सिमेन्ट र छडमा आत्मनिर्भर, अब निर्याततर्फ
काठमाडौं : भूकम्पपछि भौतिक संरचना निर्माणले तीव्रता पाएसँगै सिमेन्ट र डन्डीको माग बढ्दो छ। तर, माग जति बढे पनि स्वदेशी उत्पादनले धानिरहेको छ। बरु यस्ता उत्पादन विदेश निर्यात गर्न सक्ने अवस्थामा पुगेको उद्योगी बताउँछन्।
सिमेन्ट माग वार्षिक १ करोड ३४ लाख मेट्रिक टन छ। उद्योगको क्षमता २ करोड ३० लाख मेट्रिक टन पुगेको उद्योगी बताउँछन्। सबै उद्योगले पूर्ण क्षमतामा उत्पादन गरे निर्यात गर्न सक्ने अवस्था देखिन्छ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बजारलाई चाहिनेभन्दा दुई गुणा बढी उत्पादन गर्ने क्षमता भएको बताउँछन्। विदेशबाट आयात गर्नु नपरेको अध्यक्ष थापाको भनाइ छ।
‘बजारमा माग पनि राम्रै छ। हामीसँग २ करोडभन्दा बढी अर्थात् २ करोड ३० लाख मेट्रिक टनको क्षमता छ’, थापा भन्छन्, ‘अब हामी निर्याततर्फ कोसिस गरिरहेका छौं। सरकारले केही सहुलियत दिए निकासीमा पनि सहज हुन्थ्यो।’
गुणस्तरमा पनि हामी अब्बल छौं । यसैले निर्यात गर्न सक्षम छौं । तर, विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सरकारले हामीलाई सहुलियत दिनुपर्छ।
– ध्रुव थापा, अध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघ
बजारमा खपत गरी १ खर्ब ५० अर्ब रुपैयाँबराबरको निर्यात गर्न सक्ने क्षमता भएको उनी बताउँछन्। तर, मागभन्दा बढी उत्पादन गरिएको छैन। निर्यात गर्न अरू मुलुकसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ।
‘गुणस्तरमा पनि हामी अब्बल छौं। भारतीय सिमेन्टभन्दा हाम्रो मापदण्ड माथिल्लो स्तरको छ। यसैले निर्यात गर्न सक्षम छौं’, उनी भन्छन्, ‘तर, विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सरकारले हामीलाई सहुलियत दिनुपर्छ। यसबारे छलफलमा पनि जुटेका छौं।’ केही विदेशी कम्पनीले विदेशबाटै सिमेन्ट ल्याउने भनी सम्झौता गरेबाहेक अब आयात गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ।
यस्तै, बजारमा १४ लाख मेट्रिक टन डन्डीको माग छ। उद्योगहरूले मागभन्दा धेरै ३५ देखि ४५ प्रतिशतसम्म स्वदेशमै डन्डी उत्पादन गरिरहेका छन्। व्यवसायीका अनुसार डन्डी उत्पादनमा पनि आत्मनिर्भर हुने अवस्था सिर्जना भएको छ।
आर्थिक वर्ष २०७४/७५ मा ३२ लाख मेट्रिक टन सिमेन्ट खपत भएको थियो। २०७५/७६ मा ६९ लाख र २०७६/७७ मा १ करोड मेट्रिक टन पुगेको थियो। हालको माग वार्षिक १ करोड ३४ लाख मेट्रिक टनसम्म पुगेको भन्सार विभागको अध्ययनले देखाएको छ। सिमेन्ट उद्योगको वार्षिक कारोबार १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको छ। यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ४.७९ प्रतिशतको योगदान पुगेको विभागले जनाएको छ।
विभागका अनुसार उद्योगको कुल क्षमता २ करोड मेट्रिक टन छ। ६५ उद्योगले उत्पादन गरिरहेका छन्। उद्योग विभागमा १ सय १४ वटा दर्ता छन्। सिमेन्टको कच्चापदार्थ क्लिंकर अर्थात चुनढुंगा उत्पादन गर्ने उद्योग साना–ठूला गरी २१ वटा पुगेका छन्।
