भ्लग विजेतालाई ५० हजार डलर पुरस्कार
काठमाडौं : ५० हजार अमेरिकी डलर पुरस्कार राशिको ‘वल्र्ड भ्लग च्यालेन्ज’ घोषणा गरिएको छ। पाँच महिनापछि भ्लग च्यालेन्जका विजेता घोषणा गरिने छ। २० अक्टोबर–५ नोभेम्बर २०२१ सम्म ६ देशका ११ भ्लगरलाई सगरमाथा आधार शिविर लगिएको थियो। उनीहरूले त्यहाँ हिमालय ग्लेसियरको जलवायु परिवर्तनको असरबारे भिडियो बनाएका थिए।
च्यालेन्जको मुख्य उद्देश्य पग्लिएका हिमनदीका कथाहरू सुनाउनु रहेको छ। कोलम्बिया, भारत, नेपाल, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकाका भ्लग प्रतियोगितामा सहभागी भएका थिए। तीन करोड ८० लाख बढी फलोअर्स रहेको सामाजिक सञ्जालमा भ्लगरहरूले बनाएका तीनदेखि १० मिनेट लामो भ्लग पोस्ट् गरिने छ।
वल्र्ड भ्लग च्यालेन्जको सामाजिक सञ्जालमा राखिएका भिडियोमध्ये भोटिङका आधारमा उत्कृष्ट पाँच भिडियो छानिने छन्। त्यसपछि तीन उत्कृष्ट भिडियो छनोट हुनेछन्। जसको छनोट इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सो, नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी, अमेरिकी दूतावासका प्रमुख पब्लिक अफिसर ग्यारेट ई. विल्करसन, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा र यूएनडीपीका प्रतिनिधि सम्मिलित निर्णायक प्यानलले गर्नेछ। प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार डलर पुरस्कार पाउने छन्। ग्लोबल वार्मिङको सबैभन्दा ठूलो असर हिमालय, एसियाका पानीका स्रोत, तथा बरफको ठूलो भण्डार हिन्दकुश हिमालयमा थुप्रिएको छ। यी स्रोत नै नदी प्रवाहका लागि जिम्मेवार बनेका छन्।
उक्त अभियानको नेतृत्व विश्व प्रख्यात पर्वतारोही मिङ्मा डेभिड शेर्पाले गरेका थिए। २५ पटक सगरमाथा चढेका कीर्तिमानी आरोही कामीरिता शेर्पा प्रशिक्षकको भूमिकामा थिए। वल्र्ड भ्लग च्यालेन्ज पार्टी नेपालले आयोजना गरेको हो। पार्टी नेपाल मासिक फेसन र लाइफस्टाइल पत्रिकाका लागि परिचित छ।
यी हुन् ११ भ्लगर्स
जुआनेस भेलेज : कोलम्बिया
आशिष भाटिया : भारत
सौमेश पाण्डे : भारत
विशाखा फुलसञ्ज
विश्वास राई : नेपाल
निशा खालिङ : नेपाल
विल दासोविच : फिलिपिन्स
नाथन वार्टलिङ : थाइल्यान्ड
वानलापा वार्टलिङ : थाइल्यान्ड
जारेड स्टेली : अमेरिका
क्रेग एडम्स : अमेरिका