अल्ट्राट्रेलरेस विजेता सुनमायालाई सम्मान
सुर्खेत : हालै थाइल्याण्डमा सम्पन्न अल्ट्राट्रेलरेस प्रतियोगितामा उत्कृष्ट नतिजा हातपार्न सफल धाविका सुनमाया बुढालाई सम्मान गरिएको छ। उनलाई कर्णाली प्रदेश सरकार र कर्णाली प्रदेश खेलकुद परिषदले सम्मान गरेका हो। उनी हालै थाइल्याण्डमा भएको एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा समग्रमा तेस्रो र महिलातर्फ पहिलो भएकी थिइन्।
जुम्लाको पातारासी गाउँपालिका घर भएकी उनी सोमबार वीरेन्द्रनगर आएकी हुन्। सोहीक्रममा विजेता सुनमायालाई खेलकुद परिषद्का पदाधिकारीहरुले सुर्खेत विमानस्थलमा भव्य स्वागत गरेका थिए। यस्तै प्रतियोगितामा उत्कृष्ट नतिजा हात पारेको भन्दै प्रदेश सरकारले पनि उनलाई सम्मान गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नै कार्यालयमा धाविका सुनमायालाई प्रदेश सरकारको तर्फबाट सम्मान गरेका हुन्।
मुख्यमन्त्री शाहीले सम्मान गर्नुअघि सुर्खेत विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म सुनमायालाई नागरिक सम्मान गरिएको थियो। थाइल्याण्डमा भएको ११० किलोमिटर लामो अल्ट्राट्रेलरेस प्रतियोगितामा जुम्लाकी सुनमायाले दुई हजार प्रतियोगीलाई पछि पारेकी थिइन्। त्यसक्रममा उनले समग्रमा तृतीय र महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन्।
दौड विजेता सुनमायाको यही सफलताले नेपाल र मुख्यगरी कर्णालीको प्रतिष्ठा बढेको भन्दै प्रदेश सरकारले उनलाई सम्मान गरेको हो। सुनमायालाई सम्मान गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन गर्ने र आवश्यक खेल पूर्वाधारमा लगानी गर्ने बचन दिएका छन्।
कर्णालीमा धेरै प्रतिभाहरु रहेको भन्दै मुख्यमन्त्री शाहीले भने, ‘सुनमायाको सफलताले देशको नाम उच्च बनेको छ, कर्णालीका अन्य प्रतिभालाई पनि उत्प्रेरित गरेको छ। हामी यहाँका खेलाडीलाई थप प्रोत्साहन गर्न तयार छौं, सरकारले खेलकुदका पूर्वाधारमा पनि लगानी बढाएको छ।’
मुख्यमन्त्री शाहीले कर्णालीमा गौरवको आयोजनाको रुपमा प्रदेश रंगशाला निर्माणको काम थालिएको बताए। नेपालमै पहिलो पटक कर्णालीमा भलिबल कभर्डहल निर्माण पनि सुरु भएको मुख्यमन्त्री शाहीले जानकारी दिए। खेलाडीलाई आर्थिक पुरस्कारको पनि कमी हुन नदिने मुख्यमन्त्री शाहीको भनाइ छ।
प्रदेश सरकारले सुनमायालाई दुईलाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। यसले अन्य खेलाडीहरुलाई पनि उत्प्रेरणा मिलेको खेलकर्मीहरु बताउँछन्। पछिल्लो समय प्रदेश सरकारले खेलकुदमा लगानी बढाउन थालेको छ। त्यसैगरी हालै बंगलादेशको ढाकामा भएको भलिवल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी जाजरकोटकी कामना विष्टलाई पनि प्रदेश सरकारले ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलका अनुसार प्रदेश सरकार स्थापना भएको दिन वा अन्य कुनै अवसर पारेर पुरस्कार प्रदान गरिने छ।