डेढ वर्षदेखि त्रिपालमुनि पहिरो-पीडित

डेढ वर्षदेखि त्रिपालमुनि पहिरो-पीडित

दैलेख : ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका दानबहादुर कठायतले २०७७ भदौमा आएको पहिरोमा छोरा गुमाए । छोरासहित एउटा घर र भएको जग्गा समेत पहिरोले लगेको पीडा हिउँदको कठ्यांग्रिदो चिसोले झन बल्झाइदिएको छ । दानबहादुरजस्तै स्थानीय मनबहादुर विकको पीडा पनि कम छैन। पहिरोले घर बगाएपछि डेढ वर्षदेखि विक त्रिपालमूनी जीवन गुजारा गरिरहेका छन् । 

राहतको पर्खाइमा रहेका मनबहादुर भन्छन्, ‘सरकारले राहत दिन्छ भन्ने सुनेका थियौँ, तर डेढ वर्षसम्म पनि आएको छैन्, राहत रकम आउँला र बस्नलाई झुपडी बनाउँला भन्ने आश अझै मरेको छैन् ।’ 

पहिरो गएको समयमा सोसेक नेपाल नामक गैरसरकारी संस्थाले केहि लत्ताकपडा, भाँडाकुडा र १५ हजार रुपैयाँ दिएको मनबहादुरले बताए । गाउँपालिकाले सुरक्षित स्थानमा बस्ती सार्ने आश्वासन मात्रै दिएको उनको गुनासो छ । 

अर्का पहिरो पीडित बलबहादुर नेपाली सरकारबाट केहि सहयोग नपाएपछि परिवारसहित कालापहाड हानिए । ऋण लिएर बनाएको घर पहिरोले बगाएपछि तिर्नका लागि कालापहाड जानु परेको उनले बताए । ‘पसिना बगाएर कमाएको केहि रकम ऋण तिरेँ, बचेको रकमले गाउँमै एउटा घडेरी जोडेको छु,' बलबहादुरले भने । 
सरकारबाट राहत पाउने आश अझैँ नमरेको उनको भनाइ छ । 

अबिरल वर्षातसँगै आएको पहिरोले गैरागाउँका ७ घर बगाएको थियो । पहिरोमा परी १२ वर्षीय जनक कठायत र ११ वर्षीया लोकश कठायतको ज्यान गएको थियो । पहिरो गाउँमा रहेको लघु जलविद्युत आयोजना समेत बगाएको थियो । उक्त आयोजना डेढ वर्षसम्म पनि सञ्चालनमा आएको छैन् । 

पहिरोमा परी घाइते भएकाहरु उपचारपछि सामान्य अवस्थामा गाउँ फर्किइसकेका छन् । तर डेढ वर्षअघि पहिरोमा परि घरवारबिहीन बनेका गैरागाउँका पहिरो पीडित अझै पनि त्रिपालमुनि बसेर राहत पाउने आशमा छन् । पहिरो पीडितमध्ये तीन घरपरिवार भारत विस्थापित भएका छन् । दुई घरपरिवार त्रिपालमूनी जीवन कटाइरहेका छन् भने दुई परिवार अझै पनि आफन्तको शरणमा छन् । 

गैरागाउँका पहिरो पीडितका समस्या बुझ्न तत्कालिन समयमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही समेत गैरागाउँमा पुगेका थिए । सभामुखसँग राखेको समस्यामाथि कुनै सुनुवाइ नभएको पहिरो पीडित कर्णबहादुर विकले बताए । प्रदेश सरकारले दिने भनेको एक लाख रुपैयाँ पनि आफूले नपाएको कर्णबहादुरले बताए । 

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएका घरपरिवारलाई आवास निर्माणको लागि राहतस्वरुप प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । 

तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारको २०७७ साउन १७ गते बसेको मन्त्रीपरिषद् बैठकले विपद्बाट क्षती भएका घरपरिवारलाई तीन महिना खान पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको थियो । 

गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंहले भने पहिरोले घर बगाएकाहरुलाई गाउँपालिकाले सुरक्षित बासस्थानका लागि उपयुक्त जग्गा खोजिरहेका दाबी गर्छिन् । उनले प्रदेश सरकारबाट आउने एक लाख रुपैयाँ नआएपछि सुरक्षित स्थानमा सार्न नसकिएको बताइन् ।

चालु आर्थिक वर्षमा विपद् योजना बनाएर एकिकृत बस्ती विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापा बताउँछन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.