कोभिडका बिरामी बढे : थन्किएको आईसियु र भेन्टिलेटर संचालनको तयारीमा
उदयपुर : दैनिक दुई दर्जनको संख्यामा कोभिड–१९ का बिरामी फेलापरेसँगै उदयपुरका कोभिड अस्पताल सञ्चालनको तयारी थालिएको छ। जिल्लास्थित कोभिड–१९ व्यवस्थापन समिति(डिसिएमसी)को शुक्रबार बसेको बैठकले यसअघि सञ्चालनमा रहेका अस्पतालाई पुनः सकृय बनाई उपचारलाई प्रभावकारी बनाउने निर्णयसँगै तयारी थालिएको हो।
डिसिएमसीको निर्णयसँगै उदयपुर अस्पतालमा जडान भई दक्ष जनशक्तिको अभावमा थन्कीएको आईसियु र भेन्टिलेटर सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मुकेश झाले बताए। त्यसैगरी मदन भण्डारी आँखा अस्पताल, चौदण्डिगढी नगरपालिकास्थित कोभिड अस्पताल र कटारी अस्पताललाई कोभिडका बिरामीको उपचार गर्ने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी तथा डिसिएमसीका संयोजक बिरेन्द्रकुमार यादवले बताए।
दोस्रो वर्षको कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाकासाथ गतवर्ष अस्पतालमा आईसियु र भेन्टिलेटर खरिद गरी जडान गरिएको थियो। रातारात प्रविधि जडान गरेपनि सम्बन्धित निकायले दंक्षजनशक्ति पठाउन नसक्दा सञ्चालनमा आउन सकेको थिएन।
जटिल खालका कोभिड संक्रमित बिरामीलाई बिराटनगर, धरान र काठमाडौं रिफर गर्दा खर्चालु र झन्झटिलो हुनुका साथै अधिकांशलाई बचाउन नसकिएपछि जिल्लामै आईसियु र भेन्टिलेटर सुविधाको तयारी त्यसबेला गरिएको उनले बताए ।
प्रदेश सरकारको १ करोड बजेटबाट आवश्यक सामग्री खरिदगरी अस्पतालमा आईसियु र भेन्टिलेटरका उपकरण जडानगरिए पनि पटक—पटकको प्रयासले पनि दक्ष जनशक्ति जुटाउन नसक्दा यन्त्र उपकरण सबै थन्केर बसेको अध्यक्ष परियारले बताए।
भर्खरै मेसु डा. झासहित ५ जना विशेषज्ञ(कन्सल्टेन्ट) चिकित्सकहरु सरुवा भई आएकाले सेवा संचालन गर्ने तयारी गरिएको उनले बताए। एक महिनायता अस्पतालमा प्रसुति विशेषज्ञ डा. झा, हाडजोर्नी विशेषज्ञ डा. सशिभुषण प्रधान, एनेथेसिया (बेहोस् पार्ने)द्वय डा. विशाल देव र कौशल तामाङ र जेनेरल फिजिसिएन डा. राहुल रौनियार सरुवा भई आएका छन् । ९ जना दरवन्दि रहेको अस्पतालमा हाल ८ जना विशेषज्ञ रहेका छन्।
अस्पतालका प्रशासन प्रमुख बृखबहादुर खत्रीले माथिल्लो तल्लाको कोठा प्रयोग गर्न नमिलेका कारण भुईतलामा रहेको ओपीडीकै दुईवटा कोठा आईसियुका लागि प्रयोगमा ल्याउन लागिएको बताए। आईसियु सञ्चालन सहज गर्न ओपीडी कक्षकै कोठाहरु प्रयोग गर्न लागिएको बताए।
त्यसबाहेक आईसियु सञ्चालन गर्न केही भौतिक उपकरण र नर्सिङ प्यारामेडिक (नर्स तथा एचए र अहेव) जनशक्ति पनि जुटाउनुपर्ने खाँचो रहेको बताए। हाललाई सामान्य तयारीका साथ आईसियु सञ्चालनमा ल्याउने र बिस्तारै बाँकी जनशक्ति र संरचनाको जोहो गर्दे अघि बढ्ने योजना रहेको उनले बताए।