स्थानीय तहका अस्पताल शिलान्यासमै सिमित
दैलेख : गत वर्षको मंसिर १६ गते गुराँस गाउँपालिका–४ बराहमा १५ शैयाको अस्पताल निर्माणको शिलान्यास भयो । प्रतिनीधि सभाका सांसद पार्वतीकुमारी विशुन्के,गाउँपालिकाका अध्यक्ष खेमराज ओलीलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा अस्पताल शिलान्यास भएको थियो । सेरीबाडा स्वास्थ्य चौकी परिसरमा शिलान्यास गरिएको उक्त अस्पताल एक वर्ष वितिसक्दा समेत निर्माण हुने सुरसार छैन् ।
आफ्नै गाउँमा अस्पताल बन्ने भएपछि स्थानीय खुसी भए । सामान्य बिरामी भए पनि ठूलो रकम खर्चिएर सुर्खेत, नेपालगञ्जदेखि भारतसम्म जानुपर्ने बाध्यता अन्त्य हुनेमा स्थानीय आशावादी थिए । शिलान्यासको एक वर्ष वितिसक्दा पनि अस्पताल निर्माणको प्रक्रियामा ढिलाइ हुँदा स्थानीयको आशा निराशामा बदलिएको छ । त्यहाँ जग खन्ने काम समेत सुरु भएको छैन। अस्पताल भवन निर्माण कार्य टेन्डर पक्रियामै रहेको गाउँपालिकाका सब–इन्जिनियर सूर्य नेपालीले बताए ।
सोहिदिन नौमूले गाउँपालिकामा पनि अस्पतालको शिलान्यास भयो । एकवर्षअघि शिलान्यास गरिएको सो अस्पताल भवन निर्माणको काम बल्ल सुरु भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र शाहीले अस्पताल भवनको जग खन्ने काम सुरु भएको बताए । गाउँपालिकामा यसअघिदेखि नै सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रको आडैमा अस्पताल भवन निर्माणको काम सुरु भएको शाहीले बताए ।
देशभरका सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले अघि सारेको ५ देखि १५ बेडसम्मका अस्पताल निर्माणअन्तर्गत एकैदिन ३ सय बढि अस्पतालहरु शिलान्यास भएका थिए । सोहिअन्तर्गत दैलेखका ११ स्थानीय तहमध्ये ७ तहमा अस्पताल निर्माणको थालनी गर्ने भन्दै कतै १५ शैया त कतै १० शैयाका अस्पताल शिलान्यास गरिएको थियो । गुराँस र नौमूले गाउँपालिकासहित आठबीस र चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटीकाँध, भैरबी र महाबु गाउँपालिकामा अस्पताल शिलान्यास भएका थिए ।
शिलान्यास भएको एक वर्ष वितिसक्दा समेत गुराँस र नौमूलेमा जस्तै अन्य तहमापनि अस्पताल बन्न सकेको छैन् । ती अस्पताल शिलान्यासमै सिमित बनेका छन् । कतै टेन्डर पक्रिया सकिएको छ भने कतै जग खन्ने काम बल्ल सुरु भएको छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले १५ शैयाको अस्पताल भवन निर्माणको काम सुरु गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विकले शिलान्यासको एक वर्षपछि मात्रै टेण्डर आह्वान भएर निर्माण कम्पनीसँग सम्झौता सकेर भवन निर्माणको काम सुरु भएको बताए ।
आठबीस नगरपालिकामा पनि बल्ल काम सुरु भएको छ । नगरपालिकाका मेयर खड्गराज उपाध्यायले जग खनेर पिल्लर हाल्ने काम सुरु भएको बताए । नगरपालिकाको वडा नं. ४ मा १५ शैयाको अस्पताल निर्माण हुनेछ । भैरबी गाउँपालिकामा शिल्यान्यास गरिएको १५ शैयाको अस्पताल निर्माणको काम सुरु हुन सकेको छैन् ।
बजेट नआउँदा काम सुरु हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए । ‘हामीले डीपीआर सकेर अहिले टेन्डर पक्रियामै छ, बजेट आएको छैन्, अब टेन्डर पक्रिया सक्छौ, बजेट आएपछि काम सुरु गछौँ, 'उनले भने ।
महाबु गाउँपालिकामा शिलान्यास गरिएको १० शैयाको अस्पताल निर्माण अन्तरगर्त भवन निर्माणको काम सुरु भएको छ । ‘गाउँपालिका भवन परिसरमै निर्माण हुने अस्पताल भवनको पिल्लर हाल्ने काम सुरु भएको छ,' गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले भने । गाउँपालिकाले यसअघि १० शैयाको कोभिड अस्पताल निर्माण गरेर सञ्चालन गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष शाहीका अनुसार त्यहाँ कर्णाली प्रदेश सरकारमार्फत १५ शैयाको अर्को अस्पताल समेत निर्माण हुँदैछ ।
प्राथमिक स्वास्थ्य केन्द्र रहेको ठाटीकाँध गाउँपालिकामा पनि १५ शैयाको अस्पताल शिलान्यास गरिएको थियो । शिलान्यास भएको एक वर्षपछि भवन निर्माण थालिएको छ । ‘स्वास्थ्य केन्द्र क्षेत्रमै भवन निर्माणको काम सुरु भएको छ,'सब–इन्जिनियर लवबहादुर सिजापतीले भने,'टेन्डर पक्रियापछि निर्माण कम्पनीसँग सम्झौता सकेर भवन निर्माणको काम सुरु भएको छ ।’
अस्पताल निर्माणको लागि जग खन्ने काम सुरु भएको सिजापतीले बताए ।