उदयपुरमा १ सय ४३ जनामा कोरोना संक्रमण
उदयपुर : उदयपुरमा कोरोना भाइरस समुदायस्तरमा नै फैलिएको छ। संक्रमण पहिचानका लागि जिल्लाका ८ वटै स्थानीय तहले स्वास्थ्य संस्थामार्फत पछिल्लो ६ दिनयता २ सय १९ जनामा गरिएको परीक्षणमा १ सय ४३ जनामा संक्रमण देखापरेको हो।
जिल्ला स्वास्थ्य कार्यालयले तयार पारेको तथ्यांकअनुसार संक्रमित मध्ये ४९ जना महिला र बाँकी सबै पुरुष छन्। विरामी भएर आएकाहरुको कोरोना परीक्षण गर्दा जिल्ला अस्पतालमा २१ महिला र ४३ पुरुषगरी ६४ जनामा संक्रमण देखिएको हो।
त्यसैगरी त्रियुगा नगरपालिकामा ११ महिला १६ पुरुषगरी २७ जना, कटारी नगरपालिकामा ६ महिला १५ पुरुषगरी २१ जना, उदयपुरगढी गाउँपालिकामा २ महिला ५ पुरुषगरी ७ जना, बेलका नगरपालिकामा ९ महिला १४ पुरुषगरी २३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरन्जिवी निरौलाले बताए।
उनीहरुसबै सकृय संक्रमित हुन्। उनीहरु मध्ये १ महिला र २ पुरुषगरी ३ जना कोभिड अस्पताल बेल्टारमा भर्ना भएका छन् भने बाँकी होमआईसोलेसनमा रहेको उनले बताए। यसबीचमा कोरोनाबाट उदयपुरमा एक जनाको ज्यान गईसकेको छ।
संक्रमण दर हेर्दा कोरोना समुदायस्तरमा नै फैलिएको हुन सक्ने अनुमान गरिएको छ। यता जिल्ला प्रशासन कार्यालयले भने भेला कार्यक्रमहरु सबै स्थगन गर्न आदेश दिएको छ।