वालिङमा बायोग्यास र कम्पोष्ट मल उत्पादन सुरु
स्याङ्जा : घरको सेफ्टी ट्ंयाकी भरिएपछिको भोग्नुपर्ने हैरानीबाट अब वालिङ्वासी मुक्त हुनेभएका छन् । वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो ब्यवस्थापन प्लान्ट सञ्चालनमा ल्याएपछि वालिङ दुर्गन्ध र तनावमुक्त हुने भएको हो । नगरपालिकालाई ६ हजार ५ सय रुपैंया बुझाएपछि सेफ्टी ट्ंयाकी सफा गरिन्छ । यस अन्र्तगत दिसापिसाब, नुहाउने, धुवाउने लगायतका पदार्थको मिसावट पर्छन् ।
पालिकाले दिसाजन्य लेदो ब्यवस्थापनगरी बायोग्याँस र कम्पोष्ट मल बनाउनुका साथै त्यहाँबाट निस्कने पानीलाई प्रशोधनगरी पुनः प्रयोग गर्न सकिनेगरी प्लान्ट संञ्चालनमा ल्याइएको नगरप्रमुख दिलिपप्रताप खाँणले बताए ।
‘एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिका तहमा सञ्चालनमा आएको यो प्लान्ट नेपालकै पहिलो हो ।’ उनले भने, ‘पानीलाई भने खेतबारीमा सिँचाईका रुपमा प्रयोग गर्न सकिनेछ ।’
नेपाल नगरपालिका संघको समन्वयमा एन्फोको प्राविधिक डिजाइन, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा एकीकृत फोहर व्यवस्थापन कार्यक्रम अन्तर्गत प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याईएको सामाजिक विकास समितिका संयोजक युगमाया पंगेनीले जानकारी दिईन् ।
दिसापिसाब संकलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया नै सरसफाइ प्रणाली हो । यि प्रणाली अन्तर्गत संकलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित ब्यवस्थापन रहेको नगरपालिकाका ईञ्जिनियर दिपेन्द्र मल्ल भन्छन् ।
घर-घरमा रहेका सेफ्टी ट्ंयाकी भरिएपछि ट्याङ्कर खोज्नु निकै कठिन हुन्छ । बाक्लो बस्ती भएकाले जताततै फाल्न र विर्सजन गर्न पनि मिल्दैन । दिसापिसाबजन्य पदार्थ दुर्गन्धित भएकाले जो कोहीले यस्ता काम गर्न खोज्दैनन् बढि खर्चिलो हुने गरेकोमा नगरपालिकाले सहज बनाएको भन्छन्, नगरबासी बिष्णु थापा ।
वालिङ् नगरपालिका-१स्थित मजुवामा निर्मित प्लान्ट झण्डै २ वर्षअघि देखि निर्माण सुरु भएको हो । विभिन्न दातृ संस्थाहरुको ६७ लाखको लागतमा प्लान्ट निर्माण भएको हो ।
नगरपालिकाले फोहरमैंला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट काम गरेको भन्दै पटक पटक पुरस्कृत हुँदै आएको छ । पालिकाले फोहोर ब्यवस्थापनबाट वर्षेनी लाखौं रुपैंया आम्दानी समेत गर्छ । फोहोरमैलालाई वर्गिकरण गर्दै कुहिने, नकुहिने र शिशाजन्य बस्तुमा बिभाजन गर्दै बिक्रीबितरण गर्ने गरेको छ ।
नगरपालिकाले घरघरमा ट्याक्टर पठाएर यि ३ प्रकारका फोहोरमैला छुट्टाछुट्टै दिनमा संकलन गर्दै आएको जनाएको छ ।