कोहलपुर–सुर्खेत प्रसारण लाइनको हट्यो अवरोध
सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तार अगाडि बढ्ने भएको छ। स्थानीयको अवरोधका कारण काम प्रभावित भएको थियो। प्रशासन र संघर्ष समितिबीच मुआब्जाको विषयमा सहमति जुटेपछि स्थानीयको अवरोध हटेको हो।
कर्णालीमा सहज विद्युत् आपूर्तिको उद्देश्यसहित आयोजना निर्माण थालिएको हो। बाँकेको कोहलपुर–१ र ४ तथा सुर्खेत भेरीगंंगा नगरपालिकाका स्थानीयले जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने माग राखेका थिए। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल नेतृत्वको टोली र स्थानीय बासिन्दाबीच भएको छलफलमा पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको छ।
आयोजना विस्तार गर्दा भेरीगंंगा–१० मदानेचौर, ठानीचौर र झिलमिले क्षेत्रका ९ परिवारको जग्गा अधिग्रहणमा पर्दछ। त्यहाँ ९ वटा पोल निर्माण गर्नु पर्नेछ। आयोजनाले पोल निर्माण हुने स्थानका जग्गाधनीलाई मात्रै मुआब्जा दिने बताएको छ। विद्युत्को तार तानिने ठाउँको जग्गा धनीलाई समेत मुआब्जा दिनुपर्ने अडान स्थानीयको छ।
यही कारण छिन्चु क्षेत्रमा फाउन्डेसन निर्माण हुन सकेको छैन। अब प्रशासनले आफूहरूका माग सम्बोधन गर्ने र क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउने बताएपछि सहमति भएको संघर्ष समितिका संयोजक पूर्ण नकालले बताए। कुल ७० परिवार प्रभावित हुन्छन्। वीरेन्द्रनगर–११ मा भने १३ जना व्यक्तिको जग्गा अधिग्रहणमा पर्नेछ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि कोहलपुर–सुर्खेत विद्युत् लाइन प्रसारण लाइन विस्तारमा भइरहेको ढिलासुस्तीको विषयमा समन्वय गर्ने बताएका छन्। आयोजना विस्तारका क्रममा १३ हजार बढी
रुख काट्नु पर्नेछ।