सोलार लिफ्टमार्फत तीन गाउँमा सिँचाइ सुविधा पुर्याइदै
दैलेख : जिल्लाको आठबीस नगरपालिका-२ सिस्ने गाउँलाई कर्णाली राजमार्गले छिचोलेको छ। यो गाउँको तलपट्टी कर्णाली नदी बग्छ। नदी छेउमै रहेको सिस्ने गाउँ वर्षौदेखि सिँचाइ सुविधाबाट बञ्चित रहँदै आयो। सिँचाइ सुविधा नहुँदा कयौपटक स्थानीयले लगाएको तरकारी बारीमै सुक्यो। तर, वर्षौंसम्म नदीको पानी गाउँमा ल्याउने योजना बनेन्। सिँचाइ अभावले खेती गर्न समस्या भएपछि स्थानीय कृषकले समस्या समाधानका लागि पटक–पटक विभिन्न निकायसँग हारगुहारसमेत गरे। स्थानीयको हारगुहार बल्ल सुनुवाई भएको छ।
कर्णाली नदीको पानी सोलार लिफ्टमार्फत बस्तीमा ल्याएर गाउँमा सिँचाई सुविधा पुर्याउने गरी काम भईरहेको छ। डीसिए नेपालको सहयोगमा सोसेक नेपालमार्फत सञ्चालिन उत्थान र साकार परियोजना, आठबीस नगरपालिकाको संयुक्त लगानीमा सिस्ने गाउँमा सिँचाई सुविधा पुर्याउन लागिएको हो। परियोजनाको १८ लाख ९१ हजार, नगरपालिकाको दुई लाख ३९ हजार र स्थानीय उपभोक्ताको एक लाख ७८ हजार गरी २२ लाख ९८ हजार रुपैयाँ लागतमा सिस्ने गाउँमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको हो। योजनाबाट स्थानीय ६३ घरपरिवार कृषकले सिँचाइ सुविधा पाउनेछन्। गाउँमा पहिलो पटक सोलार लिफ्ट मार्फत सिँचाइ योजना निर्माण भएपछि सिँचाइका लागि सहज हुने स्थानीय बताउँछन्।
सिस्ने गाउँमात्र होइन, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कुजेडा गाउँपनि कर्णाली नदी छेउमै पर्छ। उक्त गाउँका स्थानीय वर्षौदेखि तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीका लागि भरपर्दो सिँचाई सुविधा भने छैन्। उक्त गाउँमा पनि सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको छ। परियोजनाको १२ लाख २६ हजार, नगरपालिकाको सात लाख ९३ हजार र स्थानीय उपभोक्ताको एक लाख ९९ हजार गरी २२ लाख आठ हजार रुपैयाँ लगानीमा कुजेडा बस्तीका लागि सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको छ। उक्त योजनाबाट स्थानीय ६० बढी कृषकहरुले सिँचाइ सुविधा पाउनेछन्।
सिस्ने र कुजेडा बस्तीसँगै दैलेखको दुल्लु नगरपालिका–२ बडापोखरामा पनि ३२ लाख ४० हजार रुपैयाँ लागतमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको छ। गाउँका ९८ कृषकलाई सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित निर्माण भईरहेको योजनामा परियोजनाको २२ लाख ५३ हजार, नगरपालिकाको सात लाख नौ हजार र स्थानीयको दुई लाख ७७ हजार रुपैयाँ लगानी रहेको सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए। सिँचाइ सुविधा पुगेपछि तीन वटै गाउँमा व्यवसायिक तरकारी खेती गर्ने कृषकहरु बढ्ने अपेक्षा गरिएको श्रेष्ठले बताए। अहिले तीन वटै गाउँमा सोलार लिफ्ट मार्फत सिँचाइ योजना निर्माणाधिन अवस्थामा रहेको श्रेष्ठले जानकारी दिएका छन्।