बागमती प्रदेश युवा परिषद्को छुट्टै स्लोगन र लोगो
हेटौंडा : बागमती प्रदेशको प्रदेश युवा परिषद्ले आफ्नो लोगो र स्लोगन सार्वजनिक गरेको छ। परिषदले प्रतिस्पर्धाको आधारमा छनौट भएको लोगो र स्लोगन शुक्रबार सार्वजनिक गरेको हो।
परिषद्ले हेटौंडाका पत्रकार तथा साहित्यकार केशव समर्पणले लेखेको ‘सिर्जनशीलता र उद्यमशिलता प्रवर्धन ः बागमतीमा युवा सशक्तीकरण’ शीर्षकको स्लोगनलाई पारित गरेको छ। उक्त स्लोगनका लेखक समर्पणलाई परिषले नगद ३० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ।
त्यस्तै परिषद्ले हेटौंडाका निश्चल पराजुलीले निर्माण गरेको त्रिकोणको बीचमा बागमती प्रदेशको नक्सा रखेको लोगो पारित गरेको छ। लोगो निर्माण गर्ने पराजुलीले नगद पचास हजार रुपैयाँ पुरस्कार पाएका छन्।
परिषद्ले गठन गरेको निर्णायक समितिले गरेको निर्णय अनुसार स्लोगन र लोगो छनौट गरिएको परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईले बताए। प्रदेश युवा परिषद्को नियमावली २०७७ को दफा ४ को उपदफा २ मा छुट्टै छाप हुने ब्यवस्था भएकाले लागो र स्लोगन तय गरिएको उनले जानकारी दिए। बागमती प्रदेश सरकारले छ महिना अघि गठन गरेको परिषदले बागमती प्रदेशभित्र युवा सशक्तिकरण र उद्यमशीलता प्रवर्धनमा काम गर्दै आएको छ।