लेखानीमा २४ करोडको खानेपानी आयोजना
उदयपुर : जनसहभागिता वापतको २५ लाख रुपैयाँ बुझाउन नसक्दा अवरुद्ध बनेको सुनकोसी खानेपानी लिफटिङ्ग वृहत खानेपानी आयोजना सूचारु हुने भएको छ।
स्थानीयको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कटारी नगर कार्यपालिकाको बैठकले लागत सहभागितावापतको रकम उपलब्ध गराइदिने निर्णय गरेसँगै नगर क्षेत्रमा वर्षौंपछि शुद्धखानेपानीको सुनिश्चितता भएको हो। निर्णय लगत्तै शुक्रबार नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले थप प्रकृया अघि बढाउने गरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर खुलाल मगरलाई २५ लाखको चेक हस्तान्तरण गरे।
नगरपालिकाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाको वडानं. ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा पाइपमार्फत घर घरमा पानी पुर्याइने लक्ष्य राखेको छ।
१ हजार ५०० घरधुरीलाई लक्षित गरी सुरु गर्न लागिएको आयोजनालाई व्यवस्थित गर्न दुई ठाउँमा रिर्जव ट्ंयाङ्की राखिने छ। पहिलो वडा नं १४ घुर्मिको सुनकोसी नदिबाट पानी तानेर लेखानीको सबैभन्दा अग्लो रमाइलो डाँडामा रिजर्भ ट्ंयाङ्कीमा राखिने छ भने दोस्रो वडा नं १० सोरुङको कन्यादहबाट गढीथुम्कीमा रिर्जभ ट्ंयाङ्की राखी पानी वितरण गरिने समितिका अध्यक्ष मगरले बताए।
२४ करोड बढीको लागतमा निर्माण कार्य सुरु गर्न लागिएको आयोजनामा उपभोक्ताले जनसहभागितावापत २५ लाख रुपैयाँ जम्मा गर्नु पर्ने सम्झौतामा उल्लेख रहेको अध्यक्ष मगरले बताए। तर लागत सहभागिता बुझाउन नसक्दा लामो समयदेखि ठेक्का प्रकृया अवरुद्ध हुँदै आएको उनले बताए।
उनले भने, ‘आमउपभोक्ता भेला भइ सहभागिता रकमको विषयमा छलफल भयो, उठाउन सम्भवन नभएपछि स्रोतका लागि नगरपालिकासँग हारगुहार माग्यौं', उनले थपे, ‘आर्थिक अवस्था कमजोर भएका गरिव जनताको काकाकुल जीवन हटाइदिन नगर प्रमुखसँग अनुरोध गर्दा उहाँ सकारात्मक हुनभयो र कार्यपालिकाबाट निर्णय गराइदिने आश्वसन दिनुभयो, जुन अहिले पूरा भएको छ।'
‘रकम बुझाउन नसकेर योजना फिर्ता जाने हो कि भन्ने हामीमा ठूलो चिन्ता थियो', उनले भने, ‘वास्तवमै स्थानीय सरकार जनतासँग छ भन्ने हामीलाई यो पटक अनुभुति भएको छ, अब थप पकृया अघि बढाउँछौं।' भौगोलिक कठिनाइका कारण नगरपालिका भएर पनि धेरै समस्या व्यहोरी रहेका यस क्षेत्रका स्थानीयका लागि आयोजनाले ठूलो राहात पुग्ने विश्वास लिइएको छ। पानी अभावकै कारण स्थानीयबासी तीन घण्टासम्म पैदल यात्रा गरी खोला, खोल्सी, सुनकोसीसम्म पुगेर तिर्खा मेटने गरेका छन्।
नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पानीको चरम अभाव व्यहोरी रहेका जनतालाई लक्षित गरी आयोजना सञ्चालन गर्न कार्यपालिका बैठकबाट २५ लाख रुपैयाँको सुनिश्चितता गरिएको बताए। उनले भने, ‘उपभोक्ता आयोजना सञ्चालनमा जनसहभागितावापतको रकम जम्मा गर्न नसक्दा फिर्ता जाने भयो भन्दै आउनुभयो, अधिकांश गरिव, दुःखी जनता बस्ने भुगोल भएकाले नगरपालिकाबाटै सहयोग गरेका हौ।'
प्रमुख श्रेष्ठले माथिल्लो भेगका जनताको खानेपानीको समस्या समाधानको लागि अन्य कुनै विकल्प नभएपछि योजना छनौटदेखि वजेट विनियोजनसम्म आफू लागि परेको बताए। नगरपालिकाले उपलब्ध गराएको चेक हस्तान्तरण गर्दै श्रेष्ठले भने, ‘यो जिल्लाकै गौरवको आयोजना हो, समयमा सकिनु पर्छ र सञ्चालनमा आउनु पर्छ तब मात्र नगरपालिको लगानी गरेको बजेटको सही सदुपयोग भएको मुल्यांकन हुनेछ।'
उक्त आयोजना जिल्लाकै खानेपानीको क्षेत्रमा सबैभन्दा ठूलो आयोजना हो। आयोजनाबाट कटारी नगरपालिकाका ग्रामीण बस्तीमा खानेपानीको चरम अभाव टर्ने वडा नं १४ का वडा अध्यक्ष तेजवहादुर आले मगरले बताए।