विभागका अधिकारी भने उत्पादन क्षमता राम्रै भए पनि निर्यात गर्न सम्भव नरहेको बताउँछन्। भारतमा प्रतिबोरा ३ सय भारुमा नेपालकै गुणस्तरको पाइने भएकाले प्रतिस्पर्धा गर्न नसकिने ती अधिकारीको भनाइ छ।
सिंहदरबारमा निर्माणाधीन संसद् भवन। तस्बिर : सुनीता डंगोल
सरकारले सिमेन्ट उद्योगलाई खानी पहुँचमार्ग बनाएर प्रोत्साहन गर्दै आएको छ। विद्युत् प्रसारण लाइनमा पनि उद्योगले सहयोग पाउँदै आएका छन्।
सरकारले २०७६/७७ को नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यात वस्तुका रूपमा विकास गर्ने घोषणा गरेको थियो। खानी तथा भूगर्भ विभागले सिमेन्ट र क्लिंकर उद्योगमा लगानी र निर्यातको प्रचुर सम्भावना रहेको बताएको छ। चुनढुंगा र क्लिंकरमा पनि मुलुक आत्मनिर्भरतर्फ उन्मुख भएको उद्योग विभागका शाखा प्रमुख कृष्ण खरेल बताउँछन्। ‘पहिला क्लिंकर आयात गर्नुपथ्र्यो, अहिले पर्दैन’, खरेल भन्छन्।
तर, ठूला परियोजना जलस्रोत, पुल, सडकलगायतमा बाहिरबाटै आयात गर्न सकिने भनेर ल्याउने गरेको खरेल बताउँछन्। नत्र अरू क्षेत्रलाई सिमेन्ट आयात भएको छैन। उक्त प्रयोजनका लागि चालू आवको ४ महिनामा सिमेन्ट १३ करोड ६७ लाख र क्लिंकर २० करोड रुपैयाँबराबरको मात्रै आयात भएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ। यो एकदम न्यून भएको केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंको भनाइ छ। उनका अनुसार नेपालमा उत्पादन कम हुने बेला अर्बौंको सिमेन्ट आयात हुन्थ्यो। अहिले घटेकाले यत्तिको आयात नगन्य भएको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकले गत जेठमा गरेको एक अध्ययनले वार्षिक रूपमा १५ लाख ६० हजार मेट्रिक टन सिमेन्ट आयात भएको देखाएको थियो। यसलाई कटौती गर्न क्षमताअनुसार नै उत्पादन गर्न उसले सुझाएको थियो।
युनाइटेड सिमेन्ट उत्पादन गर्दै आएको केएल दुगड ग्रुपका ब्रान्ड प्रबन्धक सुवास खतिवडा सिमेन्टमा आत्मनिर्भर भएको बताउँछन्। यो उद्योगको मात्रै उत्पादन क्षमता दैनिक १ हजार २ सय मेट्रिक टन छ। उनका अनुसार अहिले मागभन्दा पनि बढी आपूर्ति भएको छ। ‘यसकारण बजारलाई जति पनि धान्न सकिन्छ। आजभन्दा ५–७ वर्षअघि यो स्थिति थिएन। यसअघि माग बढी थियो उत्पादन थिएन’, उनी भन्छन्, ‘युनाइटेड सिमेन्टले आफैं क्लिंकर बनाउँछ।’
उद्योगको क्षमता ५ वर्षको दोब्बर माग धान्ने नेपाल राष्ट्र बैंकले पाँच वर्षभित्र सिमेन्ट माग अहिलेभन्दा दोब्बर हुने प्रक्षेपण गरेको छ। ठूला पूर्वाधार आयोजना निर्माणाधीन रहेको र नयाँ पनि कार्यान्वयनमा जाने भएकाले सन् २०२५ सम्ममा सिमेन्ट माग वार्षिक २ करोड ५८ लाख मेट्रिक टन पुग्ने बैंकको ठहर छ। केन्द्रीय बैंकले २०२०/२१ लाई आधार वर्ष मान्दै आगामी वर्षसम्ममा सिमेन्टको माग बढ्दै जाने प्रक्षेपण गरेको बताएको छ।
