दक्षिण भारतीय फिल्म ‘जय भिम’को चर्चा चीनमा
बेइजिङः दक्षिण भारतीय चलचित्र (फिल्म) जय भिमले चीनमा चर्चा कमाएको छ। सन् २०२१ मा बनेको नाटकीय चलचित्र जय भिमले पछिल्लो समय चीनमा चर्चा कमाएको हो।
जापानमा मारिएकी चर्चित चिनियाँ महिलाको वास्तविक जीवनसँग सो फिल्मको कथा मिलेको चिनियाँहरुले समीक्षा गरेका छन्। ती महिलाको मुद्दासँग चलचित्रमा भएको कथावस्तु मिलेकाले चिनियाँहरुले जय भिम रुचाएको हुनसक्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
चीनको प्रमुख मिडिया रिभ्यु प्लेटफर्म डौवानले सो फिल्मलाई १० मा ८.७ अंक दिएर सकारात्मक समीक्षा गरेको छ। डौवानमार्फत् करिब २० हजार चिनियाँ दर्शकले सो फिल्मप्रति सकारात्मक समीक्षा गरेको बताइएको छ ।
टीजे नानाभेलको निर्देशन रहेको सो फिल्ममा अभिनेता सुरिया र लिजोमोल जोसको मुख्य भूमिका रहेको छ। सो फिल्मको कथावस्तु सन् १९९३ को वास्तविक कथामा आधारित छ।