनुमति प्राप्त छ तर यसलाई कक्षा १२ सम्म पुर्याउने गरी कक्षा विस्तार गरिने उनले बताए। सनातन धर्मका रक्षा गर्न हिन्दु कर्मकाण्ड र संस्कारहरुको संक्षण गर्न गुरुकुलम फलदायी हुने विश्वास लिइएको छ। गुरुकुलमका बटुकहरुको अग्रसरतामा प्रत्येक सोमबार त्रियुगा आरती सञ्चालन हुने गर्दछ। आरतीमा बटुकहरुले आरती ऋचाहरु उच्चरण गर्ने गर्दछन्।