जाडोमा जेष्ठ नागरिकको पीडा : ‘अगेँनाको डिलमा आगो तापेर रात बित्छ’
उदयपुर : ‘६-७ वर्षअघि किनेको सिरक च्यातिएर छ्यान्द्रा-छ्यान्द्रा छ, जाडो धान्न नसकेपछि कैयौँ दिन अगेँनाको डिलमा आगो तापेर निन्द्रा पुर्याएको छु।’ रौतामाई गाउँपालिका-४ का शारिरिकरुपले अशक्त (अपांग) ७५ वर्षिया बृद्धा गुणबहादुर मगरले गाउँपालिकाले आयोजना गरेको न्यानो कपडा वितरणमा भावुक हुँदै भने।
उनी भन्छन्, ‘यति भए त यो वर्षको जाडो कटाउँछु होला।’ त्यसअघि थपे, ‘गरिब, अशक्त हुनु पनि केही रहेनछ, किन्ने पैसा छैन्, त्यसैले त्यहीँ छ्यान्द्रा–छ्यान्द्रा परेको सिरकले जाडो धान्दै आएको छु।’
अपांग उनी घरमा एक्लै बस्छन्। दुई भाई छोरा २० वर्षअघि नै छोडेर काठमाण्डौँ गएपछि भत्किएको सानो झुप्रो घरमा उनी बस्छन्। बुढेसकालमा छोरा र समुदाय कसैले नहरेको उनले गुनासो सुनाए। टालटुल गरेर बस्दै आएको घर पनि भत्किएकाले ओत लाग्नसमेत मुस्किल परेको उनले सुनाए।
मगरजस्तै अन्य धेरै जेष्ठनागरिकको उही गुनासो थियो। सिरक वितरण गर्ने खबर सुनेपछि वडा नम्बर ८ मा पुगेका रौतामाई गाउँपालिका ज्येष्ठ नागरिक संजालका अध्यक्ष छत्रबहादुर मगरले भने, ‘जाडोको बेला जेष्ठनागरिक बचाउन चर्को छ।’
‘घरमा परिवारसँग मिलेर बसेकाहरुको त त्यहीँ पनि ठिकै छ,’ उनले भने, ‘परिवारबाट अपहेलित भएकाहरुको जनजीवन कष्टकर छ, त्यसैले त्यस्ता प्रति कार्यक्रम लक्षित हुनुपर्छ।’ ‘कतिपय जेष्ठनागरिक राती सुत्दा ओढ्ने कपडा नभएपछि घरभित्र आगो बालेर रात काट्न बाध्य छन्,’ मगरले भने, ‘पाखुरामा बल भएसम्म त्यहीँ मान्छे काम लाग्यो काम गर्न नसकेपछि वेवास्तामा छन्, यहीँरुपले जाडो बढ्ने हो भने कठ्याग्रिएर जीवन जान सक्छ।’
गाउँपालिकाद्धारा १ सय ४० जनालाई सिरक वितरण
जेष्ठनागरिकको यहीँ समस्या देखेर रौतामाई गाउँपालिकाले सिरक वितरण अभियान सुरु गरेको छ। लैंगिक समानता तथा महिला शसक्तिकरण क्षेत्र अन्र्तगत ज्येष्ठ नागरिक लक्षित बजेटबाट गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो।
गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले जाडोमा जेष्ठनागरिकको अवस्था हेरेर सहयोग गरेको बताईन्। उनले भनिन्, ‘गरिब, दलित, विपन्न, असाहय, अपांङ्ग, ज्येष्ठ नागरिकलाई प्राथामिकतामा राखेर सिरक वितरण गरेका हौ।’ बाहिर निस्कदा एकसरो न्यानो कपडा भएपनि घरभित्र ओढ्ने र ओछ्याउने नहुँदा जेष्ठनागरिक कठ्याङ्ग्रिन थालेको र स्वास्थयमासमेत असर पुग्ने गरेकाले कार्यक्रम अघि सारिएको उनले बताईन्।
गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाकी प्रमुख बबिता परियारले सबै वडाका गरी १ सय ४० जनालाई सिरक वितरण गर्ने गरी सुरु गरिएको बताईन्। उनले भनिन्, ‘विपन्न जेष्ठ नागरिक घरबाट वाहिर निस्कन सकेका छैनन् त्यसैले सकेसम्म घर–घरमै पुर्याई दिने लक्ष्यकासाथ अभियान सुरु गरेका छौ।’
जाडोको समयमा ज्येष्ठ नागरिक बढी प्रभावित हुने र कतिपय ज्येष्ठ नागरिकहरु संरक्षण विहिन अवस्थामा रहेकाले सहयोग गरिएको उनको भनाई छ। पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रमा चिसो बढेसँगै जेष्ठनागरिकको दैनिकी कष्टकर बन्दै गएको छ। ग्रामिण भेगमा चिसो बताससँगै वाक्लो हुस्सु र हिउँ पर्न थालेपछि जाडोले जेष्ठनागरिकहरु घर बाहिर निस्कन सकेका छैनन्।
चिसोकैकारण रातभर आगोबालेर अगेनाको डिलमा बृद्धबृद्धा सुत्न बाध्य भएको उनी बताउँछन्। २०६८ जनगणना अनुसार रौतामाई गाउँपालिकामा १ हजार ९३२ जना अर्थात रौतामाईको कुल जनसंख्याको ७.६९ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन्। ज्येष्ठ नागरिक सम्बन्धि ऐन २०६३ ले ६० वर्ष उमेर पूरा गरेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिककोरुपमा सम्बोधन गरेको छ।