सिरहामा बिहानैदेखि निषेधाज्ञा
सिरहा : सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न सिरहामा दुई दिन निषेधाज्ञा जारी भएको छ ।
बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको हो । तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । सिरहा प्रशासनले मंगलबार र बुधबारका लागि निषेधाज्ञा जारी गरेको हो ।
जनमत पार्टीका कार्यकर्ताले केही दिन अघिदेखि सिरहामा आन्दोलनका नाममा सडकमा सवारी साधनहरु तोडफोड गर्दै आएको छ । उक्त अवधिभर राष्ट्रिय राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात चल्न दिइने छ भने घर बाहिर हिडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा लगायतका गतिविधि गर्न नपाइने प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।