१० वर्षमा पनि किन बनेन रुकुम पश्चिम जोड्ने भेरी पुल ?
जाजरकोट : निर्माण कम्पनीको चरम लापरबाहीले पूर्व-पश्चिम जोड्ने वैकल्पिक राजमार्गमा निर्माणाधिन मोटरेबल पुल १० वर्षदेखि अलपत्र परेको छ । मध्यपहाडि राजमार्गको जाजरकोट र रुकुम पश्चिमलाई जोड्ने भेरी नदीमाथि बन्नु पर्ने पुल निर्माण कार्य सुरु गरेको १० वर्ष वितेपनि अझै अलपत्र छ।
पुल निर्माण नहुँदा सिधा यातायात सेवा समेत संचालन हुन सकेको छैन । रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदी पुल निर्माण अलपत्र परेको छ । पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोट दुई जिल्लाको सडक सञ्जाल जोडिन सकेको छैन ।
२०६९ मा पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो। निर्माण कार्यको जिम्मा लिएको वाइपी कन्ट्रक्सन प्राली ललितपुरको लापरबाहीले अहिलेसम्म दुईवटा पिलरको आधा काम पनि भएको छैन । १३ करोड ४७ लाख लागतमा उक्त पुल निर्माणको ठेक्का पाएको वाइपीले ३ वर्षभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। पिलर ठड्याउने डिजाइन नमिलेको बहाना गराएर निर्माण कम्पनीले काम बीचमै अलपत्र छोडेको छ।
पुल निर्माणमा भएको ढिलाइले यस क्षेत्रकै विकास निर्माणमा बाधा पुगेको राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले बताए । हालसम्म काम नगर्ने ठेकेदारलाई आवश्यक कारबाही गरी तत्काल पुल निर्माण गर्नुपर्ने शर्माको भनाइ छ ।
वर्षौं वितिसक्ता पनि ठेकेदारको चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको भेरी नगरपालिका–१३ का वडा अध्यक्ष गोपालबहादुर बटालाले बताए। लामो समयदेखि पुल नबन्दा व्यापार व्यवसायमा समेत ठूलो असर परेको उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनारले बताए। छिटोछरीतो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई पटकपटक अनुरोध गरेता पनि व्यवसायीले अटेरी गर्दा समस्या भोग्नु परेको अध्यक्ष सुनारको बताए ।
सय मिटर लम्बाइ रहेको उक्त पुल नबन्दा स्थानीयहरु सकसपूर्ण लामो यात्रा गर्न बाध्य भएका छन् । त्यस्तै पुल निर्माणको काम अलपत्र पर्दा चौरजहारीमा नयाँ सहर निर्माण आयोजनाको काम समेत प्रभावित बनेको छ । 'सरकारले ठेक्का तोड्ने भन्दा पटक–पटक म्याद थप्दा समेत ठेकेदारले पुल निर्माणको काम नगरेको देखिन्छ स्थानीय बासुदेव शर्माले भने,' वषौंसम्म पुल अलपत्र हुँदा पनि कसैलाई चासो छैन ।'
मध्यपहाडि लोकमार्ग आयोजनाले जाजरकोट र रुकुम खण्डमा कालो पत्रेको काम अन्तिम चरणमा पुगेको छ । तर, पुल नबन्दासम्म रुकुम–जाजरकोट सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन । यसबाट दुवै जिल्लाको विकास निर्माणमा ठूलो बाधा पुगेको बताइएको छ ।
पुल बने पूर्व इलामको चियाभन्ज्याङ्ग हुँदै पश्चिम दार्चुला झुलाघाटसम्मको मध्यपहाडि लोकमार्ग आयोजनाको दूरी छोटिने छ। यो पुल निर्माण भए पूर्व–पश्चिम जाजरकोट, दैलेख, बागलुङ्ग, काठमाडौंलगायत जिल्लाको यात्रा सहज हुनेछ ।
काठमाडौं र पोखरादेखि पश्चिम रुकुमसम्म सिधा यातायात सञ्चालनमा आइसकेको भएपनि पुल नबन्दा जाजरकोटदेखि पश्चिम तर्फको यातायात सेवा प्रभावित भएको छ । यो पुल बनेपछि जाजरकोट–काठमाडौं करिब ६ घण्टा यात्रा छोटो हुने भएको छ ।