दरबारसँगै चलचित्र ‘तामेकोटकी रानी’बन्ने
स्याङ्जा : गल्याङ नगरपालिका ५ स्थित स्यालबासमा तामेकोट दरबार बन्ने भएको छ। हात्तीस्थान फाउन्डेसनले दरबार निर्माण गर्ने भएको हो।
झन्डै ७ सय ५० वर्ष पुरानो तामेकोट राज्यको दरबार निर्माणगरी धार्मिक तथा पर्यटकीय गन्तव्यलाई जोड्न स्थानीयवासी जुटेका छन्। यस बृहत परियोजनाको परिकल्पना सहित डा. शिवशंकर बस्यालले अभियान सुरु गरे।
तत्कालीन तामेकोट राज्यको दरबार र ऐतिहासिक संरचनाका भग्नावशेष स्यालबासमा अहिले पनि देख्न पाइन्छन्। रानीपोखरी, सैनिक परेड खेल्ने चौर (टुँडिखेल), दरबारको सुरक्षार्थ लगाइएका पर्खाल, आलमदेवीको मन्दिर, पाण्डे थान, हात्तीस्थान, सेतीवेणी, रानी खसेको ठाउँ (रानीफल), भाल्थुम, देउराली लगायतका विविध स्थानले दरबार रहेको पुष्टि गर्ने स्थानीयको भनाइ छ।
भुरे टाकुरे राज्यअन्तर्गत पर्ने तामेकोट एउटा राज्य थियो। तत्कालीन अवस्थामा झन्डै ८०/९० घरधुरीका लागि राज्य स्थापना गर्ने गरिन्थ्यो भन्ने भनाइ छ। तामेकोटका राजा बिलासी थिए। उनले १२ वर्षे बालिकालाई जबरजस्ती रुपमा ल्याएर रानी बनाए।
बिलासी र घमण्डी स्वभावका राजाका कारण प्रजाले पाएको दुःख देख्न नसकेर रानीले राजालाई नजरबन्द गरी शासनसत्ता हातमा लिएकी हुन्छिन्। त्यसपछि रानी र आफ्नै प्रधानसेनापतिबीच शंका र अविश्वास बढ्दै गएपछि राज्यमा आक्रमण बढेको हुन्छ।
राज्यभित्रको आन्तरिक षडयन्त्र र बाह्य राज्यको आक्रमणविरुद्ध रानीले बहादुरीपूर्वक लडेकी हुन्छिन्। जीवनको उत्तराद्र्धमा राजा र छोरासमेत गुमाएपछि उनी टोलाउँदै बसेको अवस्थामा लडेर मृत्युवरण गरिन् भन्ने किंवदन्ती छ। हात्तीस्थान फाउन्डेसनले दरबार निर्माण कार्यको पुस १७ गते शिलान्यास गर्ने भएको छ।
अनुमानित १० करोड रुपैयाँको लागतमा दरबार निर्माण हुने भएको हो। दरबार तीन वर्षमा निर्माण पूरा हुने बताइएको छ। दरबारको निर्माणसँगै गल्याङ नगरपालिकादेखि सेतीवेणी जोड्ने केबलकारको समेत निर्माण कार्य अघि बढाइने भएको छ।
गल्याङ नगरपालिकाको मुख्य बजार गल्याङदेखि १७ किलोमिटरको यात्रापछि स्यालबास पुगिन्छ। स्यालबास सुन्तला उत्पादनको पकेट क्षेत्र हो। तरकारी र पशुपालन पनि उत्तिकै राम्रो हुन्छन् यहाँ। तत्कालीन अवस्थामा एक शासकको मनोमानीविरुद्ध एक विरंगाना महिलाले देखाएको बहादुरी र कौशलता निकै चुनौतीपूर्ण हुन्। सबै विषयवस्तु समेटेर ऐतिहासिक दस्तावेजको सदुपयोग गर्नु सबैको कर्तव्य रहने पूर्वसांसद शंकरप्रसाद पाण्डेको भनाइ छ।
फाउन्डेसनले थालनी गरेको पुननिर्माण कार्यलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले भने, ‘इतिहासको संरक्षण गरी सांस्कृतिक सम्पत्तिको संरक्षण गर्न प्रदेश सरकारको पूर्ण साथ र सहयोग छ।’ दरबार पुनर्निर्माणका परिकल्पनाकार डा. बस्यालको पहलमा सो कार्यको थालनी हुनेभएको हो। उनले झन्डै डेढ वर्षदेखि अनुसन्धान र ६ महिनादेखि विभिन्न विधाका विषयविज्ञसँग समन्वय र छलफल गर्दै अध्ययन तथा अनुसन्धानका काम गरिरहेको जानकारी दिए।
ताम्केकोट-ताम्रीकोट हुँदै तामेकोट नामाकरण भएको हो। यहाँ तामाखानी र शिसाखानी छन्। दरबारवरपर तामाका पैसा भेटिने गरेको स्थानीयवासी बताउँछन्। दरबारको भग्नावशेषमा वरपर घाँस, दाउरा गर्न जानेहरू अझै पनि त्यस वरपर तामा जस्तो बज्ने आवाज सुन्न सकिने बताउँछन्।
तामेकोटको प्रचार प्रसार र दरबार निर्माणका लागि फाउन्डेसनले तीन दिने समिटको आयोजना गरेको छ। समिटमा धार्मिक, साँस्कृतिक, कलाकार, चलचित्रकर्मी, राजनीतिकर्मी, विविध पेशाकर्मी लगायतले यस क्षेत्रको विकास र ऐतिहासिक धरोहरको संरक्षणका लागि कार्यपत्रमार्फत सुझाव आदानप्रदान समेत गरेका छन्। यही विषयवस्तुमा आधारित रही निर्देशक यादव भट्टराईले चलचित्र ‘तामेकोटकी रानी’ बनाउने उद्घोष गरेका छन्। दरबार निर्माणपछि सोही स्थलमै फिल्मको सुटिङ सुरु गर्ने उनले बताए। ‘अहिले स्थलगत अध्ययन अनुसन्धानमा जुटेको छु’, निर्देशक भट्टराईले यसअघि झोला र भोर नामका नेपाली चलचित्र निर्माण गरिसकेका छन्।