कमला नदिको बगरले फेरिदैँ ४० गरिबको जीवन
ढल्केवर(धनुषा) : धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ का ४० वर्षीय धीरेन्द्र कापरलाई केही वर्ष अघिसम्म हात मुख जोड्न धौँधौँ थियो। उनी दैनिक ज्याला मजदुरी गरेर जसोतसो ६ जनाको परिवार चलाइरहेका थिए।
कुनै दिन काम नपाए छाक टार्न पनि निकै कसरत गर्नुपर्ने अवस्थाबाट गुजरीरहेको थियो, कापर परिवार। परिवारको भरणपोषण गर्न कापरसँग ज्याला मजदुरीको विकल्प थिएन। राम्रो गाँस र बासको अभावमा परिवार पाल्न संघर्ष गर्नुपर्ने उनको बाध्यता थियो।
तर अहिले भने कापर परिवारको जीवनशैली फेरिएको छ। ढल्नै लागेको ओत लाग्ने घर उनले अहिले ठड्याइ रहेका छन्। छोराछोरीलाई निजी विद्यालयमा पढाउन पाउँदा खुशीको अनुभूति गर्छन् कापर। धनुषा र सिरहाबीचको कमला नदिको बगरमा गरिएको कृषि खेतीले उनीसहित ४० घरपरिवारको जीवनस्तर उकासेको छ।
जनकपुरधामस्थित सामुदायिक सुधार केन्द्र(सिआइसी)ले दुई वर्षदेखि कमला नदिस्थित ६ विग्हा नदि उकास जग्गामा कृषि एग्रो फोरेस्ट्री परियोजना अन्तर्गत कृषि खेती संचालन गरेको हो। सो जग्गामा स्थानीय गरिब तथा अतिविपन्न ४० जना घरपरिवारले खेती गरिरहेका छन्। सिआइसीको परियोजनामा युएनडिपीले आर्थिक लगानी गरिरहेको छ।
बगरमा गरिएको कृषि खेतीबाट एकलाख भन्दाबढी आम्दानी गरिसकेको कृषक कापर बताउँछन्। उनले दुई वर्षको अबधीमा तीनवटा खेतिबाट आम्दानी गरिसकेको सुनाए। ‘मुला, तोरी, खरबुजा र आलुबाट करिब डेढ लाखको हाराहारीमा आम्दानी भएको छ। अहिले चौथो खेतीको रुपमा खरबुजा लगाएको छु,’ खुशी हुँदै कापरले भने ‘अहिले खरबुजाको बीउ उम्रिरहेको देख्दा रमाइलो लागिरहेको छ।’
स्थानीय रामबाबु राउत दनुवार पनि बगरमा खेती गरेर रमाइरहेका छन्। झण्डै एघार वर्ष विदेशमा काम गरेर निराश भएर फर्किएका दनुवारले बगरको खेतीबाट अहिले राहत मिलेको छ। ‘विदेशमा कमाएको सबै पैसा बुवाको उपचारमा लगाए। त्यो पैसाले पनि बुवालाई बचाउन सकिन। पैसाको भारमाथि दुई छोरीको विवाहमा १५ लाख ऋण थपियो। ६ वर्षअघि साहुको ऋण तीर्न १५ कठ्ठा जग्गा बेचिदिए,’ दुखेसो सुनाउँदै दनुवारले भने।
विदेशबाट फर्किएर निराश बनेका दनुवारले बगर खेती गरेर भन्टाबाट मात्रै एकलाख रुपैयाँको हाराहारीमा आम्दानी गरेको छ। ‘भान्टाबाट एकलाख जतिको आम्दानी भयो। भान्टामा किराले सताएपछि आम्दानी घटेको हो। नभए यसपटक दुई लाखभन्दा बढि पैसा आउँथ्यो,’ दनुवारले थपे। अहिलेसम्म आलु, भान्टा, खरबुजा, मुला र तीलबाट आम्दानी गरिसकेको उनले सुनाए।
अहिले बगरमा सबै कृषक खरबुजाको बिउ गोड्नमा व्यस्त छन्। यसअघि अर्काको खेतमा खेतालाको काम गरेर जीवनयापन गरिरहेका अधिकांश गरिब तथा विपन्न कृषक परिवार अहिले बगरमा खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्। उनीहरुलाई कृषि खेतीमा सहजताका लागि जेटिएसहितका दुईजना कृषि प्राविधिक पनि खटाइएको छ। खेतीका लागि आवश्यक विउ, खाद्यमल, कृषि उपकरण तथा औजारहरु समेत निःशुल्करुपमा पाइरहेको कृषक शिवचन्द्र ठाकुले बताए।
नगरपालिकाबाट अनुमति लिएर ६ विग्हा नदि उकास जग्गामा कृषि परियोजना संचालन गरेको सामुदायिक सुधार केन्द्र जनकपुरका अध्यक्ष संजय कुमार साहले बताए। उक्त क्षेत्रफलको जग्गामा स्थानीय ४० जना गरिब तथा अतिविपन्न घरपरिवारलाई समानरुपले बाँडेर खेती गर्न दिएको उनले जानकारी दिए। उनका अनुसार ६ विग्हा जग्गामा दुईसय आँपको बोट पनि लगाइएको हो। बगरको थप जग्गाहरु कृषियोग्य बनाएर उक्त परियोजनालाई विस्तार गर्ने योजना रहेको अध्यक्ष साहले जनाए।
थौरै समयमा स्थानीय गरिब तथा अतिविपन्न परिवारमा बगरमा खेति गरेर कृषिमा आत्मनिर्भर भएको देख्दा खुशी अनुभूति भएको युएनडिपीका कार्यक्रम संयोजक पवन कुमार यादवले बताए। आर्थिक लगानी गरिरहेको युएनडिपीले उक्त परियोजनाका कृषकको लागि आवश्यक बिउ, मल तथा कृषि सामाग्रीहरुको आभाव हुन नदिने संयोजक यादवले उल्लेख गरे।