‘अहिले नेपालको आन्तरिक बजारमा सिमेन्टको माग झन्डै करोड मेट्रिक टन हाराहारी छ। हाल सञ्चालनमा आएका ५५ सिमेन्ट उद्योगको वार्षिक कुुल जडित क्षमता भने १ करोड ५० लाख मेट्रिक टन हाराहारी छ। तर, सबै सिमेन्टहरू उत्पादन क्षमताअनुसार सञ्चालनमा आएका छैनन्,’ नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक र सामाजिक प्रभावको अध्ययनसम्बन्धी प्रतिवेदनमा लेखिएको छ।
केन्द्रीय बैंकले राष्ट्रिय गौरवका आयोजनाहरू, गौतम बुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन रहेको र अरू ठूला परियोजना पनि पाइपलाइनमा रहेकाले सिमेन्ट माग बढ्ने बताएको छ। पाइपलाइनमा रहेका बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो मस्र्याङ्दी जलविद्युत् (दोस्रो), कालीगण्डकी गर्ज, आँखु खोला जलविद्युत्जस्ता आयोजनाहरूका कारण पनि आगामी वर्षहरूमा सिमेन्टको माग बढ्ने देखिएको छ।
सिमेन्टलाई चाहिने क्लिङ्कर अर्थात् चुनढुंगा अझै आयात हुँदै छ। तर, अब यसमा पनि मुलुक पूर्ण आत्मनिर्भर हुने अवस्था देखिएको केएल दुगड ग्रुपका ब्रान्ड प्रबन्धक खतिवडा बताउँछन्। उनका अनुसार क्लिङ्कर बनाउने ठूला उद्योग प्रत्यक्ष वैदेशिक लगानीमा आउँदै छन्। यसो भएपछि यहाँका उद्योगले कच्चापदार्थ आयात गर्नुपर्दैन।
काठमाडौंंको पुरानो बसपार्कमा निर्माणाधीन भवन। तस्बिर : सुनीता डंगोल
उदयपुर कटारीबाट चुनढुंगा उत्खनन् गर्न लागेको सौर्य सिमेन्टले ५० वर्षसम्म कच्चा पदार्थ पुग्ने बताएको छ। शंकर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीको उद्योगले कच्च पादर्थ जोहोका लागि खानी उत्खनन् सुरु गर्न लागेको हो।
कम्पनीले चुनढुंगा उत्खनन् गर्ने प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि स्थानीयवासीसँग राय लिन थालेको हो। कम्पनीले त्यहाँबाट दैनिक ४८ सय मेट्रिक टन चुनढुंगा उत्खनन् गर्ने बताएको छ। उक्त चुनढुंगा सौर्य सिमेन्टको सिरहा मिर्चैयास्थित उद्योगसम्म ढुवानी गरिने भएको छ।
सौर्य सिमेन्ट १० महिनाअघि नै बजारमा आइसकेको छ। सिमेन्ट उद्योग १५ अर्ब रुपैयाँमा खोलिएको हो। कटारीमा रहेको चुनढुंगा उद्योबाट ५० वर्षसम्म पुग्ने कच्चा पदार्थ उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
उदयपुरको चुनढुंगा र यी सबै प्रविधिले गर्दा सौर्य सिमेन्ट गुणस्तरमा अहिलेसम्म सबैभन्दा राम्रो रहेको दाबी कम्पनीका दिवस देवकोटा गर्छन्। ‘हाम्रा ५ प्रकारका सिमेन्ट छन्। एउटा ४३ ग्रेडको, एउटा ५३ ग्रेडको र पीएससी। अहिले तत्काललाई ४३, ५३ र पीएससीको नेपाल गुणस्तर (एनएस) लिएर बजारमा काम गर्न सुरु गरेका छौं’, उनी भन्छन्, ‘हाम्रो तुरुन्तै पीपीसी र लो अल्काली सिमेन्ट बजारमा आउँदै छ। यसले गर्दा पनि हाम्रो गुणस्तरमा छुट्टै साइलोहरूले दूषित कम गराउने सिस्टम जडित छ। यसले सिमेन्टहरूमा एकरूपता ल्याउने काम गर्छ।’ चुनढुंगा खानीबाट बाहिर उद्योगबाट उत्पादन ननिस्केसम्म रोबोटिक ल्याबको निगरानीमा गुणस्तर मापन भइरहेको उनको भनाइ छ।
