एमाले उदयपुरको एक नोट अभियान
उदयपुर : नेकपा एमाले उदयपुरले कार्यकर्ता संरक्षणका लागि १ नोट अभियान सञ्चालन गर्ने भएको छ। आठौँ अधिवेशनबाट निर्वाचित कमिटीले बिहीबार सदरमुकाम गाईघाटमा आफ्नो तीन वर्षे कार्यकालको कार्ययोजना सार्वजनिक गर्न पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा कोष स्थापना गरेको जनाएको हो।
तीन वर्षे कार्यकालमा कम्तिमा २० वटा बुँदामा काम गर्ने गरी तयार पारिएको कार्ययोजनामा कार्यकर्ताको उपचार र संरक्षणका लागि कम्तिमा १ करोड पुर्याउने लक्ष्यसाथ कोष स्थापना गरिएको जनाइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष परमेश्वर घिमिरेले कार्यकर्ता सामान्य बिरामी हुँदासमेत अरुको हात फैलाउनु पर्ने परम्पराको अन्त्य गर्न पहिलोपटक कोषको स्थापना गरिएको बताए। उनले भने,‘एक संगठित सदस्य बराबर प्रतिमहिना एक नोट जम्मा गर्ने गरी हामीले योजना बनाएका छौ, जुन तल्लो कमिटीसम्म पुग्नेछ।’ यसरी जम्मा भएको रकम कार्यकर्ता संरक्षणका लागि आवश्यकता र औचित्यका आधारमा खर्च गरिने उनले बताए। घिमिरेले टोल-टोलमा पार्टी, घर-घरमा सदस्यता अभियान सञ्चालन गरी ३० हजार संगठित सदस्य बनाउने, व्यवस्थित कार्यालय व्यवस्थित संरचना, व्यवस्थित संगठन, तीन महिनासम्म पार्टी प्रवेश अभियान सञ्चालन गरिने बताए।
पुस २३ गतेबाट सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनले पाँच दिन लगाएर घिमेरको अध्यक्षतामा सर्वसहमत १ सय १७ जनाको जिल्ला कमिटी गठन गरेको हो। अधिवशेनमा ९ सय ५१ जना प्रतिनिधि रहेका थिए। कमिटीको उपाध्यक्षमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालुमान लामा र उपसचिवद्धयमा भरतबहादुर थापा, टेकबहादुर राउत रहेका छन्।