नेतृत्व चयनसँगै काभ्रेको भविष्य कोर्दैछौं

नेतृत्व चयनसँगै काभ्रेको भविष्य कोर्दैछौं

नेकपा एमालेले पुस २३ गते काभ्रेमा जिल्ला अधिवेशन गर्दैछ। जिल्लामा एमालेको राजनीतिक संगठन र पहिचानलाई सबैसामु प्रस्तुत गर्नेदेखि नेतृत्व चयनसम्मको काम हुँदैछ। अधिवेशन सेरोफेरोमा केन्द्रित भएर एमालेका काभ्रे अध्यक्ष अशोक ब्याञ्जूसँग अन्नपूर्णकर्मीले गरेको कुराकानी :


काभ्रेमा हुने नेकपा एमालेको अधिवेशन कसरी गर्दै हुनुहुन्छ ?

पुस २३ गते हुने अधिवेशनमा जिल्लाको एमालेको राजनीतिक संगठन र पहिचानलाई सबैसामु प्रस्तुत गर्दैछौं। नेपालका श्रमजीवी जनता, मजदुर किसान, आदिवासी, पिछडिएको वर्ग, विपन्न वर्ग, पिछडिएका ठाउँहरूको विकासका निम्ति एमालेले लामो समयदेखि भूमिका निर्वाह गरेको छ। यस परिवेशलाई केन्द्रित गरेर सामाजिक रूपान्तरणको क्षेत्रमा देश र एमालेले लिएको विचारको कार्यभारलाई जिल्लावासीलाई प्रष्ट्याउने छौं। भावी कार्ययोजना पनि तयार गर्नेछौं। २० वर्षभित्र काभ्रेलाई उत्कृष्ट बनाउन रणनीतिक योजना बनाउँछौं। कार्यक्रमिक रूपमा कस्ता विकासका योजना, आन्दोलनका विषय, सभ्यता र संस्कृति निर्माणका लागि काम गर्दैछौं। यहाँका जनताको जीवनलाई आर्थिक, सामाजिक रूपमा सम्पन्न बनाउने, युवा वर्गको भूमिका र जीवन्त गतिलाई समयसापेक्ष बनाउने काम गर्नेछौं। सामाजिक रूपान्तरण क्षेत्रमा सहभागी गराउने, महिला, दलित, आदिवासी र जनजातिसमेतको दृष्टिकोणलाई प्रष्ट पारेर विकासको रोडम्याप तयार गर्दैछौं।

बागमती प्रदेशकै ठूलो संख्या काभ्रेमा छ भनिएको छ, सत्य हो ?
राजनीतिक रूपमा सशक्त नेकपा एमालेको उपस्थिति बागमती प्रदेशमा छ। यो प्रदेशको सबैभन्दा बढी सदस्य संख्या भनेको काभ्रे जिल्लामै छ। यसभन्दा अगाडि लगभग आठ हजार संगठित सदस्य रहेकोमा अहिले २२ हजार पुगेको छ। स्थानीय चुनावमा पनि सातवटा पालिकामा एमालेले विजय हासिल गरेको थियो। काभ्रे जिल्लालाई नेकपा एमालेमय बनाउने अभियानमा यो अधिवेशनमा सफल हुनेछ। एमालेको अधिवेशन ७७ वटै जिल्लामा भइरहेको छ। काभ्रे जिल्लामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख आतिथ्यता ग्रहण गर्ने हुनुभएको छ। यसले हामी सबैलाई हौसला प्रदान गरेको छ। धुलिखेलको टुँडिखेलमा यो कार्यक्रम सम्पन्न हुँदैछ। धुलिखेल नगरपालिकाको सभाहलमा बन्द सत्र गर्नेछौं। नयाँ कार्यसमितिको प्रक्रियामा जानेछौं। यसमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछौं। एमालेले भोलिको दिनमा सिंगो काभ्रे जिल्लाको नेतृत्व र विकास  गर्नुपर्ने भएकाले यसका लागि भूमिकाका लागि निष्कर्षमा पुग्नेछौं।
 
अधिवेशन तयारी कहाँ पुग्यो ? ठूलो संख्यामा नागरिक उतार्ने भन्नु भएको छ नि ?
जिल्ला कमिटीको बैठकले मेरै अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ। इन्द्र तामाङको अध्यक्षतामा प्रचारप्रसार समिति र कञ्चन अधिकारीको संयोजकत्वमा जनपरिचालन समिति गठन गरेका छौं। १४ सयको हाराहारीमा प्रतिनिधि वडा तहमा नगरबाट विभिन्न क्षेत्रले प्रतिनिधित्व गर्नेछौं। निर्वाचनलाई विद्युतीय भोटिङ मेसिनमा जोड्दैछौं।

