गायक राजेश पायलमाथि दुर्व्यवहार गर्ने व्यक्तिले मागे माफी
काठमाडौं : गायक राजेश पायल राईलाई दुर्व्यववहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन्। अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका बेला राईमाथि दुर्व्यवहार गरेका दावाले माफी मागेका हुन्।
कन्सर्ट आयोजकलाई राखेर दुर्व्यवहार गर्ने दावाले खादा ओढाएर गायक राईसँग माफी मागेका हुन्। उनले आफू गायक राईको ठूलो प्रशंसक रहेको र अन्जानमा गल्ती भएको स्वीकार गरेका छन्। माफी मागेपछि राईले मान्छेबाटै गल्ती हुने भन्दै माफी दिएको बताएका छन्।
‘अस्तिको घटनाबारे उहाँले माफी मागिसक्नु भएको छ’, गायक राईले भनेका छन्, ‘सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु, मैले उहाँलाई माफी दिएको छु।’
देश बाहिर रहेकाले आ–आफ्नो कर्म गर्नुपर्ने बताउँदै गायक राईले अब गल्ती नगर्न आग्रह गरेका छन्।
‘मैले आम माफी दिइसकेको छु। उहाँले खुट्टै ढोग्छु पनि भन्नुभयो। तर पर्दैन मेरा फ्यानहरूलाई अब उप्रान्त उहाँलाई गाली गलौज नगरिदिनुहोला’, गायक राईले भने, ‘मेरो शीर ढलोस्, नेपाली गीतसंगीत र नेपाल कहिल्यै नढलोस्।’
गत डिसेम्बेर ३१ मा गीत गाइरहेका गायक राईको सामाजिक सञ्जालमा लाइभ भइरहेको थियो। त्यही बेला पछाडिबाट आएर भएको दुर्व्यवहारको चौतर्फी चर्को आलोचना भएको थियो।