खानी तथा भूगर्भ विभागका अनुसार नेपालमा ७ हजार वर्ग किलोमिटरमा चुनढुंगा छ। उक्त क्षेत्रफलमा रिजर्भ चुनढुंगाको परिमाण १ अर्ब ५० करोड टन रहेको अनुमान गरिएको छ। विभागले यसमध्ये आधा अर्थात् ७५ करोड टन चुनढुंगा खानी भने प्रमाणित गरिसकेको छ। चुनढुंगा सिमेन्टको प्रमुख कच्चापदार्थ हो। यसैबाट क्लिङ्कर बनाइन्छ र अनि क्लिङ्करबाट सिमेन्ट उत्पादन गरिन्छ। क्लिंकर मात्रै उत्पादन गर्ने कम्पनी डेढ दर्जन पुगेका छन्। सञ्चालनमा रहेका ६५ सिमेन्ट उद्योगमध्ये अधिकांशले आपैmं उत्पादन गरेको क्लिंकर प्रयोग गर्छन्। बाँकीले आयात अर्थात किन्दै आएका छन्। युनाइटेड, जगदम्बा, सौर्य, शिवम्, अर्घाखाँची, पाल्पा, नेपाल शालिमारलगायत कम्पनीले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्छन्।
गुणस्तरमा अब्बल
सिमेन्ट र डन्डीको गुणस्तरमा पनि अब्बल भएको व्यवसायीको दाबी छ। ठूला आयोजनामा ४३ र ५३ ग्रेडको सिमेन्ट चाहिन्छ। ५३ ग्रेड भनेको ५३ एमएम लोड प्रतिवर्ग सीएम बहन गर्न सक्ने भन्ने हो। २०७६ यता गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर मापदण्डमा संशोधन गर्दै यस्तो ग्रेडको सिमेन्ट उत्पादन गर्न सक्ने अधिकार दियो। त्यसपछि उद्योगहरूले यसलाई आधार मानेर गुणस्तरयुक्त उत्पादन थाले। जसले आयात नियन्त्रण गरेको उद्योगी बताउँछन्।
त्यसअघि ३३ ग्रेडको उत्पादन हुन्थ्यो। सिमेन्टको ग्रेड निर्धारण भनेको भारवहन क्षमता हो। कतिपय उद्योगले ओपीसी, पीपीसी, पीएसीजस्ता ब्रान्ड उत्पादन गर्न थालेका छन्।
सौर्य सिमेन्टका दिवस देवकोटा कतिपय उद्योगमा एउटै साइलोबाट बिभिन्न ग्रेडका सिमेन्ट उत्पादन हुने बताउँछन्। भन्छन्, ‘हामीले ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्दा त्यही साइलो प्रयोग गरेर अर्को पीपीसी उत्पादन गर्दा पनि त्यही प्रयोग ग¥यौं भने सिमेन्ट खराब भई गुणस्तरमा तल–माथि हुने देखियो। त्यसैले हामीले छुट्टाछुट्टै साइलोज राखेका छौं। हाम्रा ५ प्रकारका सिमेन्ट छन्। एउटा ४३ ग्रेडको, एउटा ५३ ग्रेडको र पीएससी। अहिले तत्काललाई ४३, ५३ र पीएससीको नेपाल गुणस्तर (एनएस) लिएर बजारमा काम गर्न सुरु गरेका छौं।’
यससँगै पीपीसी र लो अल्काली सिमेन्ट बजारमा ल्याउन लागेको उनको भनाइ छ। यसको गुणस्तरमा छुट्टै साइलोहरूले दूषित कम गराउने सिस्टम जडित रहेको उनी सुनाउँछन्। उनकाअनुसार रोबोटिक ल्याबले गुणस्तरको मापदण्ड सेट गरिसकेका हुनाले त्योभन्दा अर्को गुणस्तरको उत्पादन नै गर्न दिँदैन।
‘आफ्नो उत्पादनको गुणस्तर आफ्नै ल्याबमा मापन गर्ने गरेका छौं’, उनी भन्छन्, ‘त्यसैले उदयपुरको चुनढुंगा र यी सबै प्रविधिले गर्दा सौर्य सिमेन्ट गुणस्तरमा अहिलेसम्म सबैभन्दा राम्रो छ।’
