अपांगताले छेक्दैन उद्यमी बन्न
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका—१० बोक्सेकी २९ वर्षीया कल्पना नेपालीले बाँसको मुढा बनाउन थालेको दुई वर्ष भयो। सवारी दुर्घटनामा दुवै खुट्टा गुमाएपछि नेपालीले घरेलु तथा साना उद्योग कार्यालय उदयपुरबाट मुढा बनाउने सीप सिकेर यो व्यवसाय थालेकी हुन्।
मुढा बनाउँदा मनग्ये आम्दानी हुन थालेपछि उनी व्यावसायिक रूपमा अगाडि बढाउने सोचमा छिन्। उनले बनाएको मुढा गाईघाट बजारमा दुईदेखि तीन हजारसम्म बिक्री हुने गरेको छ। मासिक ३० हजारसम्म कमाइ हुने गरेको उनले सुनाइन्। उनको त्यहीँ आम्दानीबाट घर खर्च चलेको छ। कल्पनाले जस्तै त्रियुगा नगरपालिका—११ गाईघाटकी शान्ता परियार चार वर्षदेखि ढाकाको टोपी उत्पादन गर्छिन्। सात वर्षअघि प्यारालाइसिसले दुवै खुट्टाले काम नगरेपछि उनले यो पेसामा हात हालेकी हुन्। उनी भन्छिन्, ‘प्यारालाइसिस भए पनि हिम्मत हारिनँ, विस्तारै ढाकाको टोपी बनाउने काम सुरु गरेँ र सफल भएँ।’
ढाकाको टोपीबाट मासिक २५ हजारसम्म कमाइ हुने गरेको उनको अनुभव छ। हातबाट बुनेका ढाका टोपीको माग बजारमा धेरै छ। बुट्टा हेरेर एक हजारदेखि चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनी सुनाउँछिन्। सिजनमा राम्रो मूल्य पाउने गरेको ढाकाटोपी तिहारमा मात्रै करिब तीन लाखको व्यापार भएको उनले बताइन्। उनी भन्छिन्, ‘कोरोनाले गर्दा लामो समय बन्दाबन्दी भयो विगतभन्दा यो वर्ष व्यापार घटेको छ।’ ढाकाटोपीको मुख्य सिजन तिहार हो। तर, यस वर्ष सोचेअनुसार व्यापार हुन सकेन।
गाईघाट बजारकी शारीरिक अपांगता भएकी शान्ता चौधरी पनि ऊनी र ढाकाका सामग्री बनाउँछिन्। उच्च रक्तचापका कारण प्यारालाइसिसबाट देब्रे खुट्टा नचलेपछि घरमा बसेर समय खेर फाल्नुको साटो उद्यमीतर्फ आकर्षित भएकी हुन्। शारीरिक अशक्तताका बाबजुद पनि उनको हस्तकलामा राम्रै सीप छ। त्यहीँ सीपबाट मासिक ५०—६० हजार आम्दानी लिने गरेको उनी बताउँछिन्। उत्पादित वस्तुको बजार अभाव रहेको उनी सुनाउँछिन्।