काभ्रेमा तल्लो तहदेखि माथिल्लो तहसम्म सबै वर्ग र क्षेत्रमा एमालेको जुन राजनीतिक उपस्थिति छ त्यो उपस्थिति सबैसामु प्रदर्शन गर्न खोजेका छौं। एमालेको राजनीतिक उपस्थिति नै सर्वाेपरि आवश्यक उपस्थिति हो। काभ्रेको विकास निर्माणमा पनि यसले महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ। सामाजिक र राजनीतिक आन्दोलनले काभ्रेको पहिचानलाई अगाडि बढाउने काममा एमालेको भूमिका छ। एमालेको एकताबद्ध शक्तिप्रति जनताको विश्वास र भरोसालाई सबलीकृत गर्नुपर्छ भन्ने लाग्छ। सबै संगठित सदस्य र जनप्रतिनिधि सहभागी हुँदा काभ्रेको आजसम्मको फरक माहोल बन्नेछ।

काभ्रे अधिवेशनको सन्देश के होला ?
राजनीतिक र सांगठनिक रूपमा काम गर्नुपर्ने नियमित कामसँगै २० वर्षभित्र गर्नुपर्ने काभ्रेको विकास निर्माण र सामाजिक कुरामा ध्यान दिनेछौं। कसरी भौतिक पूर्वाधार निर्माण गर्ने, गरिबी निवारण गर्ने, सुशासित र स्वरोजगार सिर्जना गर्ने, उद्योगधन्दा, व्यापार, व्यवसाय, कृषि र पर्यटन सबलीकृत गर्ने भन्नेमा केन्द्रित हुनेछौं। 

जिल्लावासीको आर्थिक एवं सामाजिक रूपान्तरण गर्ने भन्ने नै हो। सोको रणनीतिक योजना बनाउँछौं। राजनीतिक प्रतिबद्धता र विकासका लागि हिजो के गर्‍यौं र अब के गर्न जरुरी छ भन्ने खाका ल्याउँछौं। गाउँबस्तीसम्म संगठन सशक्तीकरण गर्ने, राजनीतिक सशक्तता बलियो पार्ने, दृष्टिकोण र सिद्धान्तले विपन्न वर्ग, कमजोर क्षेत्र र किसान मजदुरको क्षेत्रमा धेरै काम गर्न बाँकी छ।

विगतका जिल्ला अधिवेशनले पास गरेका रोडम्यापहरू कति कार्यान्वयन भए ?
एमालेले डेढ दशकअघि पहिलो पटक राजनीतिक पार्टीहरूले नेतृत्व निर्माण र आफ्नो पार्टी गतिविधिलाई केन्द्रित गर्दै विकास निर्माणको खाका तय गरेको थियो। उक्त सोचका साथ काभ्रेका एमाले नेता गोकुल बाँस्कोटा र हामी मिलेर जिल्लामा सिँचाइ, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको रोडम्याप बनायौं। जिल्ला अधिवेशनबाट पास गर्‍यौं। जसले अहिलेसम्म काम गरिरहेको छ। औद्योगिक क्षेत्र, खानेपानी, पर्यटकीय विकास, डाँडापारि जाने बाटो, कोसी पारि जाने बाटो, तिमाल जाने बाटो वा जिल्लालाई आर्थिक र व्यापारिक केन्द्रको रूपमा विकास गर्ने काम सबै त्यसमै थिए। जसले अहिले साकार रूप लिएको छ। समाजमा गर्नुपर्ने विकास र जनताका आवश्यकता के हुन् ? हामीले के गर्नुपर्छ ? सबै क्षेत्रको विश्लेषण गरेका छौं। १३ वटै पालिकामा योजना बनाउँदैछौं। एउटा पालिकामा ५ वटा केन्द्रीय कार्यक्रम, एउटा वडामा २ वटा वडास्तरीय कार्यक्रमको तयारी छ। १३ मध्ये कुन पालिकामा आर्थिक, कुनमा सांस्कृतिक र कुनमा औद्योगिक विकास गर्ने भन्ने तयारीमा छौं। दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म गरिबी निवारण भएको काभ्रे हुनेछ। जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन सफल हुनेछ।
 
