सोलु करिडोर परीक्षण तयारी
उदयपुर : स्थानीयको अवरोध र विवादका बीच सोलु करिडोर निर्माण सकिएको छ। १३२ केभी डबल सर्किट करिडोरको प्रसारण लाइनमा टावर, तार बिछ्याउनेलगायतका महत्त्वपूर्ण काम गरिएको छ।
केही दिनमै राष्ट्रिय लाइनमा परीक्षण प्रसारण गर्ने आयोजना प्रमुख जनार्दन गौतमले बताए। प्रसारण लाइनमा ३ सय २ वटा टावर र सोलुदेखि सिराहासम्म ८९.५ किमि लम्बाइ छ। सोलुको तिङ्लामा सबस्टेसन बनाइएको छ।
छैटौं पटक म्याद थप गरी सम्पन्न गरिएको उनले बताए। कटारी नगरपालिका–४ मरुवा, सम्ले, बरमझिया क्षेत्रमा स्थानीयले अवरोध गरेपछि तीन वर्षदेखि काम प्रभावित हुँदै आएको थियो। डेढ दर्जन घर र ७० परिवारका खेतीयोग्य जमिन मासिने भन्दै स्थानीयले अवरोध पु¥याएका थिए।
प्रसारण लाइनमा सरकार तथा प्राधिकरणको लगानी छ। भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणसमेत दिएको छ। ठेकेदार छनोट र स्थानीयको विवादका कारण आयोजना निकै ढिला गरी सुरु भएको थियो। विवादित क्षेत्र उदयपुरमा १ सय ४१ वटा टावर छन्।
आयोजनाले एलाइमेन्ट परिवर्तन गर्न नसक्ने बताएपछि मरुवा क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका थिए। राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध भएपछि सुरक्षाफौज परिचालन गरेर काम गरिएको थियो। त्यसबेला प्रहरी स्थानीयबीच झडपसमेत भएको थियो। आयोजनाबाट प्रभावित जग्गाको मुआब्जा दिने र ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने सरकारले निर्णय गरेपछि मात्रै कामले गति लिएको कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए। आयोजनाको निर्माण लागत २ अर्व ५० करोड पुगेको उनको भनाइ छ।