किसानलाई प्रविधि बाँडदै प्रधानमन्त्री कृषि परियोजना
उदयपुर : कृषिलाई व्यवसायिकरण र किसानलाई आत्मनिर्भर बनाउने उद्धेश्यकासाथ उदयपुरमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (जोन)ले किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार तथा यन्त्र उपलब्ध गराएको छ।
विगत ६ वर्षदेखि जोन, ब्लक र पकेट क्षेत्र कार्यक्रममार्फत किसानका स–साना कृयाकलापमा प्रत्यक्ष सघाउ पुर्याउँदै आएको परियोजना कार्यान्वयन इकाईले ३० लाख मुल्य बराबरको कृषिसँग सम्बन्धित उपकरणहरु किसानलाई वितवरण गरेको हो।
परियोजना कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहका अनुसार ८ वटै स्थानीय तहमा सञ्चालित ५५ वटा कृषि सहकारी संस्था, समूह र फर्ममा आवद्द भएका किसानलाई मेसिनरी औजार ५० प्रतिशत सरकारी अनुदानमा सहयोग गरिएको हो।
उनले भने, ‘कृषिलाई प्रविधिमैत्री बनाउने र अधिकतम यान्त्रिकरणको सहयोगबाट छिटो र भरपर्दो कार्य गर्न समूह र सरकारको बराबरी लगानीमा उपकरण उपलब्ध गराएका हौ।’ थपे, ‘कृषि क्षेत्रको विकास गर्न किसानलाई जुन प्रविधिको आवश्यक पर्छ त्यहीँ सहकारी, समूह र फर्मबाट खरिद गर्ने गरी छनौट गर्छौ र आधा रकम उपलब्ध गराउँछौ।’
परियोजना सञ्चालित क्षेत्रका सबै किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिकिकरण उपलब्ध गराउने र किसानलाई पूर्णव्यवासायिक बनाउने लक्ष्यकासाथ परियोजना तीन चरणमा सुरु गरिएको उनले बताए। १० हेक्टरसम्म जमिन उपलब्ध भएमा स्थानीय सरकारमार्फत पकेट कार्यक्रम, १ सय हेक्टर जमिन भएकालाई प्रदेश सरकारमार्फत व्लक र ५ हेक्टरमाथि जमिन उपलब्ध हुने क्षेत्रमा संघीय सरकारमार्पmत जोन कार्यक्रम सञ्चालन हुने उनले बताए।
सोही आधारमा छनौट गरी संघिय सरकारले यो पटक किसानलाई मिनिटेलर २५ वटा, कम्वाइन्ड मिल २९ वटा, ट्याक्टर १, पावरटेलर १, वीडर १, भर्याङ ३, फुडस्पेयर ६, तौलमेसिन ५, थ्रेसर २, मकै गोडने मेसिन १, चार्जिङ्ग स्प्रेयर ५ र क्रेट २ सय ६५ थान उपलब्ध गराइएको उनले बताए। जिल्लामा कटारी क्षेत्रले हेर्ने गरी सुन्तला जोन, गाईघाटबाट अदुवा÷बेसार र रामपुरबाट हेर्ने गरी धान, मकै, गहुँ लक्षित वहुवाली जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ।
किसानलाई उपकरण हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवंम जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिका संयोजक खड्गबहादुर परियारले कृषिको उत्पादकत्व बढाउने र किसानलाई सवलीकरण गर्न परियोजना सञ्चालनमा आएको बताए।
किसानको आर्थिक क्षेत्र बृद्धी गराउन सरकारले तल्लो तहका किसानलाई ठुलो लगानी गरेको बताउँदै उनले प्रविधिको उच्चतम प्रयोग गरी सुखी र समृद्धीको यात्रामा जोडिन आग्रह गरे। परियारले भने, ‘किसानलाई कम लागतमा बढि प्रतिफल दिलाउने परियोजनाको लक्ष्य भएको हुँदा बार्षिक उत्पादनमा बृद्धि र व्यवसायिकिकरणमा जोड दिनुपर्छ।’
उनले नेपालको प्रमुख आम्दानीको स्रोत कृषिलाई बनाउन सकिने भन्दै त्यसका लागि आधुनिक तरिकाले कृषि उद्यममा लाग्न यन्त्र उपकरण दिइएको बताए। कृषिबाटै करोडपति बन्न सकिने भन्दै उनले परम्परागत कृषि प्रणालीलाई अन्त्य गर्दै आधुनिक र यान्त्रिककरण गर्न सरकारले अनुदानमा मल, बिउ र यन्त्र उपकरण किसानलाई उपलब्ध गराउने नीति लिएको बताए।
जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरीले कृषिबाट मात्र मुलुक आत्मनिर्भर बन्न सक्ने भएकाले दत्तचित्त भएर कृषि पेसामा समर्पित हुन आग्रह गरे। उनले बढ्दो यान्त्रिकिकरणको उपयोगिताले किसानलाई समयको बचत, प्रविधिको विकास, संरक्षणमा टेवा पुगेको बताए।
१० वर्षमा कृषि क्षेत्रमा अव्वल बनाउने लक्ष्यकासाथ आर्थिक वर्ष २०७३/०७४ बाट सुरु भएको परियोजना अन्र्तगत जोन, पकेट र व्लक कार्यक्रम सञ्चालन हुँदै आएको एकाईका प्राविधिक तथा सूचना अधिकारी उत्तम पोखरेलले बताए।