प्रदेश सरकारको भोकमरी टार्ने रणनीति : साढे तीन सय सिँचाइ आयोजना निर्माण हुँदै

प्रदेश सरकारको भोकमरी टार्ने रणनीति : साढे तीन सय सिँचाइ आयोजना निर्माण हुँदै

सुर्खेत : सिँचाइको अभावमा कर्णालीमा अहिले पनि अधिकांश खेतीयोग्य जमिन बाँझै छ । आकाशे पानीको भरमा खेती गर्दा उत्पादन राम्रो हुँदैन । जसले कर्णालीका हिमाली जिल्लामा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । यही समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारले एकैसाथ साढे तीन सयवटा सिँचाइ आयोजना निर्माणको काम अगाडि बढाएको छ ।

कर्णालीमा हाल दुई लाख १६ हजार आठसय ८० हेक्टर जमिन खेतीयोग्य छ । तर हाल जम्मा ३० हजार ३३ हेक्टर क्षेत्रफलमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । सिँचाइ सुविधा नभएकै कारण हाल प्रदेशभर ८२ हजार चारसय ५९ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा बाँझै छ । यही समस्यालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले पछिल्लो तीन बर्षमा खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै उत्पादन वृद्धि गर्ने रणनीति अपनाएको छ । 

यही रणनीतिअनुसार चालु आर्थिक वर्षमा एउटै मन्त्रालयले ठूला लगानीका साढे तीन सय वटा सिँचाइ आयोजनाहरु निर्माण गर्ने तयारी गरेको हो । प्रदेश सरकारको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा ती आयोजनाहरु संचालन हुनेछन् । 

मन्त्रालयका अनुसार दैलेखमा सबैभन्दा बढी र जुम्लामा सबैभन्दा कम आयोजनाहरु निर्माण तथा सञ्चालन हुन लागेका छन् । दैलेखमा ५० र जुम्लामा २२ वटा सिँचाइ आयोजना सञ्चालन गर्न लागिएको छ । त्यस्तै सुर्खेतमा ४३, जाजरकोटमा ३७, कालिकोटमा ४२, हुम्लामा ३५, मुगुमा २८, डोल्पामा ३७, सल्यानमा २७ र रुकुमपश्चिममा २९ वटा सिँचाइ आयोजनाहरु निर्माण गर्न लागिएको हो । 

मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ताराकेशर वाग्लेका अनुसार सिँचाइ आयोजना मध्ये क्रमागत आयोजनामा निर्माणको काम सुरु भइसकेको छ । मर्मतसम्हार र नयाँ आयोजनाहरु भने निर्माणको तयारीमा छन् । उपलब्ध बजेट कार्यान्वयन र आयोजना सम्पन्न गर्नेगरी जिल्ला मातहतका खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयहरु पठाइ सकिएको छ । सबै सिँचाइ आयोजना निर्माण भएको खण्डमा उत्पादन बढ्ने सरकारको अपेक्षा छ । सुर्खेत मात्रै विभिन्न ४३ वटा ठूला सिँचाइ आयोजनाहरु निर्माण गर्न लागिएको छ । 

जसमध्ये भेरी नदीदेखि सेराघाट लिफ्ट सिँचाइ आयोजना, गोछेखोला सिरेनी लिफ्ट सिँचाइ आयोजना, सिम्ताको मुलखोलो सिँचाइ आयोजना, लेकवेशीको नरसिंङे सिँचाइ आयोजना, राक्से सिँचाइ आयोजना, चिङगाडखोला बेसिन सिँचाइ आयोजना र घाटगाउँ लिफ्ट सिँचाइ आयोजना सबैभन्दा ठूला सिँचाइ आयोजनाहरु हुन् । प्रदेश सरकारले चालु आर्थिक बर्षमा सेराघाटका लागि ७० लाख, राक्से र चिङ्गाड खोला बेसिन सिँचाइ आयोजनाका लागि ६०/६० लाख, नरसिंङे र घाटगाउँका लागि ५०÷५० लाख र गोछेखोला र मुलखोला लागि ४०/४० खाल बजेट छुट्याएको छ । नयाँ, मर्मतसम्हार र क्रमागत आयोजना अन्तरगत सबै स्थानीय तहमा सिँचाइ आयोजना निर्माण गर्न लागिएका हुन् । 

प्रदेश सरकार अनुसार हाल सुर्खेतमा १७ हजार सातसय ५६, रुकुमपश्चिममा दश हजार दुईसय ३४, सल्यानमा ६ हजार ६ सय १७, दैलेखमा आठ हजार ६ सय २४, जाजरकोटमा आठ हजार ६ सय ८६, डोल्पामा दुई हजार सातसय ४०, जुम्लामा १४ हजार ५१, कालिकोटमा नौ हजार दुईसय ३४, मुगुमा नौ सय १९ र हुम्लामा तीन हजार पाँच सय ९८ हेक्टर क्षेत्रफल खेतियोग्य जमिन बाँझै छ।

खेतियोग्य जमिन बाँझै हुनु र खेति गरिएको जमिनमा पनि न्यून उत्पादन हुँदा कर्णालीमा हाल ४० प्रतिशत नागरिकले खाद्यान्न अभाव भोग्दै आएको प्रदेश सरकारको तथ्यांक छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.