२५० वर्षपछि केहरसिंह बस्न्यातका सन्तती सतौंकोटमा
स्याङ्जा : नेपाल एकीकरणका योद्धा केहरसिंह बस्न्यातलाई उनका सन्ततीले २५० वर्षपछि खोजी गर्दै स्याङ्जाको सतौंकोट आएका छन्। वि.सं. १८२८ पुस ५ गतेका दिनको घटनाका स्मरण गर्दे बस्न्यात सन्तती सतौंकोट आएर स्मृतिसभा गरेका हुन्। सहिद महेन्द्र पार्कमा स्मृतिसभा गरिएको छ।
आफ्ना पूर्वजको सम्झना गर्दै नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यात लगायत श्रीपाली बस्न्यात समाज र वडा नं. १४ ले स्मृति सभाको आयोजना गरेको हो। हालको पुतलीबजार नगरपालिका १४ मा सतौंकोट छ। सतौंचण्डी र सतौंकोट यहाँका पहिचान हुन्।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान अन्तरगत सतौं दरबार आक्रमण गर्न आउँदा पुस ५ गते गोरखाका योद्धा कमाण्डर केहरसिंह बस्न्यातले लडाईंका क्रममा यहाँ मृत्यु भएको थियो। सतौंकोटे दरबार शक्तिशाली देखियो। त्यतिबेला सेनाका कमाण्डार बस्न्यात मारिए भने बंशराज पाण्डे घाइते भए। घाइते पाण्डेलाई नजरबन्द अवस्थामा पर्वत पुर्याइयो र करिब ५ सय सैनिक मारिएका भन्ने भनाइ छ।
स्मृति सभालाई सम्बोधन गर्दे मध्यकमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले राष्ट्रियताको रक्षा र ऐतिहासिक धरोधरको संरक्षण गर्न नेपाली सेनाको उद्देश्य रहने बताए। उनले भने, ‘पृथ्वी दिवस पुस २७ का दिन आयोजना गरिने एकीकरण पदयात्रालाई सतौंसम्म जोडेर पदयात्रा बनाउनेतर्फ आफ्नो पहल हुनेछ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रा.डा. डीलबहादुर क्षेत्री, प्रा.डा. ज्ञानबहादुर कार्की, श्रीपाली बस्न्यात समाजका मोहनसिंह बस्न्यात, वडा अध्यक्ष ओमबहादुर खड्का, पर्यटन विकास समितिका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, जेष्ठ नागरिक रनबहादुर शाह लगायतले ऐतिहासिक धरोहरको संरक्षण र स्मरण गर्नुपर्नेमा जोड दिए।
वडाअध्यक्ष शेषराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले स्वागत एवं आफ्ना पूर्वज केहरसिंह बस्न्यातका बारेमा जानकारी गराए भने स्थानीय समाजसेवी ताराचन्द्र ढकालले कार्यक्रमको सहजीकरण गरे।
यसैबीच, पूर्व जर्नेल प्रा. डा. प्रेमसिंह बस्न्यातद्वारा लिखित नेपाल एकीकरणमा योद्धाहरुको सम्मानमा आयोजित सतहुँकोटको लडाईं र प्रधानसेनापति केहरसिंह बस्न्यातको २५० औं स्मृति दिवस हात पुस्तिका समेत विमोचन गरिएको छ।