जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना
जाजरकोट : जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना गरिएको छ। सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालयले उक्त कक्ष सञ्चालनमा ल्याएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवती लगाएतलाई टेवा पुग्ने बताए। सचेतना अभावमा विदेश जानेहरुले धेरै दुख पाउनु परेको छ। विदेश जानुपूर्व केही जानकारी हासिल गरेर मात्र विदेश जानु पर्ने प्रजिअ देवकोटाले बताए।
वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संथागत पहल, आवश्यक प्रमाणहरु सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अवलम्वन, क्षतिपूर्ति र विदेशमा सम्पर्क र समन्वय लगाएत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानु पर्ने देवकोटको भनाइ छ।
सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ। टेलिभिजन मार्फत वैदेशिक रोजगारी सम्वन्धी सचेतना मुलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ। वैदेशिक रोजगारीमा जानेले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिन सजिलो हुने अपेक्षा गरिएको छ।