प्रदेश १ का १३ जिल्लामा बुस्टर डोज खोप प्रभावित
उदयपुर : प्रदेश १ मा कोभिड–१९ लक्षित बुस्टर मात्रा खोप कार्यक्रम प्रभावित बनेको छ। खोप मौजादको अवस्थाको विश्लेषण नै नगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हचुवाकोभरमा निर्णय गर्दा खोप कार्यक्रम प्रभावित बनेको हो।
मन्त्रीको निर्णयसँगै खोप लगाउन पुगेका सर्वसाधरण स्वास्थ्य संस्थाबाट त्यसै फर्किएका छन्। खोप नै नलगाई फर्किनु परेपछि कतिपय ठाउँमा सर्वसाधरणले आक्रोश नै पोखेका छन्। सर्वसाधरणको आक्रोश बढ्न थालेपछि प्रदेश १ को सुनसरी जिल्ला स्वास्थ्य कार्यालयले वुस्टर डोजको लागि खोप प्राप्त भएपछि सार्वजानिक सूचना दिईने छ भन्दै सामाजिक संजालबाट जानकारी दिएको छ।
प्रदेश १ का स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले प्रदेश १ का १४ जिल्ला मध्ये उदयपुरमा मात्र बुस्टर मात्राको खोप लगाउन ४ गतेबाट लगाउन सुरु गरिएको बताए। बाँकी १३ जिल्लामा बुस्टर डोज उपलब्ध नभएपछि जोनसोन र भेरोसिलको दोस्रो खोप लगाउन सुरु गरिएको उनले बताए।
उनले भने, ‘उदयपुरमा पहिलोचरणमा खोप लगाउने सबैका लागि पुग्ने मौजाद देखिएकाले लगाउन सुरु गरिएको हो, बाँकी १३ जिल्लामा खोप नै छैन्, माथिबाट आएकै छैन्।’ विभागले माघ २ गतेबाट बुस्टर मात्राको खोप लगाउन परिपत्र गरेपनि हालसम्म खोप नै उपलब्ध नभएकाले लगाउन नसकिएको उनको भनाई छ।
श्रेष्ठले भने, ‘खोप मौजाद भएकैकारण तोकिएको २ गते नसकिएपनि उदयपुरमा ४ गतेबाट सुरु भयो, बाकी जिल्लाका लागि बुधबार खोप लिन विभाग पठाएका छौ, आएपछि लगाउन सुरु गर्छौ।’ मन्त्री र विभागबीचको समन्वयको अभावमा निर्धारित मितिमा खोप लगाउन नसकिएको उनले स्वीकारे।
‘हामीसँग दंक्ष जनशक्ति छ, त्यही किसिमका संरचना पनि छ तर लगाउनु पर्ने खोप नै नभएपछि कसरी सुरु गर्ने ?’ प्रश्न गर्दै उनले भने, ‘निर्णयपूर्व एकपटक विभागसँग समन्वय भएको भए यस्तो समस्या हुँदैन थियो।’ बुस्टर मात्राको खोप प्रदेश नम्बर १ मा पहिलोचरणमा ३ लाखको हाराहारीमा खर्च हुने उनको भनाई छ।
त्यसमध्ये उदयपुरमा ७ हजार ७६ डोज खर्च हुने स्वास्थ्य कार्यालय उदयपुरका खोप शाखाका प्रमुख चिरन्जिवी निरौलाले बताए। ७ हजार भेरोसिल र २ हजार १ सय कोभिसिल्ड गरी ९ हजार १ सय खोप मौजाद रहेको मध्ये भेरोसिलका ५ हजार ७६ र कोभिसिल्डका २ हजार जनाले पहिलोचरणमा बुस्टर मात्राको खोप लगाउने तयारी गरिएको उनले बताए। बाकी २ हजार २४ डोज माघ १४ गतेदेखि दोस्रोचरणमा खर्च गरिने उनले बताए।
पुस २८ गतेको मन्त्रीस्तरीय निर्णय भन्दै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतले पुस ३० गते ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थय कार्यालयलाई वुस्टर मात्रा खोप दिन परिपत्र गरेकी थिईन्।
परिपत्रमा भनिएको छ ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८ पुस २८ को मन्त्री स्तरीय निर्णयअनुसार २०७८ माघ महिनाको पहिलो हप्ता (२ गते) देखि अग्रपंतिमा खटिने व्यक्ति र दोस्रो साता माघ १४ देखि ६० बर्ष र माथिका नागरिकलाई कोभिड–१९ विरुद्धको पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाईसकेका साथै ६ महिना पूरा भईसकेका नागरिकलाई बुस्टर मात्रा लगाउन आवश्यक व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ।’