जलवायु परिवर्तनको असर : ९० प्रतिशत मह उत्पादन घट्यो
जाजरकोट : जिल्लाको नलगाड नगरपालिका-१, कल्पतका हरीबहादुर बुढाले गत वर्ष आठ सय ७५ किलोग्राम मह विक्रीबाट पाँच लाख बढी आम्दानी गरेका थिए । तर यसपालि मह उत्पादन नभए पछि उनी निरास भएका छन । त्यस्तै गत वर्ष तीन सय केजी भन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका हरीबहादुर पुनको ६० घार मौरीले २० केजी मह पनि लगाएनन् । पुनले व्यवसायी रुपमा मौरी पालन गर्दै आएका छन् । तर आम्दानी घटेपछि उनी निरास छन् । बुढा र पुन केही प्रतीनिधि उदाहरण मात्र हुन । जिल्लाभर एक हजार एक सय भन्दा बढी किसानको समस्या उस्तै छ । व्यवसायिक रुपमा मौरीपान गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् ।
गत असोज कात्र्तिक महिनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा जिल्लाभर मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।
मौरीलाई चरन क्षेत्रको अभाव, बनविनास, अतिक्रमण, जलवायु परिवर्तन लगायत कारण मह उत्पादन घट्दै गएको हो । बेमौसमी वर्षातले मौरी क्षेत्रका चिउरी र अन्य सिजनल फूलहरुमा पानी जम्मा भएर रस बगाएर लग्नु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधीक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नु लगायत समस्याले मह उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए । उनले भने–‘मौरी पालन क्षेत्रमा विषादी प्रयोग बढ्दै जानु, मौरी गोलालाई अरिङ्गाल लगायतका शिकारी जीवबाट आक्रमण हुनु, जलवायु परिवर्तनका कारण समयमा फूलहरु नफूल्नुले मह उत्पादन घटेको हो ।’
गतवर्ष प्रति केजी ६ सय मूल्य पर्ने मह यो वर्ष एक हजार रुपैया प्रतिकेजी हाल्दा पनि नपाउने अवस्था छ । उत्पादन घट्दा मुल्य बृद्धी भएको छ । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निरास भएका छन् । सरकारले केही वर्ष देखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मौरी जोन मार्फत किसानलाई अनुदान तथा प्राविधिक सहयोग गदै आएको छ । तर मह उत्पादन भने बढ्नुको साटो घट्दै गएको छ ।
जाजरकोटमा करीब गत वर्षतिर करीब १० टन अर्थात १० हजार केजी मह उत्पादन हुने गरेकोमा यसवर्ष ९० प्रतिशत घटेर एक टन अर्थात एक हजार केजीको हाराहारीमा मात्र मह उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी नेपालीले बताए । उनका अनुसार जिल्लामा परम्परागत घार चार हजार दुई सय दुई, आधुनिक घार एक हजार नौ सय ४६, खोपे अर्थात घरको भित्तामा एक हजार ८४ गरी सात हजार हजार दुई सय २६ वटा घार रहेका छन् । यी घारमा करीब ९१ हजार चार सय २३ केजी अर्थात ९१ टन मह उत्पादन क्षमता रहेको भएपनि जलवायु परिवर्तनका कारण हरेक वर्ष मह उत्पादन घट्दो क्रममा रहेको निमित्त कार्यालय प्रमुख रबिन धितालले बताए ।