पोखरा सडक महोत्सव : सडकमै खाउँ, सडकमै रमाउँ
पोखरा : रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखराको फेवाताल किनार लेकसाइडमा 'सडकमै खाउँ, सडकमै रमाउँ' भन्ने उद्धेश्यका साथ सडक महोत्सव हुँदैछ । हरेक वर्ष हुँदै आएको रेवानको यो २३औं महोत्सव हो । अंग्रेजी नयाँ वर्ष सन् २०२२ लाई स्वागत गर्दै पर्यटन क्षेत्रमा ढलेको व्यवसाय र सुस्ताएको व्यवसायीलाइ उत्साह जगाउन महोत्सव गर्न लागिएको रेवानले जनाएको छ ।
डिसेम्बरको ३०, ३१ र नयाँ वर्ष २०२२ को पहिलो दिन अर्थात नेपाली महिनाको पुस १५ गतेदेखि १७ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।
लेकसाइडका ३ किलोमिटर क्षेत्रमा सवारी साधन बन्द गरि सडकमा तीन दिनसम्म हुने यस महोत्सवले थलिएको पर्यटन क्षेत्रलाइ उकास्न केहि सहयोग पुग्ने अध्यक्ष बरालको भनाइ रहेकोछ । महोत्सवमा स्वास्थ्य सम्बन्धि सबै प्रोटोकलका मापदण्ड पूरा लागु गरिनेछ । पोखराक्षेत्र वा बाहिरबाट महोत्सवमा आउने पर्यटकलाइ विभीन्न होटलहरुले खान बस्न प्याकेजको व्यवस्था छ ।
अध्यक्षका अनुसार २ देखि ३ लाख आन्तरिक वा बाह्य पर्यटकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । पोखराको लेकसाइडमा २५ देखि ३० हजार बेड र अन्य क्षेत्रमा १५ देखि २० हजार गरि ४५ देखि ५० हजार बेडसम्म उपलब्ध हुने र ३३ प्रतिशतसम्म छुट दिने व्यवस्था छ ।
रेवानका केन्द्रिय अध्यक्ष अरनिको राज भण्डारीले थलिएको पर्यटन क्षेत्रमा उकास्न महोत्सव आयोजना गरि रेवान पोखराले गरेको काम उपलब्धि मुलक गरेको बताए । ‘उनले भने, रेवानले पोखराले गरेको उपलब्धिलाई धन्यवाद दिन चाहान्छु । पर्यटन क्षेत्र खस्किदा सबैकोे सहानुभूती रहेपनि, अब सहानुभूतीले पुग्दैन् एक्सनमा जानुपर्छ,। भण्डारीले पोखराले गर्दै आएको सडक महोत्सव फेस्टिबल जस्तै भैसकेको बताउँदै यस महोत्सव अवलोकन गर्ने अवसर नगुमाउन सबैलाइ आग्रह गरे ।
सडक महोत्सवले पोखरा खुल्ला छ भन्ने सकारात्मक सन्देश प्रवाह गरि 'अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल'को रुपमा प्रवद्र्धन गर्ने उद्धेश्य रहेको सडक महोत्सवका संयोजक नरेश भट्टराइले बताए । उनका अनुसार विभीन्न ठाँउमा हेल्थ डेस्कको व्यवस्था गरि कोभिड खोप र एन्टिजेन जाँच समेतको व्यवस्थाका लागि पहल भैरहेको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले कोभिड पछि निराश व्यवसायीलाइ महोत्सवले केहि राहत पुग्ने बताए । उनले ११ वटा पर्यटन सम्बन्धि संस्थाहरुसंग सहकार्य गरेकोले कुनै प्रकारको समस्या नहुने स्पष्ट पारे । २२ खर्व लगानी रहेको पोखराको पर्यटन क्षेत्रमा दैनिक १७ करोड घाटा भैरहेको बताउँदै महोत्सवले स्टाफ खर्च वा भाडा तिर्न सम्म राहत हुने अपेक्षा गरे ।
महोत्सवमा नेपाली मौलिक संस्कृतिको साथै पोखरामा रहेका विदेशीहरूको सांस्कृतिक कार्यक्रमसमेत हुने भएकाले सडक महोत्सव स्वदेशी तथा विदेशी पर्यटकका लागि विशेष आकर्षक रहने अपेक्षा गरिएको छ । महोत्सवमा ख्याति प्राप्त कलाकारहरूको दोहोरी, हास्य प्रर्दशन र साँझमा लाइभ कन्सर्ट पनि आयोजना हुने आयोजकले जनाएको छ । मौलिक भेषभूषा, ग्रामीण जनजीवन र किसानका उत्पादन, नेपाली कला, संस्कृति, खानाका परिकार र खेलकुदका गतिविधि सडक महोत्सवमा हुनेछ ।