४६ वर्षपछि पूरा भयो सिँचाइको सपना : आकाशको भर टर्यो

४६ वर्षपछि पूरा भयो सिँचाइको सपना : आकाशको भर टर्यो

उदयपुर : खेतीयोग्य जमिन भएर पनि सिँचाइको अभावमा बाँझो खेत राख्न बाध्य उदयपुरको लिम्चुङबुङ गाउँपालिका-५ ढुकुरथुमबासीको सपना ४६ वर्षपछि पूरा भएको छ । 

सिँचाइका लागि २०३२ सालदेखि निरन्तर आवाज उठाउँदै आएका स्थानीयले यस वर्ष करिब डेढ करोडको लागतमा ढुकरथुम-जाँते सिँचाई आयोजना निर्माण भएसँगै खेतमा बाली लगाउन अब आकाशको भर टरेको छ ।

सिँचाइ योजनाका अध्यक्ष सुरेन्द्र राई भन्छन्, ‘२०३२ सालमा पहिलो पटक योजना पेश गरेकोमा, प्रकृया पुरा गर्दा गर्दै २०७१ सालबाट काम शुरु भयो । उनले थपे, ‘२०५२ सालमा तत्कालिन सिँचाइ डिभिजन कार्यालय उदयपुरका प्रमुख हरिप्रसाद चौलागाईले योजनाको कामलाई अघि बढाउँदा केहि आश पलाएको थियो तर पछिल्लो समयको राजनीतिक घटनाक्रमले समयमा शुरु हुन सकेन ।

योजना निर्माणका लागि २०७१ सालमा सिँचाइ डिभिजन कार्यालय उदयपुरबाट पहिलो किस्तामा १ लाख ९० हजार बजेट बिनियोजन भएसँगै २०७१ साल चैत १५ गतेदेखि  योजनाको काम शुरु भएको अध्यक्ष राईले बताए । उनी भन्छन्, ‘कामको थालनी भएपछि सिँचाइ डिभिजन कार्यालय उदयपुरले क्रमागतरुपमा रकम विनियोजन गर्दै १ करोड ३४ लाख रुपैया विनियोजन गरेको र जनश्रमदान बाफत १४ लाख ७४ हजार गरी १ करोड ४८ लाख ७४ हजारको लागतमा काम शुरु गरेका हौं । 

पहाडी भूभाग भएकाले खोलाको पानी कुलो (पैनी) बनाएर ल्याउन चट्टान फुटाउनु पर्ने, समयपनि निकै लाग्ने भएकाले ठूलो प्लाष्टिक पाईप बिछ्याएर सबैको खेतमा पुर्याइएको स्थानीय दिनेश राई बताउँछन् । योजना सफल भएसँगै स्थानीयमा खुशी छाएको छ । 

वडाध्यक्ष भूपाल खड्का भन्छन्, ‘यस योजनाले ढुकुरथुमका ५ दर्जन बढि घरधुरीका परिवारलाई राहत मिलेको छ, यसलाई निरन्तरता दिन योजना दीर्घकालीन हुन आवश्यक रहेको छ ।’ ‘खेतीयोग्य जमिन भएकाले सिजनमा धान र अन्य समयमा तरकारी खेती लगाएर गरिबी हटाउँछौ । उनले भने, ‘अध्यक्ष कृषि परियोजना कार्यक्रम पालिकाले चलाउँदै आएको छ, त्यसबाट यस क्षेत्रका किसानलाई प्रोत्साहन गर्छौ ।

अधिकांश युवाहरु रहेकाले युवालाई वैदेशिक रोजगार रोक्नका लागि पनि परियोजना सफल हुने बताए । सिँचाइ डिभिजनका प्रमुख देबनन्द मण्डलले योजना जनमुखी रहेको र आगामी दिनमा योजनाले ढुकुरथुमबासी जनताहरुको जीवनस्तर परिवर्तन हुने बताए ।

गाउँपालिकाका उप–प्रमुख रमिला राईले यसको दिगोपनका लागि पालिकाले सहयोग गर्ने बताईन् । उनी थप्छिन्–‘योजना सम्पन्न सहजै हुन्छ तर त्यसको दिगोपना निकै कठिन हुन्छ, तसर्थ मर्मतसम्भारका लागि उचित बजेट व्यवस्थापन गर्नेछौ ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.