पर्यावरण अभियन्ताको स्मृतिमा वृक्षारोपण
धनुषा : टिपेरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता ओमप्रकास महतो(दिलीप)को स्मृतिमा वृक्षारोपण गरिएको छ । दिलीपको दोस्रो स्मृति दिवसको अवसर पारेर शनिबार धनुषाको मिथिला नगरपालिका–५स्थित औरही सामुदायिक वनमा निर्माण गरिएको दिलीप बाटिका परिसरमा वृक्षारोपण गरिएको हो ।
यसअघि दिलिपको १३ औं दिनको पुण्यतिथिमा पूर्व राष्ट्रपति रामवरण यादव उक्त वनमा पुगेर वृक्षारोपण गरेका थिए । सोहि क्रममा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी वक्ताहरुले उक्त स्थानमा दिलिप चुरे बाटिका बनाउनुपर्नेमा जोड दिएका थिए ।
वन क्षेत्रमा निर्माण गरिएको दिलिप बाटिकाले चुरे संरक्षणमा टेवा पुग्ने ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानका सल्लाहकार समेत रहेका सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माको विश्वास छ ।
उक्त बाटिकामा दिलीपको दोस्रो स्मृति दिवसको पूर्वसन्ध्यामा शनिबार रुद्राक्ष, गुलमोहर, कटहरलगायतका १७ प्रजातिका विरुवा रोपिएको प्रतिष्ठानका अध्यक्ष संगम कुमारी महतोले बताइन् ।
जिल्ला वन कार्यालय धनुषाले उपलब्ध गराएको सम्पूर्ण विरुवा मिथिला वाइल्डलाइफ ट्रष्टको प्राविधिक सहयोगमा वृक्षारोपण गरिएको महतोले जानकारी दिइन् ।
पौष २५ गते दिलीप हत्याको दुईवर्ष पूरा हुँदैछ । सोहीको स्मृतिमा वृक्षारोपण गरिएको प्रतिष्ठानका सचिव फुलगेन महतो मगहीले जनाए । आईतबार श्रद्धाञ्जलीसभा, दिप प्रज्वलनलगातका विभिन्न कार्यक्रम गरी दिलीपको दोस्रो स्मृति दिवस मनाइने उनले बताए ।
चुरे तथा पर्यावरणको क्षेत्रमा पौष २५ गतेलाई कालो दिनको रुपमा मनाउनुपर्ने चुरे अभियानीहरु बताउँछन् ।
२५ पौष २०७६ मा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए । दिलिपलाई कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो । हत्या गरेको आरोपमा क्रसर सञ्चालकसहित तीन जना पूर्पक्षका लागि कारागारमा छन् ।
हत्या गरिएका पर्यावरण अभियन्ता दिलिपको सम्झनामा प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानले चुरे तथा पर्यावरण संरक्षणका निम्ति काम गर्दै आएको छ । प्रतिष्ठानलगायत जनमानसबाट उठेको दिलिपलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग सरकारले बेवास्ता गर्दै आएको छ ।