जगदम्बा सिमेन्टका कुशल काफ्ले ओपीसी, पीपीसी, पीएसीजस्ता तीन ब्रान्डका उत्पादन गरिरहेको बताउँछन्। ‘हामीले विभिन्न किसिमका पेबर्ट्समा नेपाल गुणस्तर प्राप्त गरिसकेका छौं’, उनी भन्छन्, ‘सबैले आफ्नो उत्पादन राम्रो त भनिहाल्छन्। गुणस्तर मापन गर्ने नेपाल गुणस्तर मात्र छ।’
नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका अनुसार नेपालको फलामे डन्डीको इतिहासमा नयाँ प्रविधि टीएमटी बार हो। यसअघिको टोरस्टिललाई परिमार्जन गरी उच्च गुणस्तरको कच्चा पदार्थ (ब्लेड) प्रयोग गरी कान्छो प्रविधिका रूपमा उद्योगीले टीएमटी बार अपनाउँदै आएका छन्। अधिकांश उद्योगबाट टीएमटी ५०० र बोर ५१४ भनेर दुई प्रकारका डन्डी उत्पादन हँुदै आएको जनाइएको छ। जगदम्बा स्टिलस्का प्रभु आचार्य क्षमताका हिसाबले फलाम उद्योग पर्याप्त रहे पनी उपभोग भने धेरै कम भएको गुनासो गर्छन्। उनका अनुसार नेपालमा फलाम वा सिमेन्टको कुरा गर्दा नेपाल गुणस्तर नै हो।
०००
डन्डी उत्पादन क्षमता मागभन्दा तेब्बर
छड तथा डन्डीमा पनि मुलुक आत्मनिर्भर छ। उद्योगहरूसँग प्रतिवर्ष करिब ३५–३६ लाख मेट्रिक टन उत्पादन गर्ने क्षमता रहेको उद्योग विभागका शाखा प्रमुख कृष्ण खरेल बताउँछन्। उनका अनुसार उद्योगको क्षमतालाई हेर्दा मागभन्दा तेब्बर उत्पादन क्षमता छ।
बजारमा १० लाखदेखि १४ लाख मेट्रिक टनसम्म डन्डीको माग छ। उद्योगहरूले उत्पादन क्षमताको ४६ प्रतिशतसम्म मात्रै उत्पादन गरिरहेका छन्। व्यवसायीका अनुसार डन्डी उत्पादनमा पनि आत्मनिर्भर हुने अवस्था सिर्जना भएको छ।
‘उद्योगहरूसँग क्षमता भए पनि माग कम भएकाले क्षमताभन्दा ३५ देखि ४५ प्रतिशतसम्म उत्पादन गरिरहेका छन्,’ उनी भन्छन्।
साना–ठूला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योग छन्। यसमध्ये ६ वटाले मात्र स्पन्ज आइरन अर्थात पत्रु पगाली डन्डी उत्पादन गर्दै आएका छन्। यसबाहेक २४ वटाले विलेट कच्चापदार्थ ल्याएर छड तथा डन्डी उत्पादन गर्ने गरेका छन्।
कच्चापदार्थ भारतबाट आउँछ। यसैले त्यहाँको उत्पादनसँग नेपालको डन्डी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले डन्डीको निर्यात भने सम्भव नभएको उनी बताउँछन्। यद्यपि नेपाली बजारलाई भने स्वदेशकै उत्पादनले यथेष्ट पुगेको छ।
जगदम्बा स्टिलका निर्देशक अपरेसन एन्ड मार्केटिङ रवि प्रकाश डन्डी उत्पादन क्षमता प्रतिवर्ष ३०–३५ लाख मेट्रिक टनसम्म हँुदा माग भने १४ लाख मेट्रिक टन मात्रै रहेको बताउँछन्। उनका अनुसार जगदम्बा स्टिलले मात्रै वार्षिक साढे ४ लाख मेट्रिक टन उत्पादन गर्ने गरेको छ। समग्रमा मुलुक डन्डीमा आत्मनिर्भर भएको उनको तर्क छ। सरकारले विद्युत्मा सहुलियत दिए सहज हुने उनी बताउँछन्।
‘सरकारले यस वर्ष कम्पनीले आयात गर्दा डन्डीको कच्चापदार्थ स्पन्ज आइरनको भन्सार दर र अन्तःशुल्क छुट दिँदा सहज भएको छ। यसले अब ब्लेड उत्पादन नेपालमै गर्न सहज छ,’ उनी भन्छन्, ‘सरकारले यस्ता उद्योगलाई विद्युत्मा सहुलियत दिए उत्पादन लागत कम हुन जान्थ्यो। यसले उपभोक्तालाई पनि राहत मिल्थ्यो।’