आँधीखोलामा एक लाख माछाका भुरा छाडिए
स्याङ्जा : आँधीखोला गाउँपालिकाले आँधीखोलामा एक लाख माछाका भुरा छाडेको छ। चिसो पानीको स्वादिला माछा भनेर परिचित आँधीखोलामा करेन्ट र विषादीको बढ्दो प्रयोगसँगै माछा घट्दो छ।
माछाको संख्या बढाउन र पर्यावरणीय वातावरण सन्तुलन कायम राख्ने उद्देश्यले पालिकाले गतवर्ष पनि यसरी नै खोलामा माछाका भुरा छाडेको थियो। खोलामा हेडे, गर्दी, सहर र ठेड प्रजातिका २५-२५ हजार गरी एक लाख माछाका भुरा खोलामा छाडिएका हुन्। ती भुरा करिब १५ देखि २५ ग्रामका छन्।
कालीगण्डकी ए जलविद्युत उत्पादन अन्तरगत रहेको कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोकामा एक लाख विभिन्न प्रजातीका माछाका भुरा ल्याएर आँधीखोलाका विभिन्न १० स्थानमा पुगेर माछा छाडिएको पालिकाका अध्यक्ष सुधिर पौडेलले जानकारी गराए।
‘खोलाको जैविक विविधता कायम राखी अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण रहन्छ’, उनले भने, ‘बिगत केही वर्षदेखि माछाका जीवन प्रणालीमा परेको असरसँगै हाम्रा वातावरणीय प्रभाव सन्तुलनका लागि खोलामा माछाका भुरा छाड्ने अभियान नै संचालन गरेका हौं।’
स्थानीय जातका माछा संरक्षण गर्दै आँधीखोलाका माछालाई ब्राण्डिङ गरेमा नाम र दाम कमाउन सकिने गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेल भन्छिन्।
बिगतमा जलारी समुदायको प्रमुख पेशा थियो। उनीहरुले माछा मारेरै जीविकोपार्जन गर्ने गर्थे। तर, आजकल एकै पटक धेरै माछा समात्ने होडबाजीका कारण करेन्ट, विषादीको प्रयोग गर्दा खोलामा माछा घटेका छन्। जलारीको व्यवसायसमेत संकटमा परेको छ।
अर्को सूचना नआएसम्मका लागि सो खोलामा जाल हान्ने, ढडिया थाप्ने, करेण्ट लगाउने, विषादी राखेर माछा मार्ने जस्ता काम नगर्न गाउँपालिकाले सूचित गरेको सूचना तथा प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी गराए।