सामाजिक कार्यमा विप्लवको अग्रसरता
उदयपुर : कहिले व्यक्तिको घर त कहिले जेष्ठ कम्युनिष्टलाई भत्ता र सम्मान गरेर लोकप्रिय बन्दै गएको नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरले पछिल्लो समय अर्को एउटा उदाहरणीय काम गरेको छ।
सामाजिक कार्यमा अग्रसर रहने पार्टीको नीति र सिद्धान्तलाई पछ्याउँदै नेकपा उदयपुरले कटारी नगरपालिका क्षेत्रको एक खोलामा ह्युमपाईप बिछयाउँदै सर्वसाधरणको आवागमनलाई सहज बनाएको छ। पार्टी संगठन कमिटीको अगुवाईमा कटारी नगरपालिका ६ र ७ मा पर्ने सोमबारेस्थित वैजनाथ खोलामा ह्युमपाईप राखेर कल्भर्ट निर्माण गरेको जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बताए।
हिउँदको समयमा पनि खोला वारपार गर्न असहज भएपछि जनताको सहजताकालागि कल्र्भट निर्माण गरिएको उनले बताए। वर्षभरी नै पानी बगिरहने उक्त खोलामा स्थानीयलाई वारपार गर्न पुलको अभावमा समस्या हुँदै आएको स्थानीय कमलबहादुर कार्कीले बताए।
उनले भने, ‘चिसोको समयमा जुत्ता लगाएर हिड्न मन लाग्छ तर खोलामा पानी टेक्नुपर्ने भएपछि जाडोको प्रवाह नै नगरी चप्पल लगाएर हिड्छौ।’ थपे ‘पैदलयात्री मात्र नभई साईकल र मोटरसाईकल चालकलाईसमेत सहज हुने भएको छ। मोटरसाईकलबाट खोला वारपारगर्दा ढुंगाकाकारण खुट्टा टेक्नुपर्ने र जुत्ता सबै भिज्ने डर थियो, ह्युमपाईप विछ्याउनाले सर्वसाधरण र दुई पाङ्ग्रे सवारीसाधानलाईसमेत सहज भयो।’
ह्युमपाईप विछ्याउनसाथ स्थानीयलाई विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकी, बजार आउजाउ गर्न सहज भएको छ। उक्त समस्याको अस्थायी नै समाधानका लागि भएपनि पार्टीले आफ्नै प्रयासमा स्रोत जुटाएर खोलामा दुईवटा ह्युमपाईप बिछ्याएर दायाँबायाँ बालुवा गिटी पुरेर कच्ची सडक निर्माण गरिदिएको सेक्रेटरी पौड्यालले बताए।
उनका अनुसार दुईवटा ह्युमपाईप खरिद गरेर खोलाकै ढुंगा, गिटी र बालुवा पुरेर दुईसय मिटर लम्बाई र ५ मिटर चौडाईको कच्ची सडकसहितको कल्भर्ट निर्माण गरिएको हो। त्यसकालागि १५ घण्टा जेसिबीको प्रयोग भएको छ भने पौड्यालसहित २१ जना नेता कार्यकर्ताले श्रमदान गरेका छन्।
पुलका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दा सुनवाई नभएपछि पार्टीले सो काम आफैले गर्नेगरी अग्रसरता लिएको उनले बताए। ह्युमपाईप लगाएसँगै दुई वडाबासीलाई सोमबारे र रिस्कु आउजाउ गर्न सहज भएको छ। पौड्ेलले भने, ‘स्थायी समाधान पक्की पुल नै हो, तर त्यो नबनेसम्म बर्षामा नभएपनि कम्तिमा हिउँदमा सर्वसाधरणको सहजताका लागि आफ्नै स्रोत र श्रमदानमा ह्युमपाईप बिछ्याएका हौ।’
जनताको कामभन्दा पनि व्यक्तिगत स्वार्थ, चन्दा, आतंकमा कृयाशिल रहेको आक्षेप खेप्दै आएको उक्त पार्टी खुल्ला राजनीतिमा आएसँगै सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ। केहीदिनअघि उदयपुरका सरकारी कार्यालयदेखि सडकसम्ममा कुचो लगाएर सरसफाई अभियान चलाएको पार्टीले पछिल्लो समय सामाजिक जिम्वेवारी र उत्तरदायित्व निर्वाह गर्ने गरी आफ्ना अभियानहरुलाई अघि बढाउँदै आएको छ।
नेकपाले उदयपुरमा शारीरिकरुपले अशक्त र आर्थिकरुपले कमजोर भएका घर नभएका पुराना कम्युनिष्ट नेताहरुको घर निर्माण गरिदिने र मासिक २ देखि ५ हजार रुपैयाँसम्म भत्ता उपलब्ध गराई सम्मान गर्दै आएको सेक्रेटरी पौड्यालले बताए। यसकासाथै वैज्ञानिक समाजवाद स्थापनाका लागि नेकपाले गाउँघर अभियान सञ्चालन गर्दै आएको उनले बताए।
सधै पार्टीलाई चन्दाको भरमा चलाउने भन्दापनि प्रयोगविहीन खेतीयोग्य जमिनलाई उपभोग गरी कृषिक्रान्तिमा होमिने पार्टीको लक्ष्य रहेको उनले बताए। सेक्रेटरी पौड्यालले भने, ‘अब सधै उद्योगी, व्यापारीसँग चन्दा मागेको भरमा पार्टी चल्दैन र माग्नु पनि हुन्न, त्यसैले हाम्रो पार्टीले सबै कार्यकर्तालाई कृषिमा केन्द्रित गरी आर्थिक उपार्जन गर्ने र पार्टी सँगठनलाई मजबुत बनाउने योजना अघि सारेको छ।’