चिसो बढ्यो : बालबालिका र जेष्ठनागरिकलाई न्यानो कपडा
उदयपुर : बाक्लो हुस्सु र चिसो बतासले बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्यमा असर पुग्न थालेपछि उदयपुरको त्रियुगा नगरपालिक—१२ ले न्यानो कपडा वितरण सुरु गरेकोछ। केही दिन यता दिनभरजसो हुस्सु लाग्ने र चिसो बतास चल्न थालेपछि बालबालिका र जेष्ठ नागरिक जोगाउन वडा कार्यालयले दलित तथा मुसहर बस्तिलाई लक्षितगरी न्यानो कपडा वितरण गरेको हो।
वडाध्यक्ष जयविक्रम राईका अनुसार वडा भित्रका सोनापुर र विसनपुरका विपन्न दलित, मुसहर बस्तिका १ सय ५० जना बालबालिकालाई घर—घरमै पुगेर न्यानो कपडा वितरण गरिएको हो। विपन्न दलित, अनाथ, असाह्य बालबालिकालक्षित कार्यक्रमबाट १ लाख रुपैयाँको लागतमा जाडोमा लगाउने कपडा खरिदगरी वितरण गरिएको उनले बताए।
त्यसैगरी चिसोबाट बचाउन जेष्ठनागरिक लक्षित कार्यक्रमबाट १ लाख रुपैयाँको न्यानो कपडा ब्ल्यान्केट खरिदगरी वितरण गरिएको वडासचिव निरु कार्कीले बताईन्। वडाभित्रका करिब ३ सय जेष्ठ नागरिकमध्ये आर्थिक अवस्था कमजोर भएका २ सय जनालाई ब्ल्यान्केट वितरण गरिएको उनले बताईन्।
जाडो बढेसँगै जेष्ठ नागरिक र बालबालिका धमाधम बिरामी हुन थालेपछि जोगाउन न्यानो कपडा वितरण गरिएको सचिव कार्कीको भनाई छ। उनले भनिन, ‘चिसोकाकारण बालबालिका र जेष्ठनागरिक रुघाखोकी, ज्वरो आएर घर भित्र बस्न बाध्य भएको टोल विकास संस्थाहरुबाट जानकारी आएपछि जनप्रतिनिधिहरुको अनुगमन पछि न्यानो कपडा वितरण गरेका हौ।’
सदरमुकाम आसपासका क्षेत्रमा बाक्लो हुस्सु लाग्न थालेपछि सर्वसाधरण घर बाहिर निस्कन सकेका छैनन्। न्यानो कपडाको अभावमा घर भित्रै आगो तापेर बस्न बाध्य भएका छन्। स्थानीय सरकारले जेष्ठनागरिक र बालबालिकालाई लक्षितगरी कार्यक्रमहरु अघि सार्न निर्देशन दिएसँगै वडाहरुमा धमाधम न्यानो कपडा वितरण सुरु गरेका हुन्।