एमसीसीमा यस्ता पनि बुँदा छन्, जसले राष्ट्रियता, स्वाभिमान सबै सिध्याउँछ : पूर्वमन्त्री बस्नेत
उदयपुर: पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पारित नहुने बताएका छन्। पार्टीको अभियानकाक्रममा गृह जिल्ला उदयपुर आइपुगेका नेता बस्नेतले बुधबार पत्रकारसँगको भेटघाटमा एमसीसी सम्झौतामा समेटिएका नेपाल र नेपालीको हितविपरित राखिएका शर्तहरु संशोधन गरेरमात्र पारित गर्न सकिने बताए।
उनले भने, ‘धेरै बुँदाहरु नेपाल र नेपालीको आर्थिक समृद्धिको हितमा भए पनि केही बुँदाहरु यस्ता छन्, जसले राष्ट्र, राष्ट्रियता, स्वाभिमान सबै सिध्याउने छन्, ती बुँदा संशोधन नभएसम्म राप्रपा पारित गर्ने पंक्षमा छैन।
‘यो नेपालको विद्युत्त क्षेत्रको विकास र आर्थिक समृद्धिसँग बढी केन्द्रीत छ,' नेता बस्नेतले भने, ‘अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भित्र्न लागेकाले राष्ट्रियतालाई आँच आउने बुँदालाई झिकेर बाँकी कार्यान्वयन गर्न सकिन्छ।'
एमसीसीका बिषयमा ठूला दल र नेताप्रति लक्षित गर्दै बस्नेतले भने, ‘एकाथरी चाकडी गर्ने र अर्कोथरी विरोध गर्दा राष्ट्रवादी भइन्छ भन्ने मानसिकताबाट ग्रसित छन्, जुन मुलुकको हितमा छैन।' पञ्चायतकालीन नेताकै रुपमा चिनिएका पूर्वमन्त्री बस्नेतले मुलुकको प्रमुख पद सम्हाल्ने व्यक्ति पार्टी निकटभन्दा पनि साझा व्यक्ति हुनुपर्ने धारणा व्यक्त गरे।
‘त्यस्तो साझा थलोमा जाने व्यक्ति पार्टी निकटको हुँदा कहिलेकहीँ पार्टीको धारणमा वहकिने हुन्छ,' उनले भने, ‘त्यो पदमा कार्यकारी नभई गहनाकोरुपमा राजालाई राख्नुपर्छ।' बोल्नेक्रममा अधिकांस समय संवैधानिक राजसंस्था, हिन्दू राष्ट्रका विषयमा खर्चिएका बस्नेतले प्रजातन्त्रमा शासन गर्ने नभई सबै धर्म, जातजाति, संस्कृतिको संरक्षण गर्ने राजसंस्था आवश्यक रहेको बताए। उनले प्रजातन्त्रको रक्षा, संस्कृति र सबै धर्मको संरक्षण र ओझपूर्ण संस्था राजसंस्था मात्र भएको बताए।
पछिल्लो समय हिन्दूराष्ट्र प्रति सबै क्षेत्रबाट प्रहार भइरहेको प्रति इंगित गर्दै उनले भने, ‘हिन्दू राष्ट्र नै हो मुलुक एकीकरण र सबै धर्मको सम्मान गर्ने हो। त्यसैले राजसंस्था र हिन्दू राष्ट्रका लागि जनमत संग्रह गर्नुपर्छ।'
‘संविधानमा केही विषय संशोधन गर्न पाइँदैन भनिएको छ,' उनले भने, ‘तर हामीले संसोधन गर्न मिल्ने राजसंस्था र हिन्दू राष्ट्रको विषयमा दुई तिहाइ पुर्याउँछौंभन्दा दिन मानिएको छ, के यहीँ हो लोकतन्त्र र गणतन्त्र?'
उनले लोकतन्त्रका नाममा समाज छिन्नभिन्न, धर्म, संस्कृतिमा स्खलन र मुलुक आर्थिकरुपले टाट पल्टिएकोसमेत आरोप लगाए। सत्तासीन दलप्रति केन्द्रित गर्दै नेता बस्नेतले आफ्नै पार्टीका महामन्त्री, महासचिव, नेतालाई दास बनाउने प्रवृति हुर्किँदै गएकाले यस्ता पार्टी र नेतृत्वबाट नेपाली जनता मालिक हुने सपना देख्नु दिवा स्वप्नमात्र भएको टिप्पणी गरे।
प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिकाप्रति कटुआलोचनामा उत्रिएका नेता बस्नेतले 'ज्योतिसीले सात पटक प्रधानमन्त्री हुन्छस्' भनेको भरमा भएका प्रधानमन्त्री शेरबहादुर देउवाबाट मुलुक र जनता समृद्ध बन्न नसक्ने ठोकुवा गरे।
जिल्लाको विकासप्रति चासो राख्दै उनले राजदूत आउने, जाने, ल्याउने र उद्घाटन गर्ने विकास दीगो विकास नभई मगन्तेप्रथा भएको बताए। विभिन्न कालखण्डमा एक दर्जन मन्त्रालयको अनुभव बटुलिसकेका नेता बस्नेतले आजभन्दा ४० वर्षअघि गालीगलौज खाँदै आफूले गरेको गाइघाट बजारको प्लानिङ अहिले सत्य सावित भएको बताए।