कमिशनमा ठूला कर्मचारी र नेताको मिलोमतो हुन्छ : उपसभापति गुरुङ
स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले कमिशनको खेलोमा केही कर्मचारी र नेता मिल्ने गरेको बताएका छन् । नेता र ठूलठूला कर्मचारीका मिलोमतोमा भ्रष्टाचार हुने गरेको उनको भनाई छ ।
नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्यसमिति स्याङ्जाको आठौं जिल्ला अधिवेशनको शनिवार उदघाटन गर्दै उपसभापति गुरुङ्ले प्रतिप्रश्न गर्दै भने, ‘के भए गरेका भ्रष्टाचारका काण्ड नेताले मात्र गरेका हुन् ।’ हजुर हजुर भन्दै केही ठूला कर्मचारीले नै नेता फसाउने गर्छन् उनले भने ।
उपसभापतिमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्लामा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले कर्मचारी स्थायी सरकार भएकाले नागरिकका सुख, दुःखमा सहयोगी बनी काम गर्न आग्रह गरें । निजामती कर्मचारीलाई उदाहरणीय बनी काम गर्न उनको सुझाव छ ।
वाइडबडी, प्रिन्टिङ प्रेस खरिद, ओम्नी, ललीता निवास, आयल निगम जग्गा प्रकरण लगायतका विविध खाले भ्रष्टाचार काण्डको अब खोजी हुन जरुरी छ । यसमा करोडौं भ्रष्टाचारका खेल भएका छन् । देश बिग्रने नेताका खराब आचरणबाट हो । एउटा इन्जिनियरले खराब आचरण गर्दा सडक तथा पुल मात्र बिग्रन्छ तर, एक नेताका खराब आचरणले सिंगो मुलुक बर्वादीतर्फ धकेलिन्छ उनले बताए ।
‘बिगतका गाउँले दुःख भुलेर नेताहरु काठमाण्डौंका सुख सयलमा रमाउन थालेकाले मुलुकको विकास हुन सकेन । उनले भने, ‘अब, नेता र केही कर्मचारी सुध्रनुपर्छ । विधिको शासनमा चल्नुपर्छ, तबमात्र मुलुकले गति लिन्छ ।’
संघिय निजामित ऐन आवश्यक छ । अध्यादेश मार्फत होइन । संसदमा दफावार छलफल गरेर ऐन ल्याउने काममा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । यसबारे सभापति शेरबहादुर देउवासंग परामर्श गर्नेछु उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति राजु थापा, नेपाल निजामति कर्मचारी यूनियनका केन्द्रिय अध्यक्ष गोपाल पोख्रेल, नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, चापाकोट नगरप्रमुख शिबकुमार गिरीलगायतले निजामति कर्मचारी ऐनको आवश्यकताका बारेमा जोडँ दिँदै कर्मचारी र राजनीतिकर्मीबीचको सदाचार र एकताले नै मुलुकले गति लिने बताए ।
अधिवेशन १७ सदस्यीय जिल्ला कार्यसमिति र ५ सदस्यीय केन्द्रिय प्रतिनिधी चयन गर्दै आइतवार सम्पन्न हुनेछ । स्याङ्जामा ३ सय ५१ निजामित कर्मचारी सदस्य रहेको बताईएको छ ।