व्यावसायिक खेतीमा रौतामाईका किसान
उदयपुर : परम्परागत खेतीले परिवार धान्न नसकेपछि उदयपुर रौतामाईका अधिकांश किसान वैकल्पिक खेतीमा लागेका छन्। यहाँका धेरै किसानले हावापानी र माटो सुहाउँदो एकीकृत व्यावसायिक नगदेबाली थालेका हुन्। पोखरी, रौता, लाफागाउँ, नामेटार, आँपटार र भुट्टार गाउँमा यातायात सञ्चालन हुन थालेको छ। यसले गाउँको उत्पादन बजार लैजान सहज भएको छ।
गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार कागती, अलैंची, चिया, सुन्तला, तेजपात, आलु, अम्लिसो, किबीलगायतका व्यावसायिक खेती गर्ने बढेका हुन्। ‘माटो परीक्षण गरेर प्राविधिकको सल्लाहअनुसार खेती हुने भएकाले परम्परागत अन्नबालीको तुलनामा नगदेबालीबाट तेब्बर बढी आम्दानी हुन थालेको छ,’ रौतामाई–८ का किसान रुद्र मगरले भने,’ ‘मैले पाँच वर्षदेखि २० रोपनीमा व्यावसायिक कागती खेती गरिरहेको छु।’
६ नं वडाका गंगा मगर सात वर्षदेखि चियाखेती गरिरहेका छन्। उनी भन्छन्, ‘धान कोदोभन्दा चिया, कागती, सुन्तलाको आम्दानी निकै छ।’ प्राविधिक दृष्टिकोणले समेत यहाँको अधिकांश जमिन नगदेबालीका लागि उपयुक्त छ। गाउँपालिकाले माटो, हावापानी र मौसमअनुसारका कृषिजन्य नगदेबाली उत्पादन गर्न प्रोत्साहन गर्दै आएको कृषक वीरबहादुर मगरले बताए। मगर सात वर्षयता तेजपातको व्यावसायिक खेती गरिरहेका छन्। वर्षको पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको उनले सुनाए।
‘कृषकलाई व्यावसायिक खेतीमा आकर्षित गरेर आर्थिक अवस्था सुधार्ने लक्ष्य लिएका छौं,’ गाउँपालिका अध्यक्ष खड्का भन्छन्, ‘लगानी र व्यवसाय हेरेर २० हजारदेखि एक लाख रुपैयाँसम्म अनुदान दिने नीति छ।’ चारोका रूपमा प्रयोग हुने सिस्नो, करेला, फर्सीलगायत उत्पादनले समेत प्रशस्त बजार पाउन थालेको किसान बताउँछन्। किसानलाई उत्साह जगाउने गाउँपालिकाको नीति आएपछि विदेशीने युवा पनि घटेको उपाध्यक्ष कुमारी ठकुरीले बताइन्। ‘उत्पादन गरेका वस्तुले बजार नपाउँला भन्ने चिन्ता छैन। गाउँपालिकाले बजार खोज्न पनि सहयोग गर्छ,’ उनले भनिन्, ‘केही गर्न खोज्ने किसानलाई गाउँमा अवसरै अवसर छ।’