प्रतिनिधिबीच हुने प्रतिस्पर्धा कस्तो हुन्छ ?
एमाले प्रजातान्त्रिक पद्धति र प्रमाणमा विश्वास गर्ने पार्टी हो। आजको युगमा देशको वर्चस्व भनेको युवा जमात जनजाति, आदिवासी, महिला र सीमान्तकृत नै हो। समाजमा राजनीतिक चेतना भएका सामाजिक आन्दोलनका विविध क्षेत्रमा भूमिका निर्वाह गर्ने जनसमुदायको साझा फूलबारी हो, नेकपा एमाले। जसमा बुद्धिजीवी, समाजसेवी, युवा, महिला, दलित, जनजाति, सीमान्तकृत, पिछडिएका क्षेत्र र राजनीतिक रूपमा योगदान पुर्‍याएका व्यक्ति छन्। त्यसैले एमालेमा सबै किसिमका व्यक्तिले नेतृत्व लिन सक्छ। त्यो नेतृत्वले काभ्रे जिल्ला सबल बनाउँछ। त्यसैले स्वतन्त्र रूपमै प्रतिस्पर्धात्मक प्रणाली जाने योजना छ। भोटिङ मेसिन प्रयोग गर्छौं। चाँडो परिणाम आउनेछ। विस्तारै नेतृत्वलाई क्षमतावान् र प्रतिद्वन्द्वी पार्टीहरूसँग राजनीतिक, संगठनात्मक, वैचारिक सबै रूपमा प्रतिस्पर्धी बनाउनेछ। निर्वाचित हुने कमिटी १०५ जनाको हुनेछ। जसले काभ्रे जिल्लालाई राष्ट्रिय पहिचान दिन सक्ने वातावरण बनाउनेछ। स्थानीय बजेटले जिल्लाको विकास सम्भव छैन। संघीय, प्रदेश र स्थानीय सरकारको परिचालन गर्न सक्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय स्थितिलाई पनि सुधार गर्न सक्ने नेतृत्व निर्माण गर्नु परेको छ।

अघिल्लो अधिवेशनमा यस्तै प्रतिस्पर्धी छानिएका थिए तर पलायन भएको अवस्था छ नि ? अबको फरक हुन्छ कि ?
राजनीति जनताका लागि गर्ने हो। व्यक्तिको स्वार्थका लागि गर्ने हो भने समाजले बिर्सन्छ। राजनीतिमा वर्गप्रति इमानदार हुनुपर्छ। इमानदारिता छोडेर व्यक्तिगत स्वार्थमा हिँडे सबैथोक बिग्रन्छ। कहिलेकाहीँ समाजलाई हितकर हुन सक्छ भनेको मान्छे त्यस्तो नहुन सक्छ। कहिलेकाहीँ समाजले नेतृत्व चिन्न सक्दैन। कहिले नेतृत्वले समाज चिन्दैन। त्यस्तो परिस्थिति र परिवेशमा व्यक्तिगत स्वार्थ र सिंगो समाज रूपान्तरणको जिम्मेवारीबाट विचलित भएपछि के होला ? सानो होस् वा ठूलो मान्छे, आखिर बिग्रन्छ। कहाँनेर सचेत हुन जरुरी छ भने धन नहुँदाको मानिसको जुन जीवन पद्धति छ, धन भइसकेपछि फरक हुन्छ।

अहंकार र घमण्ड पैदा हुन सक्छ। कहिलेकाहीँ पद पाएपछि अहंकार पैदा हुन्छ। ज्ञान नहुँदाभन्दा ज्ञान प्राप्तिपछि अहंकार पैदा हुन्छ। तर अहंकारले पतनको बाटोमा पुर्‍याउँछ। हामीले प्राप्त गर्ने जनशक्ति, जनताको माया र विश्वास भनेको समाज रूपान्तरणको जिम्मेवारी हो। आदर्श पुरुषलाई जनताले विश्वास गरेको हुन्छ। त्यो आदर्श व्यक्ति बन्न सकेन भने ऊ स्खलित हुन्छ। कहिलेकाहीँ नेतृत्व ठीक छ भनेका हुन्छौं तर ठीक भएको हुँदैन। तर त्यो स्थिति नआओस् भन्ने हिसाबले अबको समयमा नेतृत्वको क्षमता र योग्यतालाई पहिचान गर्न सक्ने कार्यकर्ता छनोट गर्नु छ। जसले पहिचानसहितको नेतृत्व दिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.