उदयपुरमा एक सातामा २ सय १४ जनामा कोरोना संक्रमण
उदयपुर : उदयपुरमा पछिल्लो एक साता कोरोना भाइरसको संक्रमणदरमा उच्च आएको छ। जिल्ला स्वास्थ्य कार्यालयले तयार पारेको तथ्यांक अनुसार २ सय १४ जनामा संक्रमण देखापरेको हो।
जिल्ला भित्रका ८ वटा स्थानीय तहका स्वास्थ्य संस्थाबाट ३ सय ३८ जनामा गरिएको एन्टिजेन टेष्टमा २ सय १४ जनामा देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरन्जिवी निरौलाले बताए। संक्रमित मध्ये ८० जना महिला र बाँकी सबै पुरुष छन्।
विरामी भएर आएकाहरुको कोरोना परीक्षण गर्दा जिल्ला अस्पतालमा २६ महिला र ६४ पुरुष गरी ९० जनामा संक्रमण देखिएको छ। त्यसैगरी त्रियुगा नगरपालिकामा २८ महिला २४ पुरुष गरी ५२ जना, कटारी नगरपालिकामा १२ महिला २० पुरुषगरी ३२ जना, उदयपुरगढी गाउँपालिकामा ५ महिला ११ पुरुष गरी १६ जना, बेलका नगरपालिकामा ९ महिला १४ पुरुषगरी २३ जनामा संक्रमण देखिएको निरौलाले जानकारी दिए।
सबै सकृय संक्रमित हुन्। उनीहरु मध्ये १ महिला र ६ पुरुष गरी ७ जना कोभिड अस्पताल बेल्टारमा भर्ना भएका छन भने बाँकी होमआईसोलेसनमा रहेको उनले बताए। यसबीचमा कोरोनाबाट उदयपुरमा एक जनाको ज्यान गईसकेको छ।