पर्यटनमा व्यापारीको लगानी
उदयपुर : प्रदेश १ कै उत्कृष्ट पर्यटकीय क्षेत्र उदयपुरको रौतापोखरीमा व्यापारीले लगानी बढाउन थालेका छन्। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रौतापोखरी जाने सडक स्तरोन्नतिसँगै व्यापारीले लगानी बढााएका हुन्।
सडक स्तरोन्नतिले दैनिकजसो आन्तरिक र बाह्य पर्यटकको आवतजावत हुन थालेपछि व्यापारीले ठूला लगानीमा आकर्षक र सुविधासम्पन्न होटल बनाउन सुरु गरेका हुन्। रौतामाई गाउँपालिका वडा नं ६ मा रहेको रौतापोखरी हिन्दू धर्मको धार्मिक आस्थाको केन्द्रको रूपमा परिचित छ। पर्यटकीय गन्तव्य केन्द्र बनेको रौतापोखरीमा भर्खरै दुई व्यापारीले २ करोड २५ लाखको लगानीमा ‘रौता दरबार माउन्टेन भ्यु रिसोर्ट’ सञ्चालनमा ल्याइएका छन्। यसका साथै अन्य दुई दर्जन व्यापारीले जग्गा खरिद गरी होटल तथा रिसोर्ट खोल्ने तयारी गरेको वडाध्यक्ष तिलकुमार रानाले बताए।
राजनीति र समाजसेवा गर्दै आएका गाईघाटका सरोज बस्नेत र रामपुरका शिव अधिकारीको लगानीमा रिसोर्ट निर्माण गरिएको हो। बस्नेत हाल नेपाली कांग्रेस त्रियुगा नगर समितिको सभापति छन् भने सहकारीलगायत विभिन्न संघसंस्थामा समेत आबद्ध भएर समाजसेवामा क्रियाशील छन्।
अधिकारी माधव नेपाल नेतृत्वको नेकपा समाजवादीका जिल्लास्तरीय नेता हुन्। दुवै जनाको संयुक्त लगानीमा रिसोर्ट सुरु गरिएको अधिकारीले बताए। रौतापोखरी कच्ची सडकले छोएसँगै विगत दुई दशकयता बजारीकरण हुँदै आएको छ। समुद्री सतहदेखि ५ हजार ९ सय मिटरको उचाइमा रहेको यो पोखरी सदरमुकाम गाईघाटबाट ४६ किलोमिटर दूरी रहेको छ। त्यसमध्ये ३८ किलोमिटर कालोपत्रे भइसकेको र बाँकी सडक पनि स्तरोन्नति भइसकेकाले पर्यटकको रोजाइमा रौतापोखरी परेको हो। बास बस्ने हिसाबले पुगेका पर्यटकले राम्रो बासस्थान र खानपिन गर्न नपाएपछि व्यापारीले लगानी बढाएका हुन्।
पर्यटकको रुचिलाई अझै व्यवस्थित र सुविधासम्पन्न होटलको अभाव टार्न रिसोर्ट सुरु गरिएको उनको भनाइ छ। यो रिसोर्ट रौतापोखरी क्षेत्रका अहिलेसम्मकै ठूलो लगानीको होटल हो। सुविधासम्पन्न होटलको खाँचो रिसोर्टले टार्ने अपेक्षा राखेको सञ्चालक सरोज बस्नेतले बताए।