कर्णालीमा उच्च सतर्कता : नाकामा कोरोना परीक्षणपछि मात्रै प्रवेश दिइने
सुर्खेत : कोरोना संक्रमणको त्रास बढेसँगै कर्णालीमा उच्च सतर्कता अपनाइएको छ। संक्रमण फैलिन नदिन प्रदेश सरकारले प्रदेश भित्रिने नाकाहरुमा चेकजाँच सुरु गरिएको जनाएको छ। संक्रमणको तेस्रो लहर फैलिन नदिन खोप अभियान र अक्सिजन उत्पादनलाई प्राथमिकता दिँदै उच्च सतर्कता अपनाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेशमा संक्रमण रोक्ने पूर्वतयारी स्वरुप अक्सिजनको आपूर्ति, प्लान्ट सञ्चालन, कोरोनाविरुद्धको खोप र सचेतनामूलक अभियानलाई तीव्र पारिने मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । ‘महामारीको तेस्रो लहर फैलिने खतरा बढेको छ, अब अक्सिजन र आइसीयु अत्यावश्यक हुनसक्छ,' उनले भने, ‘संक्रमण फैलिन नदिन हामीले उच्च सतकर्तासहित आवश्यक योजना बनाउन थालेका छौँ ।’
अक्सिजन आपूर्तिलाई सहज बनाउनका लागि अक्सिजन उत्पादन थाल्न र निर्माणाधिन प्लान्टलाई पनि चाँडै सञ्चालनमा ल्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ । हाल सुर्खेतमा तीन, रुकुमपश्चिम दुई, कालिकोटमा एक र जुम्लामा दुईवटा अक्सिजन प्लान्ट छन् । त्यस्तै दैलेख र जाजरकोटमा पनि अक्सिजन प्लान्ट छन् । यद्यपी प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बाहेकका अस्पतालमा भने हाल नियमित रुपमा अक्सिजनको उत्पादन छैन । यसकारण पनि प्रदेश सरकारले सबै जिल्लामा अक्सिजन उत्पादन गर्न निर्देशन दिएको हो ।
त्यस्तै तेस्रो लहर फैलिनु अघि नै प्रदेशका सबै नागरिकलाई खोप लगाउने लक्ष्य प्रदेश सरकारले लिएको छ । जसका लागि अहिले खोप अभियानलाई पनि तीव्र पारिएको छ । यसअघि सञ्चालनमा रहेको जिल्ला र कोरोना विशेष अस्पतालाई तयारी अवस्थामा राखिएको छ । हप्ता दिनभित्र कार्ययोजना नै बनाएर कोरोनाविरुद्धको प्रतिकार्य थाल्ने प्रदेश सरकारको तयारी छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली भित्रिने मुख्य नाकाहरूमा कोरोनाको परीक्षणपछि मात्रै नागरिकलाई प्रवेश दिइने बताए । प्रदेशमा ओमिक्रोनको लहर फैलिन नदिन परीक्षणपछि मात्रै नागरिकलाई प्रवेश दिइने उनको भनाइ छ ।
मुख्य नाकाहरु सुर्खेतको कुइने, बबई र सल्यानमा कोरोना परीक्षणको व्यवस्था मिलाउने मुख्यमन्त्री शाहीले जानकारी दिए । नाकामै कोरोना परीक्षणको व्यवस्था मिलाउन सर्खेतको कुईनेमा अस्पताल सञ्चालन गरिएको छ ।
बबइबाट आउनेहरुका लागि छिन्चुमा क्वारेन्टाइन बनाउन थालिएको प्रदेश सरकारले जनाएको छ । सुर्खेतसहित सल्यान, जाजरकोट, रूकुमपश्चिम र डोल्पामा अक्सिजनको अभाव हुन नदिनका सुर्खेतको मेहल कुनामा प्रदेशकै ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको मुख्यमन्त्री शाहीले बताए ।
यस्तै, प्रदेश अस्पताल सुर्खेतले भेण्टीलेटर सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी गरेको छ । महामारीको तेस्रो लहर फैलिदा भेण्टिलेटर अत्यावश्यक हुनसक्ने भन्दै अस्पतालले यसको सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिन लागिएको बताइएको छ ।
अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारीको स्थायी पदपूर्ति नभए पनि करारमा भर्ना गरिएको छ । दुईवटा अक्सिजन प्लाण्ट रहेको यो अस्पतालमा ३० आइसीयु, ३५ एचडीयु र ६५ सामान्य बेड छन् । दुईवटै प्लाण्टबाट दैनिक एकसय ४० वटा सिलिण्डर भर्ने क्षमता छ ।